Wednesday, October 16, 2013

बौद्ध धर्म र विजयादशमी

प्रकाशित मिति: २६ असोज २०७० | लामा अशोक तमु

dashain_baudha1
असत्यमाथि सत्यको विजय अर्थात् हिंसा अन्त्यको खुशीयालीमा हरेक वर्ष मनाउँदै आएको विजयादशमी पर्वले यतिबेला नेपाली समाज उल्लासमय बनेको छ । विशेषगरी यो पर्वमा आफूभन्दा ठूलाबाट टीका लगाएर आशीर्वाद थाप्ने प्रचलन पनि रहेकाले रोजगार, शिक्षालगायत विविध कारणले घरपरिवारदेखि टाढा रहेका भेटघाट हुने क्रम सुरु भइसकेको छ । जसले गर्दा दैनिक जीवनयापन व्यस्त बन्दै गइरहेको अहिलेको समयमा विजयादशमी पर्वको महत्व बढ्दो छ ।
तर, विजयादशमी पर्व हिंसाको पर्व पनि बन्दै गइरहेको छ । धर्म तथा प्रथाको नाउँमा विभिन्न कोत (कालिका मन्दिर)हरुमा अष्टमीका दिन लाखौं जनावरको बलि दिने गरिन्छ । अहिंसा तथा शान्तिको दूत भनेर विश्वमा चिनाउने गौतम बुद्ध जन्मेको देश नेपालमा एउटा उल्लासको पर्व यसरी हिंसाको पर्वको रुपमा परिचित हुँदै जानु दुःखलाग्दो कुरा हो । विशेषतः विजयादशमी पर्वलाई हिन्दु धर्मावलम्बीको पर्व भनेर बुझ्ने गरिन्छ ।
इतिहास हेर्ने हो भने बुद्ध धर्ममा पनि विजयादशमीको ठूलो महत्व रहेको छ, जहाँ विजयादशमीलाई विशुद्ध अहिंसात्मक पर्वको रुपमा पाउँछौं । यद्यपि, अध्ययन तथा प्रचारप्रसारको अभावमा यो विषय ओझेलमा पर्दै गएको छ । मौर्यशासक सम्राट अशोकले विजयादशमी कै दिन सम्पूर्ण हिंसात्मक गतिविधी त्यागेर अहिंसात्मक धर्म अवलम्बन र प्रचारप्रसार गरेको हुँदा बौद्धधर्मावलम्बीहरु पनि यसलाई विशेष दिनका रुपमा मनाउछन् ।
तत्कालीन आर्यभूमिका प्रथम मौर्य शासक सम्राट चन्द्रगुप्ताको मृत्युपश्चात छोरा सम्राट विन्दुसारले पच्चिस वर्षसम्म राज्यसत्ता सञ्चालन गरी ई.पू.२७३ मा मृत्यु भयो । पिताको मृत्यु पश्चात अशोकले आफ्ना एक सय एक दाजुभाईहरु मध्ये एक भाई छाडी बाँकी सम्पुर्णको हत्या गरेर छिमेकी राज्यहरु आफ्ना राज्यमा समेटि चक्रवर्ती सम्राट अशोकको रुपमा राज्य सत्ता सम्हाले । आफ्नो राज्य सत्ताबाट मात्र सन्तुष्टि नभई उनले विश्वको नै सम्राट बन्ने बिचारले कलिंग राज्य संग युद्ध सुरु गरे । हिंसात्मक कलिंग युद्धमा असंख्य मानिस, पशुपंक्षी र धनजनको क्षति पश्चात विजय प्राप्त भयो । तर युद्धकालको हिंसात्मक गतिबिधिहरुद्धारा सम्राट अशोकको चित्तमा विरक्त जाग्न थाल्यो ।
यसपछि “आजदेखि म हिंसात्मक गतिबिधिहरु त्यागी अहिंसात्मक धर्म प्रचार द्धारा बिजय गर्नेछु” भनि प्रतिज्ञा गरि शस्त्र त्याग गरे । साथै भगवान बुद्ध द्धारा प्रतिपादित अहिंसा धर्मपथको अनुशरण गरि सम्पूर्ण प्रजाहरुलाई पनि निर्देशन दिए । सम्राटको यस घोषणा प्रति युद्धद्धारा पीडित जनताहरु बडो हर्ष र उल्लासका साथ बिजय दशमीको दिनलाई “शस्त्र परित्याग दिवस” को रुपमा ग्रहण गरि, शान्तिका अग्रदुत तथा अहिंसाका प्रतिमूर्ति भगवान गौतम बुद्ध द्धारा प्रतिपादित अभिधर्म (सत्मार्ग) श्रवण, चिन्तन र मनन गर्नुका साथैं
पञ्चशील पालना गर्ने, दान–दक्षिणा गर्ने, प्राणी हत्या त्यागी प्राणीको रक्षा गर्ने लगायत महा पुण्यकार्यहरु गरि विश्वभरी नै मनाईन्छ । यसरी हिंसात्मक मार्ग त्यागेर अहिंसाको पथ अँगालेका बौद्धमार्गी सम्राट अशोकको ई.पू.२३२ मा ६८ वर्षको उमेरमा देहवसान भयो ।
यसैगरी विजयदशमीका दिन गुरु पद्म संभव (गुरु रिन्पोछे) ले काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा सम्यक समाधिमा बस्नुहुँदा बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरुको दमन गरि महाविद्याधरको परम सिद्धि प्राप्त गर्नु भएको पावन तिथि मानिन्छ ।
यसकारण यतिका महत्व बोकेको यस महापुण्य तिथिमा धर्मको नाऊँमा गरिने अकुशल कर्महरुको फल बलवान ( दुगर्तिको हेतु ) हुने पनि सुत्र तन्त्रमा उल्लेख गरिएको पाईनछ, साथैं सम्पूर्ण दुःखहरु स्वार्थ कामना द्धारा उत्पन्न हुन्छन्, सम्यक् संबुद्धहरुको उत्पत्ति परार्थ चिन्तन द्धारा हुन्छ भनिए जस्तै, स्वार्थको निमित्त गरिने निर्दोष प्राणीहरुको हत्या हिंसा जस्ता कु–कार्य÷विचासहरु त्यागेर महासन्त सिद्ध पुरुषहरुको मार्ग दर्शन अनुशरण गरि आफ्नो चित्तमा प्राणीहरु प्रति मैत्री र करुणाभाव उत्पन्न गराउँ । सदा–सर्वदा सुख शान्तिका साथ जिउँ, जिउन दिउँ र प्राणत्याग गर्नु परेता पनि कु–कर्महरु कहिल्यै नगरौं ।
।। शुभम् मस्तु सर्व जगतम् ।।

No comments:

Post a Comment