Wednesday, August 14, 2013

सुन्दर छ तर किन यो विध्न पीडक छ, हिन्दुधर्म !

टि बि पुन मगर

नेपालमा ८१ प्रतिशत हिन्दूहरु छन । त्यसैले नेपाल हिन्दूराष्ट्र हुनुपर्दछ । भन्ने हिन्दूवादीहरुसंग अब नयाँ नेपालमा वहसको खाँचो छ ।  के नेपाल सनातन हिन्दूराष्ट्र नै हो त ? नेपालको एकात्मकं राज्य व्यबस्था हिन्दूधर्म–हिन्दूराष्ट्र र हिन्दूराजतन्त्र तीन वटै तत्वहरु धर्म–राष्ट्र–राजा बिचको सम्बन्ध त्रिकोणात्मक रुपमा एक अर्कासँग अन्र्तसम्बन्धित–अन्योन्याश्रित भएर हिजोको पहिचान प्रकटिएको देखिन्छ । यहाँ यी तीन तत्व बिचको सम्बन्धलाई विश्लेषण गर्ने र आजको बदलिदो युगमा हिन्दूराष्ट्रको शान्र्दभिकतालाई औल्याउने प्रयास गरिएको छ । 

 हिन्दू धर्मको परिचय 
    प्राचीन भारत वर्षमा प्रचलित वैदिक ब्राह्मण धर्मलाई कालान्तरमा हिन्दूधर्मको नाम दिइयो । भारतीय उपमहादिप सिन्धु नदीको फाँट र त्यसको वरपर बस्ने बासिन्दालाई ‘सिन्धु’ भनिन्थ्यो । पछि गएर उक्त सिन्धु शव्द नै ‘हिन्दू’ हुन गयो । भारतीय वैदिक ब्राह्मण धर्म मान्ने जातिको बसोवास भएको स्थान ‘सिन्धु’ को अघिल्लो अक्षर ‘सि’ अपभ्रंश भएर ‘हि’ आई पछि ‘हिन्द‘ू भनिन थालियो । उक्त स्थानलाई हिन्दूस्थान र ती जातिका मानिसले मान्ने वैदिक ब्राह्मण धर्मलाई हिन्दू धर्म भनियो भन्ने भनाई रहेको पाइन्छ । त्यसैले हिन्दू धर्मलाई भारतीय वैदिक ब्राह्मण धर्म, सनातन धर्म आदि भनिन्छ । 

भारतवर्षको धर्म भएकाले भारतीयहरुले हिन्दूधर्मलाई भारतीय भूमिमा जन्मिएको आदिवासी धर्म भन्न रुचाउँदछन । वैदिक आर्य हिन्दूहरुको सर्वप्राचीन ग्रन्थ वेद(ऋग्वेद, यर्जुवेद, सामवेद र अर्थववेद) हो । वेद कसैद्धारा रचना नगरिएको कसैले नलेखेको अपौरुषेय ईश्वर प्रदत वाणी हो भन्ने कुरा हिन्दूहरुमा विश्वास गरिन्छ । यो विश्वकै सर्वप्राचीन धर्म हो भन्ने कुरामा हिन्दूहरु दाबी गर्दछन । वेदसंगै प्राचीन हिन्दू धर्मदर्शनहरुमा संहिता, ब्राह्मण ग्रन्थ, आरण्यक, उपनिषद आदि हुन । महाभारत, रामायण हिन्दूहरुको ऐतिहासिक धार्मिक ग्रन्थहरु हुन । सुरुमा हिन्दूहरुका मुख्य ३ वटा देवताहरु थिए । स्वर्गमा बस्ने सूर्य देवता, आकासमा बस्ने ईन्द्र देवता र पृथ्वीमा बस्ने अग्नी देवता । पछि ३ देवतालाई थप ३३ देवता बनाइयो । त्यसपछि तिनैलाई बढाएर ३३३९ पुरयाइयो । पछि अझ बढाएर ३३ करोड देवतासम्म पुरयाइयो । यसरी एकेश्वरवादबाट वहुईश्वरवाद हुँदै हिन्दूधर्म आज सर्वेश्वरवादमा पुग्न गएको पाईन्छ । अथार्त सर्वत्र जगतमा ईश्वर व्याप्त रहन्छन भन्ने धार्मिक मान्यता हिन्दू धर्मले अँगालेको देखिन्छ । हिन्दूधर्मले धर्मभीरुहरुलाई आध्यात्मिक मार्गमा लाग्न उत्प्रेरित गर्दछ भने अध्यात्मतिर लाग्न नचाहनेहरुलाई ईंश्वरीय दैविक शक्ति देखाएर अनेक देवीदेवताहरुको तस्वीर टाँस्न मूर्ति पूजा गर्न लगाउँदछ । सबै प्राणी वा मानिसलाई ईश्वरकै अंश ठान्दछ । वरपीपल, तुलसी, कुश जस्ता विरुवा घाँसपात मात्र होइन गाई जस्तो पशु जनावरलाई पनि देवता बनाई मानिसलाई आज्ञाकारी बनाएर पूजा गर्न लगाउने यो धर्मको शक्ति र रहस्य हो । नेपाललाई संवैधानिक रुपमा एकात्मक हिन्दूराष्ट्र र सम्पूर्ण नेपालीहरुलाई हिन्दू बनाउन सक्नु यस धर्मको चलाखी र आध्यात्मिक खुबी हो  ।


