Saturday, October 5, 2013

माओवादी पनि बाहुन एण्ड कम्पनी प्रालि !

अमरदीप मोक्तान
तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चा द्वारा माओवादी द्वारा प्रस्तावित तामाङ्गसालिङ्ग क्षेत्रका लागि प्रत्यक्षमा १५ तथा समानुपातिकमा २५सिट माग गरेकोमा एमाओवादी पार्टीद्वारा नुवाकोटबाट हितबहादुर तामाङ्ग र काभ्रेबाट सूर्यमान दोङ्गलाई मात्र दिन सकिने संकेत दिएको छ । तामाङ्ग समुदायको मागलाई वेवास्ता गरिएको भनि तामाङ्ग मुक्ति मोर्चा आक्रोशित भएको भनि नागरिक दैनिकमा छापिएको समाचार प्रति ध्यानाकर्षण भएको छ ।

तामाङ्ग समूदाय नेपालको आदिवासी मध्ये बहुसंख्यक भएको जाति हो, दुर्भाग्य के छ भने कांग्रेस, एमाले, एमाओवादी पार्टीमा लागेका तामाङ्गले उल्लेखित ब्राम्हणवादी मुखौटाधारी पार्टीद्वारा समुदायलाई मूर्ख, गवाँर तथा दास ठानेका छन् भनि बुझ्न सकेका छैनन् । बाहुनवादी मुखौटाधारी कांग्रेस, एमाले एमाओवादीको दृष्टिमा तामाङ्ग समुदाय भनेको नेपालको दास तथा दोयम दर्जाको जाति हो न त तामाङ्गको कुनै स्वाभिमान छ न त कुनै सम्मान । जुनसुकै राज्यसत्ता आएपनि तामाङ्ग विद्वेशी नीतिका कारण तामाङ्ग समुदाय क्रमशः एक अस्तित्वहिन जातिमा परिणत भईरहेको तामाङ्ग समुदायले स्विकार गर्नैपर्छ । नेपालको मानचित्रमा जुनसुकै क्षेत्रमा रहेका तामाङ्ग समुदाय केही अपवाद बाहेक दोयम दर्जाका दास नागरिक बाहेक केही होइनन् । तामाङ्ग झोले, लठैत भन्दा माथि उठ्ने चाहना पनि राख्दैनन् तसर्थ कांग्रेस, एमाले, एमाओवादीद्वारा तामाङ्गलाई माथिल्लो स्थानका लागि अयोग्य ठहर गरिएको हो ।

