Wednesday, August 14, 2013

खसहरुलाई आत्मसर्मपण गराएर हिन्दु बनाएका हुन

मोहनविक्रम सिंह

खस जातिबारे नेपालमा गम्भीर प्रकारको विवाद उठिरहेको छ । प्रथम, खसहरुले लामो समयसम्म नेपालमा शासन गरे । उनीहरुले नेपालमा सामन्ती शोषण, उत्पीडन गर्दै आए र देशका कैयौं जाति, जनजातिहरुका भाषा, संस्कृति, धर्मलाई दवाए र आफ्नो भाषा, संस्कृति, धर्मको एकाधिकार कायम गर्दै आएका छन् । त्यसकारण उनीहरुप्रति देशका विभिन्न जनसमुदायहरुमा व्यापक असन्तोष र विरोधको भावना छ । द्वितीय, निर्वाचन आयोगले देशका सबै क्षेत्री वाहुन, आदिका साथै खसहरुलाई पनि ‘अन्य’ मा राखेको छ । त्यो व्यवस्थाका विरुद्ध खस क्षेत्रीहरुले आन्दोलन गरिरहेका छन् । उनीहरुले उनीहरुलाई आदिवासी र जनजातिको मान्यता दिन पनि माग गरिरहेका छन् । तृतीय, अहिले देशमा खस भन्नाले खस क्षत्रीहरुलाई लिने धारणा पनि पाइन्छ, जब कि खस भन्नाले ब्राह्मण, ठकुरी, दलितका विभिन्न थरहरु पनि आउँछन् ।
ने.क.पा. (मसाल) ले उक्त प्रश्नहरुमा आफ्नो स्थिति स्पष्ट गर्नु आवश्यक ठान्दै निम्नलिखित प्रस्ताव पारित गरेको छ । पार्टीले यसबारे खुला बहस चलाउने निर्णय गरेको छ । पार्टी सदस्यहरुलाई पनि यसबारे खुला प्रकारले यसका पक्षमा वा विपक्षमा आफ्नो मतहरु प्रकट गर्ने अधिकार हुनेछ । त्यस प्रकारको बहसपछि केन्द्रीय समितिको अर्को बैठकले यसबारे अन्तिम निर्णय लिनेछ ।
खस जाति विश्वको नै एउटा प्राचीन र प्रागऐतिहासिक जाति हो । इतिहास विद्हरुको मत अनुसार खसहरु मूल रुपमा मध्यएशियाका वासिन्दाहरु थिए । उनीहरुको मूल वासस्थान यूरोप र एशिया महादेशको सीमामा रहेको ककेसस पर्वत मालाको क्षेत्र वा आधुनिक टर्की, इरान र रुसको आसपासको भूभाग हो । प्राचीन कालमा उनीहरुको वेविलोन, मेसोपोटामिया आदि स्थानहरुमा उपस्थिति रहेको पाइन्छ । वेविलोन, मेसोपोटामिया भनेका वर्तमान इराक, इरानका आसपासका क्षेत्रहरु हुन् । आर्यहरुको एउटा शाखाले पश्चिमबाट सिन्धुघाटी हुँदै गंगा–जमुनाको मैदानमा प्रवेश ग¥यो । खसहरु उत्तरी पहाडको बाटो पूर्वतिर लागे । उनीहरु मध्यएसियाबाट हिन्दूकुश, काश्मीर, गढवाल, कुमाउँ हुँदै नेपालमा फैलिए । पूर्वमा उनीहरु सिक्किम, भूटान, आसाम, मेघालयसम्म फैलिएका थिए ।