हिन्दू धर्मका विशेषताहरु
 हिन्दूधर्म क्रिश्चियन, मुस्लिम, बुद्धधर्म जस्तो एकेश्वर वा एकदेव नभएर वहुदेव अर्थात धेरै देवताहरु मान्ने धर्म हो । यस धर्ममा असंख्य ३३ कोटी(करोड) देवताहरु छन । ब्रह्मा, विष्णु, महेश्वर तीन ठूला देवताहरु हुन । लक्ष्मी, सरस्वती, काली या पार्वती ठूला देवी हुन । शिव, हरि, कृष्ण, नारायण, वाशुदेव, राम, महादेव, ईशान आदि अन्य देवताहरु हुन । ईश्वरको अनेक रुप छन । ऊनी  सर्वव्यापक सबैतिर व्याप्त छन भनेर जीवित प्राणी वा निर्जीव पदार्थहरु वन, जंगल, खोलानाला, खेतवारी, ढुङगामाटो सबैतिर कणकणमा ईश्वरको वास छ । सबै वस्तुहरु ईश्वरकै अंश हुन भन्दछ । ईश्वरको अस्तित्वलाई  सर्वव्यापक बनाएकाले यो धर्म सबै मानिसहरुमा पुगेको पाइन्छ । ईश्वर भगवान र देउता खोज्नेहरु कहि कतै जानु पर्दैन । सबै यही धर्मभित्र भेटिन्छन । 

प्रकृतिका अनेक देवीदेवता र ईश्वरलाई दैविक शक्तिका रुपमा आ–आफनो आस्था र विश्वास अनुसार जहाँसुकै मान्न पूजन गर्न सकिने भएकाले नेपालका आदिवासी जनजातिहरुले समेत यस धर्म–संस्कृतिलाई आफनै जस्तो ठानेर सहजै अपनाउन सकेका हुन । नेपालमा गजबको कुरा के देखिन्छ भने धर्म नमान्ने नास्तिकहरु समेत आफनो घरआँगनमा विभिन्न हिन्दूदेवी देवताहरुको मुर्ती, तस्वीर, प्रतीक चिन्ह राखेर पूजा गर्दछन । हिन्दू वैदिक विधिद्धारा कुनै पनि चिज निर्माण, शिल्यान्यास र उदघाटन गर्ने तथा आध्यात्मिक शान्तिका लागि मन्दिर धाउनेहरु पनि कम छैनन । हिन्दू धर्ममा ज्ञानमार्ग र भक्तिमार्गको संगम छ । कर्मकाण्डी संस्कार, यज्ञयज्ञादि धार्मिक साहित्यमा यो धर्म अरु धर्म भन्दा धनी छ ।
 
