ताम्सालीङ संयुक्त संघर्ष समिति, नेपाल
ताम्सालीङ स्वायत्त प्रदेशको घोषणा:
१२ बुँदे सम्झौतादेखि विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा र त्यसपछि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अन्तरिम संविधान २०६३ को भाग १७, धारा १३८ बमोजिम संविधानसभाद्धारा संघीय ढाँचामा राज्यको पुर्नसंरचना गरी जातीय, भाषिक एवं क्षेत्रीय स्वायत्तशासन/स्वशासनको माध्यमद्धारा नेपाली समाजमा रहेका जातीय, क्षेत्रीय, वर्गीय एवं लिंगीय समस्याको निदान गर्ने नेपाली जनताको भावना र चाहनालाई आत्मसात गर्दै,
मल्ल तथा गोर्खा राज्यको फौजी अतिक्रमण तथा राज्य विस्तारभन्दा पहिले तामाङ जातिको वर्तमान नेपालको मध्य पहाडी भूखण्डमा आफ्नै स्वायत्त गणराज्यहरु भएको, आजभन्दा ठीक २४० वर्ष अघि पृथ्वीनारायण शाह फौजी अतिक्रमणपछि ती गणराज्यहरुको बाँकी रहेको अस्तित्व र संरचना पनि सम्पूर्ण रुपमा नष्ट भएको र एकीकरणको नाममा सिंगो नेपाललाई एकल जातीय सामन्ति केन्द्रिकृत खस हिन्दुराज्य बनाउने खसकरणका कारण तामाङ जाति लगायत समस्त आदिवासी जनजातिहरुले आफ्नो पहिचान र अस्तित्वका लागि आज पर्यन्त संघर्ष र विद्रोह गर्दे आउनुपरेको ऐतिहासिक तथ्यलाई हृदयंगम गर्दै,
नेपालको सरदर ३१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोमा इतिहासमा भएको विभेदका कारण आज ६१ प्रतिशतले तामाङ जनता गरिवीको रेखामुनी रहन बाध्य हुनुपरेको, ६५ प्रतिशत तामाङ जनता अशिक्षाको मुखमा पुग्नु परेको यथातथ्यलाई ध्यान दिँदै तामाङ जातिको ऐतिहासिक भूमि ताम्सालिङमा तामाङ जनतालाई नै प्राधिकार बनाउने स्वायत्तशासन व्यवस्थाको निर्माण गरी र ताम्सालीङका जातजाति र आदिवासी जनजाति तथा विभिन्न धर्म सम्प्रदाय एवं भाषाभाषी सबैको साझा राज्य बनाएर मात्र नयाँ नेपाल बन्न सक्ने तथ्यलाई मनन गर्दै,
शान्तिवार्तालाई निष्कर्षमा पुर्याउन निरन्तर जनदवाव सिर्जना गर्ने, जाति, भाषा र क्षेत्रको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माणका लागि जनमतको निर्माण गर्ने, नयाँ संविधानमा जातीय स्वायत्तशासनमा आधारित "ताम्सालीङ स्वायत्त प्रदेश" स्थापनाका लागि शसक्त संघर्ष उठाउने तामाङ जनताको साझा र संयुक्त मोर्चाको निर्माण गर्न आवश्यक र अपरिहार्य भएकाले,
संविधानसभाद्धारा नयाव नेपालको नयाँ संविधान बनाउने तथा नेपाललाई राज्यको पुन:संरचनाद्धारा संघीय नेपाल बनाउने प्रक्रिया अघि बढीरहेको सन्दर्भमा तामाङ जनताको मुक्तिको महान आकांक्षा 'ताम्सालीङ' प्राप्तीका लागि समस्त तामाङ जनतालाई एकताबद्ध र गोलबन्द गर्दे अघि बढ्नुपर्ने समयको माग भएकाले गत दुई वर्ष अघि स्थापित तामाङ जनताको साझा मोर्चा "संयुक्त तामाङ गणतान्त्रिक मोर्चा, नेपाल" को घोषणापत्रलाई आधार र प्रस्थान विन्दु मान्दै,