हाल सुधिर शर्मा द्वारा लिखित प्रयोगशाला पूस्तकले राजनैतिक वृतमा ठूलो तहल्का मच्चाएको छ, पुस्तकमा कांग्रेस, एमाले, एमाओवादीको राष्ट्रद्रोही तथा विदेशी परस्त चरित्र उदाङ्गो भएको छ । सुधिर शर्माको पूस्तक शिर्षक “प्रयोगशाला” को प्रयोग गर्दै के भन्न सकिन्छ भने माओवादीद्वारा प्रस्तावित तामाङ्गसालिङ्ग, मगरात, लिम्बुवान्, खुम्बुवान् लगायतका राज्यहरुमा विशेष थरका बाहुनद्वारा उच्च ओहदा प्राप्त गर्नका लागि प्रयोगशाला बनाइयो । नेपालमा हमेशा बाहुनवादी मुखौटाधारी पार्टी उचाई प्राप्त गर्न आदिबासी बाहुल्य क्षेत्रलाई प्रयोगशाला तथा आदिवासीलाई प्रयोग गरेर उच्च ओहदा तथा नवधनाढ्य बन्न सफल भएकाछन् । सात सालको क्रान्तिमा प्रजातान्त्रिक समाजवाद नामक ललीपपको प्रयोग गर्दै पूर्वका राई, लिम्बु, तामाङ्ग लगाएतका आदिवासीको सहादतमा टेकेर कोईराला थरका बाहुन देशको उच्च ओहदामा विराजमान तथा कोइराला वंशको जग स्थापित गर्न सफल भए । आदिवासी जनजातिको रगतको जगमा स्थापित कांग्रेस आजभोलि कोइराला सन्स डटर्स एण्ड फेमिली प्राइभेट लिमिटेडमा परिणत भएको छ । आज कांग्रेसमा आदिवासी बलिदानको कुनै कदर छैन, स्थान छैन, अव कांग्रेसलाई आदिवासीको आवश्यकता पनि छैन । कांग्रेसको आदिवासी विरोधी नितीबाट खिन्न भएका आदिवासीहरुलाई प्रयोग तथा आदिवासी क्षेत्रलाई प्रयोगशाला बनाउन बहुदलिय जनवाद नामक आकर्षक मुद्दा लिएर एमाले (पहाडी पण्डित पार्टी) खनाल, नेपाल, मैनाली थरका बाहुन नेता आदिवासीलाई सम्मोहित गर्न सफल तथा राज्यसत्तामा राम्रो पकड बनाउन सफल भए, एमाले शक्तिशाली भए पश्चात् चिरपरिचित अन्दाजमा आदिवासी प्रति दुव्र्यवहार तिरस्कारको नीति अपनाइयो फलस्वरुप अशोक राई लगाएतका आदिवासी नेताले विरक्तिएर पहिचान स्थापित गराउनका निमित्त दासको जिवन बिताउनु भन्दा स्वतन्त्रताको जिवनलाई चयन गर्दै सङ्घीय समाजवादी पार्टीको जन्म भएको छ ।
एमाले, कांग्रेसबाट बहिस्कृत तथा उपेक्षित आदिवासीलाई सङ्घीयता आत्मनिर्णयको अधिकार जातिय, क्षेत्रिय, वर्गिय, लिंगिय उत्पिडनबाट उन्मुक्ति हुन जनयुद्ध बाट नै सफल हुने भनि दाहाल भट्टराई लगाएतका बाहुनको लहै लहैमा आदिवासी फस्न पुगे, जनयुद्ध चरम उत्कर्षमा पुग्यो । पुनः जनयुद्धको प्रयोगशाला आदिवासी क्षेत्र ताम्सालिङ्ग, मगरातलाई नै बनाइयो । आदिवासीको रगतको खोलो बग्यो , संवैधानिक राजतन्त्र वाहेक केही स्विकार्य नभएको पार्टी पनि माओवादी शक्ति समक्ष नतमस्तक हुन पुगे । राजतन्त्रले घुँडा टेक्न बाध्य हुन पर्यो । माओवादी मूलधारमा फर्कियो । २०६४ को संविधान सभा चुनावमा एमाओवादी शक्तिशाली पार्टी बन्न पुग्यो । सत्ताको बागडोर तथा हालीमुहाली दाहाल, भट्टराईको हातमा पुग्यो । दाहाल, भट्टराई लगाएतका ब्राम्हणवादी मुखौटाधारी राजनीतिज्ञ नेपालको चम्किलो, सुकिलो मुकिलो व्यक्तित्व तथा नवधनाढ्य बन्न पुगेका छन् । आदिवासी अधिकारका माग संघीयता, पहिचान बाहुनवादी मुखौटाधारी कांग्रेस, एमाले, एमाओवादीको घाँटीमा हाड अड्केको जस्तै भएको छ । एमाओवादीमा पुनः आदिवासी दोयम दर्जाको दासमा परिणत भएका छन् । नेपालमा भएको परिवर्तन, गरिएको परिवर्तन बाहुनका केही थरहरुलाई शक्तिशाली, नवधनाढ्य तथा वंश स्थापित गराउनका लागि मात्र गरिएको प्रमाणित भएको छ ।
तामाङ्ग मूक्ति मोर्चाले उठाएका जायज मागलाई माओवादीले संबोधनलाई गर्नैपर्छ । दोरम्वा हत्याकाण्डका सहादत प्राप्त गरेको तामाङ्ग यूवा यूवतीको सहादतको अवमूल्यन गर्नु एमाओवादीको लागि घातक सिद्ध हुनेछ । एमाओवादीले बेथान चौकी आक्रमणमा दिलमाया बोम्जनको सहादतलाई वेवास्ता गर्नु भनेको तामाङ्ग आदिवासीको भावनासंग खेलबाड गर्नु हो । कांग्रेस, एमाओवादी, एमालेले पनि हुने भनिएको संविधान सभाको चुनावमा तामाङ्ग भावनालाई कुठाराघात गर्ने निश्चित प्राय देखिन्छ ।