    हिन्दूधर्मका शाखाहरु
    हिन्दूहरुको ३३ कोटी(करोड)अनेक देवी–देवताहरु मध्ये कुन देवता सबैभन्दा ठूलो ? कसलाई पुज्ने वा मान्ने हानथापमा नै हिन्दू धर्मका अनेक सम्प्रदायहरुको जन्म भएको देखिन्छ । अन्य धर्ममा झै यस धर्ममा पनि मुख्यतया ३ शाखा वा सम्प्रदायहरु रहेको पाइन्छ । जसको छोटो परिचय यस प्रकार छ ।
(१)  शैवधर्म अर्थात शिव सम्प्रदाय । यिनीहरु शिवलाइ नै सबैभन्दा ठूलो देवता मानेर पुज्ने गर्दछन । शिवभक्तहरु शिवको लिंग(योनी) लाई समेत आस्था राखेर पुजा गर्दछन । यसको मूल ग्रन्थ शिवपुराण हो । ब्राह्मणहरुले शिव पुराण वाचन गर्ने र धार्मिक यज्ञ गर्ने गर्दछन । शैव सम्प्रदायका पनि ५ शाखाहरु छन । (क) शैव सम्प्रदाय । यीनीहरुले मुख्य तीन चिजहरुको पूजा गर्दछन । पति(शिव), पशु(जीव) पाश(मल, कर्म, (माया र रोध) हुन । जीव हिशा नगर्नु हो । (ख) पाशुपत सम्प्रदाय । यसले जातपात र वर्ण व्यबस्थालाई मान्दैन । (ग)  कापालिक सम्प्रदाय । यसमा पशुवलीलाई पश्रय दिइएको छ । यसमा नरवलीसम्म चढाइने गरिन्थ्यो । जसमा भैरवलाई वली दिएर पूजा गर्ने र शिवरात्रीमा सुरा तथा गाँजाभांग खाएर मात्तिने खालको हुन्छ । (घ) कालामुख सम्प्रदाय ।  यस सम्प्रदायका मानिसहरु शरिरमा खरानी लेपन गर्ने, मसानघाटमा गएर बस्ने, सुरापात्र लिएर हिडने, भस्म खाने, अनुहारमा खरानी ध्वाँसो घस्ने कालो पोतेर लेपन गरेर हिडने अघोरी बाबाहरु हुन । (ड.) त्रिकदर्शक सम्प्रदाय । चार वटै शिवधर्ममा रहेका विकृति र रुढिवादितालाई परिष्कृत गरेर नयाँ रुपमा ल्याइएको यो नयाँ सम्प्रदाय मानिन्छ । यसमा जो कोहिले पनि शिवलाई पुजेर आराधना गरेर शिवत्व प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ । त्रिकदर्शक सम्प्रदायका पनि तीन हाँगाहरु छन । (क) वीर शैव या लिंगायत सम्प्रदाय । भारतको काश्मिर तिरबाट आएको शिवको लिगंलाई पूजा गर्ने गर्दछन । (ख) नाथ सम्प्रदाय । मत्स्येन्द्रनाथ, गोरखनाथ पूजक हुन । यिनीहरु त्रिसुल चिम्टा लिएर खरानी घसी जोगी हुने र गृहस्थी मै बसेर धर्मको अबलम्बन गर्दछन । योगी नरहरिनाथ यसै सम्प्रदायका अनुयायी हुन । पशुपतिको पूजा दर्शन गर्नु शिवपार्वती पुजा गर्नु शिवरात्री पर्व मनाउनु शैवधर्म प्रति हिन्दूहरुको आस्था विश्वास हो ।