२०६४ साल पौष १४ र १५ गते काठमाडौंमा सम्पन्न "बृहत ताम्सालीङ राष्ट्रिय राजनैतिक सम्मेलन" द्धारा पारित "काठमाडौं घोषणापत्र" लाई ताम्सालीङको साझा राजनैतिक खाका र आधारपत्र मान्दै,
विचार र मान्यताका हिसाबले हामी तामाङहरु जो जो, जहाँ जहाँ भएपनि तामाङ जनताको ताम्सालीङ निर्माणका लागि दलगत मान्यताभन्दा माथि उठेर एक हुनुपर्दछ र त्यसका लागि दलभित्र दलगत ढंगले मोर्चाबन्दीकासाथ र बाहिर संयुक्त प्रकारले सदन र सडकमा ताम्सालीङका लागि संघर्ष गरेर मात्र तामाङ जनताको ताम्सालीङ बन्नसक्दछ र त्यो तामाङ जनता आफैले लडेर मात्र प्राप्त हुन सक्दछ भन्ने यथातथ्यलाई आत्मसात् गर्दै,
जवसम्म तामाङ जनताले ताम्सालीङ प्राप्त गर्दैनन् तवसम्म तामाङ जनताको भाग्यरेखा तामाङ जनता आफैल कोर्न पाउँदैनन् भन्ने तथ्यलाई हृदयंगम गरी शान्तिपूर्ण बाटो संविधानसभाको माध्यमबाटै नेपाल राज्यको अविभाज्य, अखण्ड र सार्वभौमसत्ता सम्पन्न नेपालभित्र संघात्मक संरचनामा ताम्सालीङ (स्वायत्त राज्य) निर्माण गर्ने चाहनालाई मूर्तरुप दिने प्रयत्नस्वरुप शान्तिपूर्ण आन्दोलनलाई आफ्नो अभिष्ट ठान्दै,
ताम्सालीङ स्वायत्त प्रदेश तामाङ जाति र जनताको मात्र नभएर ताम्सालीङमा परापूर्वकालदेखि बस्दै, रहँदै आएका विभिन्न अल्पसंख्यक आदिवासीहरु, पछि आएर रहे बसेका विभिन्न जातजाति, अन्य आदिवासी जनजाति तथा विभिन्न भाषा, धर्म, सम्प्रदाय समेतको साझा र बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक राज्य हो भन्ने तथ्यलाई आत्मसात गर्दै आदिवासीहरुको जातीय बाहुल्यता र अनुपातका हिसाबले राज्यसंरचना तथा जन, जमिन र जंगलमाथि अग्राधिकारसहितको स्वायत्तता र अन्यको समानुपातिक प्रतिनिधित्वसहितको स्वशासनको अधिकार तथा गैर भौगोलिक समुदायको संरक्षणको अधिकारलाई सम्मान गर्दै र राज्य संरचनामा सबै जातजाति, आदिवासी जनजाति, लिंग, क्षेत्र र वर्गका जनताको समानुपातिक र समावेशी प्रतिनिधित्वको अधिकारलाई सुनिश्चित गर्दै,
ताम्सालिङ स्वायत्त प्रदेशभित्र जसरी विभिन्न आदिवासीहरुलाई स्वायत्तता र अन्य जनजाति, जातजाति लगायतलाई स्वशासनको अधिकार र गैर भौगोलिक समुदायलाई संरक्षणको अधिकार हुन्छ त्यसरी नै अन्य स्वायत्त/स्वशासित प्रदेशहरुमा पनि "स्वायत्तताभित्र स्वायत्तता" को नीति अन्तर्गत देशैभरी जनसंख्याको सघनता र त्यसले ढाकेको क्षेत्रगत भूमिका आधारमा ताम्सालीङ बन्दछ र बन्नुपर्दछ भन्ने, मान्यता र विश्वासलाई दह्रोसँग पक्रँदै र आफ्नो आदिभूमिमा फर्कने तामाङ जनताको जन्मसिद्ध अधिकारलाई पनि अविछिन्न अधिकारको रुपमा ग्रहण गर्दै,
