रानीवन गाउँ
राजधानीबाट एकदम नजिक रहेको रमणीय गाउँको नाम हो रानीवन । हाल ईचंगु नारायण गाविस अन्तर्गत पर्दछ । पूर्वमा कामनपा १६ नं. वडा पश्चिममा सितापाईला गाविस, दक्षिणमा चक्रपथ कामनपा १५ वडा उत्तरतर्फ नागर्जुन वा जामाचो हरियो वन ।
बालाजुबाट करिब १५ देखि २० मिनेट पश्चिम तर्फ हिंडेर जाँदा अति सुन्दर शान्त रमणीय गाउँ रानीवन प्रवेश गर्न सकिन्छ । कच्चिबाटो भएर कामनपा वडा नं. १६ पार गरी सकेपछि माथितिर हरियो वन तलतिर अन्न उब्जने विशाल फाँट देख्न सकिन्छ । असोज महिनामा फाँटभरी धान झुलेको बाटो हिँड्ने जो सुकै वटुवाले आनन्द लिन सकिन्छ ।
कच्चिबाटो हुँदै यो रमणीय गाँउको दृश्यावलोकन गर्न सकिन्छ । शान्तिको प्रतीकको रुपमा अवस्थित स्वयम्भू चैत्य प्रष्ट रुपमा दर्शन गर्न पाउने अवसर रानीवन बस्ने जो सुकैलाई छ । गाउँ प्रवेश गर्नसाथ साना-साना टायल र परालेघरहरु देख्न सकिन्छ भने घर अगाडि आंगनमा, दर्ज्यू वा लुङदार ठड्याएको जो सुकैले देख्न सकिन्छ । आफ्नै मौलिक पन भएको यस गाउँमा ८०% तामाङहरुको बसोबास रहेका छन् ।
यहाँ माध्यमिक तहसम्मको १ सरकारी विद्यालय वडा नं. ८ मा रहेको छ, जसलाई बालविकास माध्यमिक विद्यालयको नामबाट रानीवनमा परिचित छ । आयस्रोत कम भएका जनसमुदायको छोराछोरी बालविकास मा.वि. मा पढाउँछन् भने अलि हुनेखाने परिवारको छोराछोरी अन्य बोर्डिङ स्कुलहरुमा पढाउने चलन बढी नै आएको छ । यहाँका गाउँलेहरुको मुख्य स्रोत भनेको कृषिमै आधारित छ भने समयको परिवर्तन अनुरुप कोही जागिरे छन् भने कोही आफ्नै व्यापार व्यवसायमा तल्लीन देखिन्छन् ।
चैत्रपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । जिल्लाको मानिसहरु जामाचोको मेला भर्न हिँडेर दर्शन गर्न आउने गर्दछ । हजारौं यात्रीहरु जामाचो दर्शन गरिसकेपछि वालाजु वासईधारा गएर नुहाउने वा रमाईलो गर्ने चलन यथावतै छ । माथि नागर्जुन वा जामाचोबाट हेर्दा काठमाडौं र ललितपुरको अव्यवस्थित घर, धुलो र धुँवा उडेको सजिलैसँग देख्न सकिन्छ ।
यहाँका बासिन्दाहरुको अर्को भव्य रुपमा मनाउने चाड मंसिर पूर्णिमाको अघील्लो रात ब्रतालु भक्तजनहरु भैरवस्थान मन्दिर परिसरमा रातभर जाग्राम बसी मादि बाल्ने चलन र बिहान भएपछि सेलाउने र गाउँलेहरुले भाकल गरेका राँगा, कुखुरा, बोका, हाँस आदिको बलिचढाउने प्रथा छ र पूजाआज सकेपछि विभिन्न जातजातिहरु एक आपसमा मिली भोज खाई रमाईलो गर्ने प्रचलन छ ।
यहाँ यस्तो किम्बदन्ती पनि छ । जो अहिले पनि बुढापाकाको जनजिब्रोबाट उत्सुकताका साथ सुन्न सकिन्छ । हजारौं वर्ष अगाडिको कुरा हो त्यस समय नागनागिनाहरु मानिसको स्वरुप गरेर हिँड्डुल गर्न सक्ने शक्ति थियो रे । त्यसै समयमा रानीवनको नाग र अन्य स्थानको नागहरु तिर्थ गर्न वा मेला भर्न काभ्रे जिल्लाको पनौतिमा गएछन् । त्यसै समय नागको खोजि गर्दै गरुड पनि मानिसको भेष बदलिएर रानीवनको घोङखोला भन्ने ठाँउमा आई नागिनीलाई सोधपुछ गरेपछि तिम्रो लोग्ने कस्तो छ, कस्तो रंगको लुगा लगाएको छ भनि बेली बिस्तारको क्रममा नागिनीले भनिन् रे मेरो लोग्नेले सेतो लुगा लगाएको सबै भन्दा अग्लो छ भनि बताई दिएछन् र अब म जान्छु झ्यालढोका थुनेर सुत्नु कोही आएपनि झ्याल ढोका नखोल्नु भनेर ताल्चा लगाई गरुड पनौतितर्फ लागेछन् । त्यहाँ पुग्दा नागिनीको भनाई अनुरुप खोजि गर्न लागेछन् । खोजी गर्दा पत्ता लगाई पछिपछि खेद्दै रानीवनको घाङ खोला आईपुग्दा ढोका खोल भन्दा नागिनीले ढोका नखोलि दिएको हुनाले मानिस रुपी गरुडले नागलाई आफ्नो कब्जामा लिएछन् । नागले त्यसैबखत सराप दिएछन् नागिनीलाई तिमी पापीनी वेईमान, विश्वासघाती रहिछ्यौं अबदेखि छ महिना माईती र छ महिना घर गर्नु ।
यसरी गरुडले नागलाई लैंजादा जामाचोमा नागको केही अंश झरेको हुनाले भगवान बुद्धको मूर्ति छेउमै नागको अंश शिला देख्न सकिन्छ जो सुकैले पनि । यसरी नागको सराप टार्नको लागि नागिनीले रानीवनको घोङखोलामा वर्षमा ६ महिना बस्नको लागि आँधिबेरी ल्याई भाद्रमा मुल फुटाई बस्ने चलन हालसम्म पनि यथावत छ । ६ महिना रानीवनको घोङखोला र ६ महिना दक्षिणकालीमा बस्ने किम्बदन्ती रहेको पाईन्छ ।
प्रस्तुती:- बिरानो तामाङ
(तामाङ डाजाङ मासिक (वर्ष-१, अंक-१, पूर्णाङक ३०, श्रावण) बाट साभार गरिएको)
No comments:
Post a Comment