(२) वैष्णव धर्म वा वैष्णव सम्प्रदाय । हिन्दूहरुको ठूला देवताहरु हुन ब्रम्हा, विष्णु र महेश्वर । ब्रम्हा पृथ्वीको सृष्टिकत्र्ता हुन । विष्णु जगतको पालनकत्र्ता हुन । महेश्वर विनासकत्र्ता हुन । विष्णुलाइनै सृष्टिकत्र्ता, पालनकत्र्ता र संहारकर्ताको रुपमा मान्ने धर्मनै विष्णु वा वैष्णव धर्म हो । हिन्दू मान्यता अनुसार देवताहरु तीन स्थानमा बस्दछन । पृथ्वी, अन्तरिक्ष र स्वर्ग । धेरै देवताहरुको वासस्थल स्वर्ग नै हो । ती मध्ये विष्णु स्वर्गका देवता हुन । पृथ्वीमा उनी दुष्टको नास गर्न र मानवको कल्याण गर्न आइरहन्छन भन्ने अवतारवादमा वैष्णव धर्मीहरु विश्वास गर्दछन । उनीहरु विष्णुका दश अवतार मान्दछन । ती दश अवतारहरु यसप्रकार छन ।

 (१) मतस्य अवतार । सत्य युगमा विष्णुले माछाको अवतार लिएर जगतलाई बचाएको प्रशंग उल्लेख छ । (२) कुर्म अवतार । सत्य युगमा विष्णुले कछुवाको अवतार लिएको कथन छ । (३) बराह अबतार । सत्य युगमा विष्णुले हिरणाक्ष राक्षसलाई मारेको कथा छ । (४) नृसिग अवतार । आधा शरिर मान्छेको र आधा शरिर सिहंको लिएको हुन्छ । सत्ययुगमा हिरण्यकश्यपु र प्रलहादको कथा जोडिएको छ ।  (५) वामन अवतार । वामन पुडको मान्छे हो । त्रेतायुगको वली राजाको कथासंग जोडिएको छ । (६) परशुराम अवतार । त्रेतायुगको कथा छ । परशुरामले क्षेत्रीयलाई सखाप पारेको प्रसंग छ । (७) राम अवतार । त्रेतायुगमा भगवान रामले रावणको वध गरेको रामायण कथासंग सम्बन्धित छ । (८) कृष्ण अवतार । द्धापरयुगमा कृष्णले कंशलाई मारेको कथा प्रसंग छ । (९) बुद्धअवतार । गौतमबुद्धलाई विष्णुको नवौ अवतारको रुपमा लिइएको छ । (१०) कल्की अवतार । कलियुगमा भगवान विष्णु घोडामा चढेर, कपालमा सेतो फेटा बाँधेर हातमा तरवार लिएर आउनेछन र अधर्मीहरुलाइृ नास गर्नेछन । यसपछि कलियुगको अन्त भएर सत्ययुग आउनेछ भन्ने विश्वास हिन्दू पुराणमा उल्लेख गरिएको पाइन्छ । राजालाई विष्णुको अवतारको रुपमा मान्दछन । त्यसैले राजा हिन्दू धर्मका रक्षक पालक धर्म बचाउने शाषक हुन । नेपालमा राजतन्त्रको माग गर्नेहरु विष्णु भक्तहरु हुन । मनुका अनुयायीहरु ह्ुन । 

(३) शाक्त धर्म । ठूलठूला देवताहरुको मात्र होइन विभिन्न देवी वा मातृशक्तिहरुको पुजा गर्ने धर्म शक्तिको उपासक शक्तिपिठहरु शाक्त धर्म अन्र्तगत पर्दछ । महाकाली, महालक्ष्मी, देवी स्वरस्वती, पार्वती आदि शक्तिदेवीहरुको पुजा गर्नेहरु शाक्तधर्मीहरु हुन । शाक्त धर्मका पनि ३ शाखाहरु देखिन्छन । (क) समाचिन शाखा । यिनीहरुले देवीको पुजा गर्ने तथा चक्र पुजा गर्ने गर्दछन । (ख) कौल शाखा । यिनीहरुले योनी पुजा गर्ने गर्दछन । (ग) अन्य शाखाहरु । सप्तमातृका अष्टमातृका(सात र आठ देवीहरु) को पुजा गर्ने गर्दछन । नवदुर्गा पुजा अर्थात ९ वटा देवीहरुलाई एकैसाथ पुजा गर्ने गर्दछन । दसैँमा दुर्गादेवीको भव्य पुजा गर्दछन । कालीको पुजा विभिन्न देवीहरुको रौद्र रुप भएकाहरुको पुजा गरिने गरिन्छ । भद्रकाली, श्वेतकाली, रक्तकाली, कंकेश्वरी आदि अनेक देवीहरुको पुजा गर्ने गर्दछन । त्यस्तै दश महाविधाहरुको पुजा गर्ने गरिन्छ । वर्णाश्रम धर्म, ईश्वरवाद, नित्य आत्मा, कर्मकाण्ड, देवदेवी पूजा, अदृश्य शक्ति प्रति भगवान भरोसा, आसिम–नैमित्तिक पूजाहरु हिन्दूधर्मको विशेषता हुन ।