राष्ट्रिय मुक्ति आन्दोलनको कुरा गर्दा नेपालको सन्दर्भमा खल उच्च जातीय अहंकारवादको विरुद्ध जसरी संघर्ष गर्न जरुरी छ त्यसरी नै स्थानीय जातिवादी अहंकारवादका विरुद्ध पनि संघर्ष गर्नुपर्ने तथ्यलाई मनन् गर्दै सबै उत्पीडित जाति, वर्ग र क्षेत्रका जनताको न्यायोचित आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउँदै,
मानवजातिको उच्चतम मानवअधिकारको बहाली, धर्मनिरपेक्षता, वालिग मताधिकार, साँस्कृतिक बहुलवाद र लोकतान्त्रिक पद्धती तथा विधिको शासनलाई अक्षुण राख्दै विभिन्न उत्पीडित जाति, भाषा र क्षेत्रका जनताको गणराज्यहरुसहितको समानता, स्वतन्त्रता र भातृत्वमा आधारित न्यायपूर्ण, समतामुलक र जनताको साझा र सम्बृद्ध लोकतन्त्रलाई आफ्नो साध्य ठान्दै,
अन्तत: तामाङ जाति आफैमा सार्वभौम आदिवासी जाति भएकाले ताम्सालीङको स्वघोषणा गर्न सक्ने अर्न्तराष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९, सन् १९६६ को आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको अर्न्तराष्ट्रिय अनुबन्ध तथा सन् १९६६ कै नागरिक स्वतन्त्रता प्रदान गर्ने घोषणापत्र, सन १९६२ को प्राकृतिक श्रोतमा स्थायी सार्वभौमिकत्व सम्बन्धी अनुबन्ध, सन् १९६३ को सबै प्रकारको जातीय भेदको निर्मुलनसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र तथा सन् २००७ मा संयुक्त राष्ट्रसंघकै महासभाद्धारा पारित आदिवासीसम्बन्धी विश्व घोषणापत्रले प्रदान गरेको आफ्नो ऐतिहासिक तथा बाहुल्य भूमिमाथिको स्वायत्तता र आत्मनिर्णयको अधिकारलाई सुरक्षित राख्दै तामाङ जनताको साझा आकांक्षा ताम्सालीङ प्राप्तीका लागि तामाङ समाजमा रहेका विभिन्न राजनैतिक मोर्चाहरु, लोकतन्त्र र गणतन्त्रलाई स्वीकार गर्ने सबैखाले सामाजिक, साँस्कृतिक एवं धार्मिक संघसंस्थाहरु र विगत समयदेखि लोकतन्त्रिक गणतन्त्रको दिशामा तामाङ समाजलाई दिशानिर्देश गर्दै आउनु भएका अग्रजहरु समेतलाई समेट्दै समस्त तामाङ जनताको महान् आकांक्षष "ताम्सालीङ" र "संघीय लोकतान्त्रिक गणतन्त्र" लाई संस्थागत गर्न लागिपर्ने द्येयले,
ताम्सालीङ (स्वायत्त राज्य) को निर्माण तथा संघीय नेपालको एक एकाईको रुपमा ताम्सालीङ स्वायत्त गणतन्त्रको स्थापना गर्न, ताम्सालीङ गणराज्यको अलग संविधानको मस्यौदा तयार गर्न तथा तामाङ जातिको समानुपातिक प्रतिनिधित्व र साझा मुद्दाहरुमा एकताबद्ध र सशक्त आन्दोलनको विकास गर्न सबै संघसंस्थाहरुको सहमति र समर्थनमा "संयुक्त तामाङ गणतान्त्तिक मोर्चा, नेपाल" लाई "ताम्सालीङ संयुक्त संघर्ष समिति, नेपाल" मा रुपान्तरण गर्दै संविधान सभाको निर्वाचनद्धारा बनेको संविधानसभाले ताम्सालीङसहितको नयाव संघीय संविधानको घोषणा नगरेसम्म संघर्षरत रहने साझा प्रतिबद्धता जाहेर गर्दै,