आर्यहरुको जुन शाखाले गंगा–जमुनाको समतल क्षेत्रमा प्रवेश ग¥यो, उनीहरुले वेद र हिन्दू धर्म मान्दथे । उनीहरु इतिहासमा वैदिक आर्यका रुपमा चिनिन्छन् । उत्तरी पहाडको बाटो हुँदै पूर्वतिर लागेका आर्यहरुले वेद वा हिन्दू धर्म मान्दैनथे । उनीहरुलाई खस आर्य भन्न सकिन्छ । पछि खस आर्यहरुको वसोवास भएका उत्तरी पहाडहरुमा पनि वैदिक आर्यहरुको प्रभूत्व बढ्दै गयो र खसहरु माथि पनि उनीहरुले प्रभाव जमाउँदै गए । तर खसहरुले सजिलैसित वैदिक आर्यहरुको प्रभूत्वलाई स्वीकार गरेका थिएनन् । हिन्दू पुराणहरुमा वैदिक आर्य र खस आर्यहरुका बीचमा लगातार युद्धहरु भएका कैयौं विवरणहरु पाइन्छन् ।
हिन्दू धर्म शास्त्रहरुले वेद वा हिन्दू धर्मलाई नमान्ने अन्य सबै जातिहरुलाई शुद्र, म्लेच्छ बताउने गर्दथे । त्यस अनुसार मनुस्मृति र अन्य पौराणिक ग्रन्थहरुले हिन्दू धर्म नमान्ने खस, किरात, पौन्ड्रक, द्रविड, यवन, कम्वोज, शक, हुण, पल्हव, काची, चीन, दरद आदिलाई पनि म्लेच्छ वा शुद्रको संज्ञा दिए । वास्तवमा वैदिक आर्यहरुले आफ्नो प्रभूत्व कायम गर्न खस सहित अवैदिक आर्यहरुका विरुद्ध लामो र कडा संघर्ष गर्नु परेको थियो । रामायण, महाभारत सहित पुराणहरुमा त्यसबारे विस्तृत चर्चा गरिएको छ । वायु पुरायणमा कलियुगको अन्तमा कल्किद्वारा खस, शक, पवन, गन्धर्व, कात, पल्लव आदिलाई नष्ट गरिने भविष्यवाणी गरिएको छ । त्यसले हिन्दू र अन्य गैर–हिन्दू जातिहरुका बीचमा लामो समयसम्म अत्यन्त गहिरो र शुत्रतापूर्ण सम्बन्ध भएको कुरा बुझिन्छ, जसमा खस पनि पर्दछन् । अन्तमा खस आर्यहरुले कैयौं जातिहरुले जस्तै आत्मसमर्पण गर्दै र हिन्दू धर्म अपनाएर आफूलाई हिन्दुकरण गर्दै गए । त्यो क्रममा खसहरुले आफूलाई हीन ठान्न थाले र स्वयं आफ्नो जातीय पहिचानलाई पनि स्वयं आफ्नो जाति पहिचानलाई पनि बदलेर कैयौं हिन्दू थर र संस्कारहरु अपनाउँदै गए । त्यस प्रकारको पृष्ठभूमिमा खसहरुको अवैदिक वा हिन्दु धर्म विरोधी पहिचान समाप्त हुँदै गयो ।
हिन्दु ग्रन्थहरुमा प्राचीन कालदेखि नै खसहरुको उल्लेख गरिएको पाइन्छ । त्यसअनुसार मुनस्मृति, रामायण, महाभारत, व्रह्मपुराण, हरिवंश पुराण, मार्कण्डेय पुराण, भगवत पुराण, स्कन्द पुराण, भविष्य पुराण, कल्किपुराण, वृहत्संहिता, काश्यपसहिंता, मुद्रा राक्षस, भरतको नाट्य शास्त्र, वौद्ध ग्रन्थहरु, अशोका वदन दित्यावदान, ललित विस्तार, काश्मिरको राजतरंगिणी आदिमा खस जातिको उल्लेख भएको छ । त्यसबाट खस जाति प्राचीन कालदेखिको नै उत्तरी हिमालय, नेपाल र भारतको समेत एउटा प्रसिद्ध जाति भएको कुरामा कुनै शंका रहन्न । ती सबै कुराहरुमाथि विचार गर्दा इतिहासमा खसहरु स्पष्ट रुपले वैदिक आर्यहरु