     हिन्दूराष्ट्र र राजतन्त्रको सम्बन्ध
भारतवर्षको वैदिक श्रवण ब्राह्मणधर्म पछि सनातन हिन्दूधर्म हुन गयो । पछिल्लो समय हिन्दू महर्षी आचार्यहरुद्धारा अनेकौ काल्पनिक देवीदेवता र अतिरञ्जित तिलस्मी संस्कृत साहित्य पुराणहरुको रचना हुन गयो । भारत वर्षमा हिन्दूधर्मको जन्म–विकास–विस्तारको क्रमसंगै वैदिक आर्य हिन्दूजन धर्म बिस्तार बसाइसराईको क्रममा नेपाल भित्रिए । भारत हिन्दूधर्मको मूलथलो उदगमस्थल हो । भारतका मुख्य हिन्दूस्थल चारधाम लगायत अन्य कैयौ स्थानहरु हिन्दूहरुको पवित्र जन्मस्थल मानिन्छन । उनीहरुको आगमन सँगै नेपालमा यस धर्म फैलिने र जरो गाडने मौका पायो । 

हिन्दूधर्म राज्यका शाषक वर्गले अँगालेका कार्ण पछि राज्यको धर्म बन्न सफल भयो । काठमाण्डौका लिच्छवी राजाहरु, कर्णाली खसान क्षेत्रका खस मल्ल राजाहरुको समेत राजधर्म बुद्धधर्म थियो । मध्यकालमा राजा जयस्थिति मल्लको समयमा भारतका शैववादी ब्राह्मण शंकराचार्यलाई नेपालमा झिकाइयो । ५ जना  बनारसी ब्राहमण पण्डाहरु झिकाएर नेपालमा मनुस्मृति कानुन बर्णाश्रम व्यबस्था कायम गरियो । नेपालको आदिकालीन आदिवासी बौद्ध धर्ममाथि कठोर निर्मम दमन गरियो । ठेट भाषामा भन्दा वन साङलाले घर साङलालाई लखेटे झै आदिवासी धर्म लखेटियो । राजा पृथ्वीनारायणशाहले नेपाललाई ‘असली हिन्दूस्थाना’ हिन्दूस्थान बनाउने काम गरे । पछि प्रधानमन्त्री जंग बहादुर राणाले हिन्दू कानुन र मुलुकी ऐन जारी गरेर देशलाई पुरै हिन्दूकरण गरे । आदिवासी बुद्धधर्र्मलाई तहसनहस पारे । उनले बौद्ध ग्रन्थका धार्मिक पुस्तकहरु ध्वस्त पार्न लगाए ।