विश्वभरी नै चलिरहेका न्यायोचित राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई हाम्रो समर्थन र ऐक्यबद्धता रहने तथ्यलाई नभूलिकन हाम्रो न्यायपूर्ण राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई हाम्रो समर्थन र ऐक्यबद्धता रहने तथ्यलाई नभूलीकन हाम्रो न्यायपूर्ण राष्ट्रिय मुक्ति आन्दोलन तथा नेपाली राष्ट्रवादका विरुद्ध हुने सबैखाले विदेशी चलखेल र हस्तक्षेप विरुद्ध दृढताकासाथ उभिने प्रण गर्दै,
आजकै दिन हामी ताम्सालीङ स्वायत्त राज्य (प्रदेश) को निम्न बमोजिम सिमाङ्कनको घोषणा गर्दछौं, जस अनुसार "पूर्वको दुधकोशी र सो नदीसँग जोडिएको सिन्धुलीको पूर्वी सिमादेखि पश्चिम, पश्चिममा बुढीगण्डकी र नारायणी नदीदेखि पूर्व, दक्षिणमा चितवन जिल्लासित पूर्व-पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सिमासम्मको भू-भाग ताम्सालीङ हो ।" ताम्सालीङ प्रदेशको वीचमा नेवार जातिको बाहुल्य रहेको भूभागमा नेवार जातिको स्वायत्त प्रदेशको सम्मान गर्दै "ताम्सालीङ प्रदेशको भूभागसँग जोडिएकाकाठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको तामाङ बाहुल्य गा.वि.स. र ताम्सालीङ प्रदेशसँग अविछिन्न रुपमा जोडिएका यस वरिपरिका तामाङ बाहुल्य क्षेत्रहरु तथा दक्षिणमा राजमार्गसँग अविछिन्न रुपमा जोडिएका तामाङ बाहुल्य गा.वि.स. तथा क्षेत्रहरु पनि ताम्सालीङ स्वायत्त प्रदेशकै भू-भाग हुन् भन्ने कुरा यसै घोषणापत्र मार्फत् जारी गर्दछौं ।"
साथै, यस घोषणापत्र सँगै हामी निम्न अनुसार मागपत्र सार्वजनिक गर्न चाहन्छौं र अविलम्ब यसप्रति सरकारको सकारात्मक पहलका लागि पनि अनुरोध गर्दछौं ।
क) नयाँ संविधानमा "आत्मनिर्णयको अधिकारसहित ताम्सालीङ स्वायत्त प्रदेश" घोषणा गरी सुनिश्चित गरियोस् ।
ख) "धर्मनिरपेक्ष राज्य" को नीतिको उल्लंघन गर्दै अन्तरिम संविधानमा रहेको राष्ट्रिय जनावर "गाई" अविलम्ब खारेज गरियोस् ।
ग) नेपाली सेनामा रहेको "पिपा गोश्वारा" को व्यवस्था खारेज गरी उनीहरुलाई अविलम्ब ससम्मान नेपाली सेनामा रुपान्तरण गरियोस् ।
घ) अन्तरिम संविधानको व्यवस्था अनुसार ताम्सालीङ क्षेत्रमा तामाङ भाषालाई स्थानीय बाहुल्य मातृभाषा वा प्रादेशिक भाषाको रुपमा अविलम्ब कामकाजमा ल्याइयोस् ।