होइन, किरात, पौन्ड्रक, द्रविड, यवन, कम्वोज, शक, हुण, पल्हव, काची, चीन, दरद आदिको समुहमा उभिएको देखिन्छन् । पछि यहाँ उल्लेख गरिएका जातिहरु मध्ये कैयौं जातिहरुको अहिले कतै पृथक अस्तित्व देखिंदेन । उनीहरुको क्रमशः वैदिक आर्यहरुमा नै समावेश हुँदै गएको देखिन्छ । खसहरुको पनि हिन्दूकरण हुँदै गएपछि त्यसको प्रिथक पहिचान कम हुँदै गयो । तैपनि ऐतिहासिक तथ्यहरुका आधारमा खस जाति मूल रुपमा हिन्दू जाति नभएर गैर–हिन्दू जाति भएको कुरामा शंका रहन्न । स्वयं हिन्द शास्त्रहरुले पनि उनीहरुलाई गैर–हिन्दू वा शुद्र, म्लेच्छ जातिका रुपमा नै व्याख्या वा प्रस्तुत गर्दै आएका छन् ।
पश्चिम नेपालमा १२ औं शताब्दिदेखि खस राज्यको प्रारम्भ भएको देखिन्छ । तर उनीहरु नेपालमा प्रवेश गर्नेवित्तिकै अवस्य शासकहरु भएका थिएनन् । नेपालमा प्रवेश गरेपछि शासक बन्नका लागि उनीहरुलाई कैयौं शताब्दि लागेको हुन सक्दछ । उनीहरुले सर्वप्रथम कहिले नेपालमा प्रवेश गरे ? इतिहासकारहरुले त्यसबारे बेग्लाबेग्लै मतहरु प्रकट गर्दै आएका छन् । कतिपय इतिहासकारहरुले पाँचौं शताब्दिदेखि नेपालमा वसोवास गर्दै आएको बताउँछन् भने कतिपयले ई.पू. २००० वर्ष पहिले नै उनीहरुको नेपालमा आवागमन भएको बताउँछन् । त्यस सिलसिलामा यो मत पनि प्रकट गर्ने गरेको पाइन्छ ः प्रागऐतिहासिक कालमा नै दुईवटा मुख्य जातिहरुले नेपालमा प्रवेश गरेका थिए – किरात र खसहरुले । किरातहरुले उत्तर पूर्वमा र खसहरुले नेपालको पश्चिमबाट नेपालमा प्रवेश गरेका थिए । नेपालमा खसहरुले सर्वप्रथम कहिले प्रवेश गरेका थिए ? त्यो ऐतिहासिक अध्ययन र अनुसन्धनको विषय हो ।
खसमा पहिले वर्णव्यवस्था थिएन । हिन्दूहरुको प्रभावमा आएपछि उनीहरुले पनि वर्णव्यवस्थाको अनुकरण गर्न थाले । उनीहरुमा पनि ब्राह्मण, ठकुरी, क्षेत्री, दलितका रुपमा बाँडिन थाले । निश्चय नै कैयौं शताब्दीहरुको विकासक्रम वा हिन्दूहरुसितको हेलमेलको क्रममा नै उनीहरुले त्यस प्रकारको वर्णव्यवस्थालाई अपनाउँदै गएका थिए । गढवाल, कुमाउँ वा कर्णाली प्रदेशका विभिन्न गाउँहरुका नामहरु अनुसार उनीहरुको थरहरुको नामाकरण हुँदै गयो । हिन्दू धर्मको असरमा परेर खस जातिभन्दा हीन ठानिने भएकाले सत्तामा पुगेपछि वा केही सम्पन्न भएपछि कैयौं मानिसहरुले हिन्दू वर्णाश्रम अनुसार आफ्नो उच्च जाति देखाउन थाले । कतिपय राजाहरुले चितौडका राजपुतहरुसित जोडेर आफ्ना वंशावली तयार पार्न थाले ।