 हिन्दूधर्मले संवैधानिक कानुनी रुपमा नेपालमा राज्यधर्म र हिन्दूराष्ट्रको रुपमा समेत लामो समय सासन गर्ने अवसर प्राप्त गर्यो । यत्तिले मात्र नपुगेर वि.सं. २०१९ र २०४७ सालको संविधानले नेपाललाई औपचारिक रुपमा हिन्दूराष्ट्र घोषणा गर्यो । राजालाई विष्णु भगवानको अवतार हिन्दू धर्मको संरक्षक मान्ने यो धर्मले नेपालमा लामो समयसम्म राजतन्त्रको जग बलियो बनायो । हिन्दूधर्म–हिन्दूराष्ट्र–राजा बिचको सम्बन्धलाई छुटाउनै नसकिने नङमासुको रुपमा लिइयो । एकात्मक सामान्ती हिन्दू राज्यको भरण–पक्षपोषण गर्ने र धार्मिक राजतन्त्र टिकाउने काम मात्र होइन देशमा वर्णाश्रम धर्मको विज रोपेर हिन्दूजातिवादले युगिन बिकासक्रमलाई पछाडी धकेल्ने काम समेत गरिरह्यो । ०६२÷०६३ को जनआन्दोलन पछि हिन्दूराष्ट्र र हिन्दूराजतन्त्रको अन्त हुँदै नेपाल धर्मनिरपेक्ष, गणतान्त्रिक राष्ट्र बन्न पुगेको छ । हिन्दूत्वको प्रतीक नेपालको राष्ट्रिय झण्डा यथावत कायम रहनु । राष्ट्रिय जनावर गाई हुनु ।

 पशु गौहत्या गरेवापत बाह्रवर्ष जेल जानु पर्ने कानुन रहनु । विक्रम संवत लगायत नेपाली तिथि–मिति, दिन–वार, पात्रो, क्यालेण्डर आदि सनातन हिन्दूधर्म विक्रम संवत अनुसार निर्देसित हुनुु । राष्ट्रिय लोगो, प्रतीक–चिन्ह हिन्दूछाप कायम गरिनु । हिन्दू चाडपर्वहरुमा लामो सरकारी विदा दिइने परम्परा रहिरहनु । राज्यले मनुस्मृति धर्ममा आधारित हिन्दू कानुनहरु निर्वाध लागु गर्नु । देशको खेती योग्य हजारौ हेकटर जमिन मठमन्दिरले चर्चिनु । अन्धविश्वासी राष्ट्रघाती कतिपय ठगी व्यापार हिन्दू कर्मकाण्डलाई सरकारले  सामाजिक सेवाको रुपमा पश्रय मान्यता दिनु । यसका केहि उदाहरणहरु मात्र हुन ।

 नेपाल हिन्दूराष्ट्रबाट धर्मनिरपेक्षराष्ट्र हुनु चाँहि नेपाली जनताको सामाजिक साँस्कृतिक, राजनीतिक तथा शैक्षिक चेतनाको उपज हो । प्रगतिशील मानवीय वैज्ञानिक नवधर्मप्रतिको नेपालीहरुको चाहना, झुकाव र समयानुकूल हिन्दूधर्ममा आएको आमूल परिवर्तनको लहर पनि हो । तर नेपाल यर्थाथमा अझै धर्मनिरपेक्षराष्ट्र हुन सकेको छैन । केही हिन्दू अतिवादी बाहुनवादीहरु पुरानो एकात्मक सामान्ती राज्य राजतन्त्र कायम राखेर हिन्दूधर्मद्धारा निर्देसित असफल राज्य बनाउन चाहेको देखिन्छ । हिन्दूहरुको उदगम भूमि भारतमा हिन्दूराष्ट्र हुनु नपर्ने तर बुद्धराष्ट्र नेपाल जहाँ हिन्दूको कुनै प्राचीनता गुन्यूचोलोको साइनो समेत नभएको नेपाललाई हिन्दूराष्ट्र बनाउनु बाहुनवादको पाखण्डीपनको पराकाष्ठाको नमूना हो । 

आजसम्म हिन्दूराष्ट्र र हिन्दूराजतन्त्रले नेपाल–नेपालीलाई के दियो ? नेपाली समाजलाई वर्णाश्रमी धर्मभीरु मनुवादी पण्डित पुरोहितहरुको दास बनायो । अन्य धार्मिक, सामाजिक, साँस्कृतिक, भाषिक जातीय समुदायको पहिचान मेटने काम गरयो । हिन्दूराजतन्त्रको छत्रछायाँमा रहेर आजसम्म असफल शाासन चलायो । जस्तोसुकै खराब हराम निच र कमिने भएपनि राजाको छोरा राजा हुने सामान्ती जमान अब गए । हिन्दू पहिचानको नाममा कुनै पनि नेपाली हिन्दूधर्मभीरु भएर कसैको रैती वा दास बन्न चाहान्नन । हिन्दूराष्ट्रको माग गर्नु नेपाललाई सिधै भारतको धार्मिक उपनिवेशी राष्ट्र बनाउने सिकिमीकरणको षड्यन्त्र हो । 