ङ) नेपालको नयाव संघीय संविधानमा "ताम्सालीङ स्वायत्त प्रदेश" मा लागु हुने गरी तामाङ भाषालाई राष्ट्रिय सूचीमा राख्दै प्रादेशिक भाषाको रुपमा मान्यता दिइयोस् ।
च) धर्मनिरपेक्ष राज्यको नीति अनुरुप साझा "राष्ट्रिय साँस्कृतिक नीति" अविलम्ब साझा राष्ट्रिय साँस्कृतिक नितिको घोषणा गरियोस् ।
छ) राज्यको विभिन्न अंग तथा संरछनाहरुमा तामाङ जातिको समानुपातिक प्रतिनिधित्वलाई गंभीरतापूर्वक ध्यान दिइयोस् । संविधान सभामा विभिन्न दलहरुबाट तामाङ जातिको प्रतिनिधित्व जातीय जनसंख्याको अनुपातमा नहुनु, सरकारको गठन प्रक्रियामा पनि लोक-गणतान्त्रिक सरकारमा तिनै पटक तामाङ समुदायबाट कोही पनि मन्त्री नपर्नु, विभिन्न आयोग, कुटनैतिक निकाय तथा सरकारी राजनैतिक नियुक्तिहरुमा समेत तामाङ जातिको प्रतिनिधित्व नहुनु तथा नगरिनुले तामाङ जातिप्रति आज पनि राज्यले उपेक्षा गरेको आभास आइरहेको तर्फ हामी यहाँलाई समयमै सचेत गराउन चाहन्छौं । इतिहासमा हामीमाथि २४० वर्षसम्म चर्को दमन र उत्पीडन भयो तर आज पनि त्यो विभेदको पिडा हामीले भोग्नुपर्ने स्थिति पैदा हुनु अश्वभाविक हुने कुरा फेरि पनि हामी दोहर्याउन चाहान्छौं ।
ज) सन् १९५० को सुगौली सन्धी लगायत सम्पूर्ण असमान सन्धिहरु खारेज गरियोस् ।
झ) विदेशी चलखेल र हस्तक्षेप अविलम्ब बन्द गरियोस् ।
ञ) ताम्सालीङ स्वायत्त प्रदेश अर्न्तगतका सबै मुख्य सहर तथा नगरहरुलाई जोड्ने गरी "ताम्सालीङ चक्रपत" को अविलम्ब निर्माण गरियोस् ।
ट) राजधानीका वरिपरि रहेर पनि तामाङ जनतामा ६१ प्रतिशतले गरिवी र ६५ प्रतिशतले अशिक्षा (नेपालको वर्तमान तथ्यांकअनुसार सबे भन्दा बढी गरिवी र अशिक्षा) रहेकाले ताम्सालीङ क्षेत्रमा अविलम्ब "मातृभाषामा ग्रामिण साक्षरता अभियान" र "एक घर एक रोजगार" को कार्यक्रम तथा स्व-रोजगारको कार्यक्रम अविलम्ब लागु गरियोस् ।
अन्तमा, उक्त माग र ताम्सालीङ स्वायत्त प्रदेशको सार्वजनिक घोषणा तथा सुनिश्चितताका लागि यही फागुन १३ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने कार्यक्रम रहेको पनि जानकारी गराउन चाहन्छौं । सोही दिन अन्य कार्यक्रमको घोषणा हुने कुरा पनि जानकारी गराउँदछौं ।
कुमार योन्जन तामाङ, - महासचिव
ताम्सालीङ संयुक्त संघर्ष समिति नेपाल, केन्द्रीय कार्यालय, काठमाडौं ।
संघर्ष समितिमा आवद्ध संघसंस्था तथा अध्यक्षमण्डल:
१) ताम्सालीङ नेपाल राष्ट्रिय दल
२) नेपाल तामाङ घेदुङ
३) तामाङ राष्ट्रिय मुक्ति मोर्चा
४) नेपाल लोकतान्त्रिक तामाङ संघ
५) तामाङ मुक्ति संगठन
६) तामाङ स्वशासित संघ
७) तामाङ ह्युल परिषद्
८) ताम्सालीङ मुक्ति मोर्चा
९) नेपाल आदिवासी जनजाति संघ
No comments:
Post a Comment