एमाओवादीको पहिचान सहितको नारा एक धोका हो । तामाङ्ग लगाएतको आदिवासीले गम्भिर रुपमा चिन्तन मनन गर्नु नै पर्छ । कांग्रेस, एमाले, एमाओवादी पहिचान सहितको संघीयताका विपक्षमा हुन् भन्ने कुरा विगतको प्रथम संविधान सभाको निर्मम हत्याले प्रमाणित गरेको छ । दोश्रो संविधान सभाको चुनावबाट जनचाहना बमोजिमको संविधान बन्ने कुनै ग्यारेण्टी देखिदैन । विदेशी इसारामा दोश्रो संविधान सभाको चुनाव गराउन उद्धत चार दलिय संयन्त्रले क्रमशः नेपाललाई संकटको भूमरीमा पार्ने गम्भिर षडयन्त्र हो । दोश्रो संविधानसभा अगावै पहिचान सहितको संघीयताको ग्यारेण्टी नभए नेपालका उत्पिडित जनताले कुनै पनि हालतमा जनचाहना बमोजिमको संविधान प्राप्त गर्न सक्दैन । तामाङ्ग मूक्ति मोर्चाले प्रत्यक्ष तथा समानुपातिकमा तामाङ्ग समुदायको प्रतिनीधित्वको माग जायज हो तर बाहुनवादी मुखौटा ओढेका एमाओवादी कुनै पनि हालतमा त्यसप्रति सकारात्मक हुने छैनन् भनि ठोकुवा गर्न सकिन्छ ।

एमाओवादीमा रहेका तामाङ्ग समुदायको जायज मागलाई संबोधन नगरिए तामाङ्ग समुदाय एमाओवादीबाट विद्रोह गर्ने बाहेक कुनै विकल्प देखिदैन । कांग्रेस तथा एमाले द्वारा पनि टिकट वितरणमा तामाङ्ग समुदाय प्रति न्याय गर्ने छाँटकाँट देखिदैन । विगठित संविधान सभामा एमाओवादीले तामाङ्ग समुदायलाई प्रत्यक्षमा ८, समानुपातिकमा ३, कांग्रेसले प्रत्यक्षमा ४ तथा समानुपातिमा १, एमालेले प्रत्यक्षमा ४ तथा समानुपातिकमा २ सिट आवन्टन गरेर तामाङ्ग विद्वेशी चरित्र उजागर भएको सर्वविदितै छ । विगतको संविधानसभामा लगभग ६ प्रतिशत जनसंख्या रहेको तामाङ्ग समुदायले प्रत्यक्ष समानुपातिक गरि जम्मा १६ सिट प्राप्त गरेको थियो । दोश्रो संविधान सभाको चुनावमा पुनः तामाङ्ग समुदायको अस्तित्व संग खेलवाड गर्ने प्रयत्न भइरहेको छ । एमाले, कांग्रेस, एमाओवादीलाई दोश्रो संविधान सभाको चुनावमा तामाङ्ग समुदायले ऐक्यबद्धता प्रकट गर्दै सवक सिखाउनु पर्ने वर्तमान समयको आवश्यकता हो । एमाओवादी, एमाले, कांग्रेस तामाङ्ग समुदायको भाग्य विधाता होइनन्, तामाङ्ग समुदायको भोटमा सत्तासुख प्राप्त गर्ने ब्राम्हणवादी मुखौटाधारी पार्टीको कुत्सित मनसाय लाई तामाङ्ग समुदायले ऐक्यबद्धता प्रकट गर्दै ध्वस्त बनाउनै पर्छ । एमाले, कांग्रेस, एमाओवादीले विगतको संविधान सभामा जुन प्रकारले तामाङ्ग विद्वेशी नीति अख्तियार गरेको कारण तीस देखि चालिस सभासद् हुनुको सट्टा मात्र सोह्र सभासद्मा तामाङ्ग समुदायले चित्त बुझाउनु परेको थियो । कांग्रेस, एमाले, एमाओवादीको तामाङ्ग समुदाय प्रति दृष्टिकोणमा किन्चित पनि परिवर्तन हुन सक्ने संकेत देखिदैन, तामाङ्ग समुदाय ब्राम्हाणवादी, मुखौटाधारी पार्टीको चगुलबाट मुक्त भएर आफ्नो भाग्यको निर्माण गर्ने तर्फ अग्रसर हुने बेला आएको छ, समय गतिशिल छ अव पनि तामाङ्ग समुदायमा चेतना नआए तामाङ्ग समुदाय नेपालको इतिहासको पानामा विलिन हुन तयार भए हुन्छ ।

डाँडाखर्क, दोलखा

No comments:

Post a Comment