केही वर्ष यतादेखि धर्मको नाममा आयातित धर्मसंस्कृतिकोे प्रचार–प्रसार गर्ने भारतीय हिन्दूठगहरुको केन्द्र नेपाल हुन थालेको छ । राजतन्त्रवादी, धर्मनिरपेक्षता र संघीयता विरोधी एकात्मकवादी केहि धार्मिक अतिवादी हिन्दूहरु सबै नेपाली हिन्दू हुन भन्दै नेपालीलाई नक्कली हिन्दू बनाएर नेपाल हिन्दूराष्ट्र हुनु पर्दछ भन्दैछन । क्रिस्चियन धर्मलाई पश्चिमी विदेसी भन्नेहरुनै आयातित पूर्वको विदेशी धर्मको राजनिति गर्दैछन । नेपालको आदिवासी स्वदेशी बुद्धधर्म र बुद्ध जन्मेको देश नेपाललाई बौद्धराष्ट्र माग गर्नुको बदला नेपाली राष्ट्रिय पहिचान मेटदै आयातित भारतीय धर्मको राजनिति गर्नेहरु विदेशीको गुलामीे इसारामा नाच्ने साम्प्रदायिक धार्मिक कुपमण्डुक विदेशी दलाल राष्ट्रघाती अराष्ट्रिय तत्वहरु हुन । 

मैले जनै लगाउँछु । टुप्पी पाल्दछु । गायत्रीमन्त्र जप्तछु । म हिन्दू हुँ । तिमीहरुले पनि मैले जस्तै जनै भिर्नु पर्दछ । टुप्पी पाल्नु पर्दछ । गायत्रीमन्त्र जप्नु पर्दछ । तिमीहरु प्नि  हिन्दू हौ भन्नु धार्मिक पाखण्डीपन भारतीय नवउपनिवेशवादका दलाल हुन । यो कुरो आजका गोलोबल युगमा स्वतन्त्रताप्रेमी कुनैपनि सचेत नागरिकका लागि स्वीकार्य तर्कसंगत विषय हुुन सक्दैन । संस्कृत ऋचाका आर्कषक मनमोहक श्लोक धर्मदर्शनका जतिसुकै लोभलाग्दा राम्रा–मिठा–चिल्ला कुरा गरेपनि त्यसले  धार्मिक सर्वसत्तावाद सिवाय अरु केही पैदा गरेन । अन्य धार्मिक समुदायलाई निषेध गर्ने हिन्दूराष्ट र राजतन्त्र अबको लोकतान्त्रिक जमानामा कसैका लागि मान्य हुन सक्दैन । यस्तो कुरा धर्मनिरपेक्षता, लोकतन्त्र–गणतन्त्र, पहिचान सहितको संघीयता बिरोधी सडयन्त्र हो । त्यसैले एउटा कविको कविताले यसरी व्यंग्य गर्दछ —
             मान्छे कहाँ पुग्यो के गर्यो
            तान्यो ब्रह्माण्ड नै तनतनी 
            बिचरा, हाम्रो बाहुन नानी अझै मक्ख छ
                 मेरो पहिचान, मेरो हिन्दूधर्म–संस्कृति भनि ।
            किन हो कुन्नी अबोध बिचरा ?
            आफनै सूरतालमा मक्ख छ ।
          छामी आफ्नै जनै–टुप्पी–कन्दनी ।।।
            छामी आफ्नै जनै–टुप्पी–कन्दनी ।।।।
(पुन आदिवासी मगर र बौद्ध धर्म पुस्तकका लेखक हुन )
                                         

No comments:

Post a Comment