आज कैयौं संगठनहरुले खस जातिलाई आदिवासी र जनजातिको मान्यता दिनुपर्दछ भन्ने कुरा पनि उठिरहेको छ । नेपालमा उनीहरु लामो समयसम्म सत्तारुढ भएको तथा उनीहरुको विकासको अवस्था माथि विचार गर्दा उनीहरुलाई जनजाति भन्न मिल्दैन । कुनै जाति जनजाति हो वा होइन ? त्यसको निर्धारण गर्न एउटा निश्चित प्रकारको मापदण्ड अपनाउनु पर्दछ । त्यस अनुसार नै देशको कुनै जाति जनजाति भएको वा नभएको छुट्टाउनु पर्दछ । जहाँसम्म खसहरु आदिवासी हुन् कि होइनन् भन्ने प्रश्न छ, त्यो इतिहासको अध्ययन गरेर टुंगाउने प्रश्न हो । इतिहासको सरसरी अध्ययन गर्दा खस जाति विश्वका प्राचीन जातिहरु मध्येमा एउटा भएको कुरामा कुनै शंका रहन्न । उत्तरी हिमालय र पहाडहरुमा पनि उनीहरुले प्राचीन कालदेखि नै वसोवास गर्दै आएको कुरा देखिन्छ, जसमा नेपालका पहाडि भागहरुपनि सामेल छन् । नेपालका आदिवासीहरु कुन्–कुन् हुन् र तिनीहरुमा खस जाति पर्दछ वा पर्दैन ? त्यो कुरा पनि इतिहासको अध्ययन गरेर टुंगाउने कुरा हो र त्यसरी नै त्यसबारे निर्णय गरिनु पर्दछ ।
निर्वाचन आयोगले खस जातिलाई ‘अन्य’ जाति अन्तर्गत राखेको छ । त्यस प्रकारको नीति कुनै तर्क वा न्यायपूर्ण आधारमा निश्चित गरेको देखिन्न । त्यसकारण सम्बन्धित सबै कुराहरुमाथि विचार गर्दै त्यो नीतिबारे पुर्नविचार गर्नुपर्ने आवश्यकता देखिन्छ । समावेशीकरण बारे विचार गर्दा पनि खस जातिको ऐतिहासिक पृष्ठभूमि, देशको ठूलो भूभागमा उनीहरुको वसोवास वा जनसंख्यामाथि विचार गरेर उनीहरुलाई पनि अन्य जाति सरह आवश्यक प्रतिनिधित्व दिनुपर्ने आवश्यकता देखिन्छ र त्यसबारे उनीहरुप्रति गरिने भेदभावलाई सही भन्न सकिन्न ।
देशमा भएका विभिन्न जात, जाति वा जनजातिहरुलाई मानव सूचकांकका आधारमा मूल्यांकन गरेर पिछडिएका जात, जाति वा जनजातिहरुलाई विशेष सुविधा र आरक्षण दिने नीति अपनाउनु पर्दछ । तर खस जाति त्यस प्रकारको पिछडिएको श्रेणीमा पर्दैन र त्यसलाई विशेष सुविधा वा आरक्षण दिने नीति अपनाउनु सही हुनेछैन । तर त्यो कारणले खस जाति अन्तर्गतका दलित जातलाई विशेष सुविधा र आरक्षण दिन हुन्न भन्ने होइन । त्यस प्रकारको मानव सूचकांक माथि विचार नगरिकन खालि जातीय आधारमा कुनै जातिलाई विशेष सुविधा वा आरक्षण दिने नीति पनि सही हुँदैन । मानव सूचकांकका आधारमा पिछडिएका जात वा जातिको एउटा सूची तयार पारिनु पर्दछ र त्यस अनुसार उनीहरुलाई विशेष सुविधा वा आरक्षण दिने नीति अपनाइनु पर्दछ ।
(ने..पा. (मसालको पी.वी.ले छलफलका लागि पारित गरेको खस जाति सम्बन्धी प्रस्ताव
)

No comments:

Post a Comment