Thursday, March 20, 2014

भाषाबारे ९ आधारभूत प्रश्न बहुभाषिक मुलुकमा नेपाल २० ओं स्थानमा रहेको छ ।

१. विश्वमा कहाँ कति भाषा होलान् ?

    भाषासम्वन्धी सम्पूर्ण जिज्ञासाको उत्तर भाषावैज्ञानिकहरूले खोजेका हुन्छन्। भाषाको अध्ययन अनुसन्धान गर्नेलाई भाषावैज्ञानिक भनिन्छ। उनीहरूका अनुसार हाल विश्वमा छदेखि सात हजार भाषा बोलिन्छन्। इथ्नोलग (२००५) नामक भाषा अध्ययन गर्ने संस्थाका अनुसार हाल विश्वभरिमा ६,९१२ भाषा बोलिन्छन्। यीमध्ये एशियामा ३२.८∞, अफ्रिकामा ३०.३∞, प्यासिफिकमा १९.०∞, अमेरिकी महादेशहरूमा १४.५∞ तथा युरोपका देशहरूमा ३.५∞ भाषाहरू बोलिन्छन् (हे. तालिका–१)। यस तथ्याङ्कबाट एशिया र अफ्रिकामा धेरै र युरोपमा थोरै भाषा बोलिदो रहेछ भन्ने जानकारी हुन्छ। 
तालिका १ ः भूक्षेत्रको आधारमा भाषाको वितरण
   देश      भाषाको    जम्मा
            संख्या     प्रतिशत
१. एशिया     २,२६९     ३२.८
२. अफ्रिका    २,०९२     ३०.२
३. प्यासिफिक           १,३१०    १९.०
४. अमेरिका   १,००२     १४.५
५. युरोप      २३९      ३.५
   जम्मा    ६,९१२     १००.०
२. नेपालमा कति भाषा बोलिन्छन्
   नेपाल बहुभाषिक मुलुक हो। नेपालको राष्ट्रिय जनगणना २०११ अनुसार नेपालमा १२३ भाषा बोलिन्छन्। भाषावैज्ञानिकहरुले नेपालमा १४० को वरिपरि भाषा बोलिन्छन् भन्ने अनुमान गरेका छन्। नेपाली, मैथिली, भोजपुरी, थारु र तामाङ भाषाहरू दशलाखभन्दा धेरैले बोल्दछन् भने ल्होमी, बेलहारे, ब्याँसी, सुरेल, बराम, काइके आदि भाषाहरू एक हजारभन्दा कम वक्ताले बोल्दछन्।
३. विश्वमा धेरै भाषा बोल्ने मुलुक कुन् हो ?
   विश्वमा एकसय भन्दा धेरै भाषा बोल्ने बहुभाषिक मुलुक २३ ओटा छ। नेपाल २०औं स्थानमा रहेको छ। विश्वमा सबैभन्दा धेरै भाषा बोलिने मुलुक पेसिफिक क्षेत्रको पपुवा न्युगिनी हो जहाँ ८२० भाषा बोलिन्छन्। यसपछि इन्डोनेसिया (७४३) र नाइजेरिया (५१६) को नाउँ आउँछ। १०० भन्दा धेरै भाषा बोलिने विश्वका बहुभाषिक मुलुकहरू (इथ्नोलग २००५ को आधारमा) 
    १. पपुवा न्युगिनी (८२०), २. इन्डोनेसिया (७४३), ३. नाइजेरिया (५१६), ४. भारत (४२७), ५. संयुक्त राज्य अमेरिका (३११) ६. म्याक्सिको (२९७), ७. क्यामरुन (२८०), ८. अष्ट्रेलिया (२७५), ९. चीन (२४१), १०. काङ्गो (२१६) ११. जायेर (२१०), १२. ब्राजिल (२००), १३. फिलिपिन्स (१८०), १४. मलेसिया (१४७), १५. (क्यानाडा १४५) १६. सुडान (१३४), १७. चाड (१३३), १८. रसिया (१२९), १९. तान्जानिया (१२८), २०. नेपाल (१२५), २१. भानुवाटु (११५), २२. म्यानमार (बर्मा) (११३) २३. भियतनाम (१०४) । यी २३ देशमा कुल ५,९८९ भाषा बोलिन्छन् ।)
४. भाषा र मातृभाषामा के फरक छ ?
   सामान्य रूपमा हेर्दा भाषा र मातृभाषा एउटै हो तर सुक्ष्म रूपमा हेर्दा केही फरक देखिन्छ–
(क) मातृभाषाको निश्चित थातथलो हुन्छ, निश्चित भूभागमा बोलिन्छन् तर भाषाले आफ्नो थाकथलो गुमाइसकेको हुन्छ अनि भाषिक क्षेत्र विस्तार भइसकेको हुन्छ।
(ख) मातृभाषामा स्थानीय ज्ञानविज्ञान र माटोको सुगन्ध पाइन्छ, यसले जातिको पहिचान बोकेको हुन्छ तर भाषाले स्थानीयता, मौलिकता, पहिचान र माटोको सुगन्ध सवै गुमाइसकेको हुन्छ।
(ग) मातृभाषा कुनै जाति वा समुदायमा सिमित हुन्छ तर भाषा एकभन्दा धेरै जातजाति र समुदायले बोल्ने गर्दछन्। भाषाका वक्ता कुनै एउटा जात÷जाति वा समुदाय मात्र हुँदैन। भाषा कुनै एक समुदायको मात्र मातृभाषा रहदैन।
तामाङ वा लिम्बू भाषा तामाङ र लिम्बू जातिको भाषा हो तर नेपाली वा हिन्दी भाषा कुनै जातजाति वा समुदायको मात्र भाषा होइन। तामाङ भाषाको थाकथलो छ तर नेपाली भाषाको थाकथलो देखाउन सकिन्न। यसले आफ्नो स्थानीयता गुमाइसकेको छ। सामान्य बोलचालीमा मातृभाषालाई पनि भाषा नै भन्ने चलन तर योजना बनाउने र कार्यान्वयनको बेलामा मात्र मातृभाषाको प्रशंग चल्छ। 
५. मातृभाषा भनेको के हो ?
   भाषावैज्ञानिकहरू बच्चाले बोल्न जानेका वा सिकेका पहिलो भाषालाई ‘मातृभाषा’ भन्दछन् अर्थात् बच्चाले बोल्न थालेको पहिलो भाषा नै मातृभाषा हो। तर भाषिक मानवअधिकारकर्मीहरू आफ्ना जाति वा समुदायको भाषा पनि मातृभाषा हो भन्छन्। अर्को एउटा मत पनि पाइन्छ। जुन भाषा राम्रोसँग जान्दछ र जुन भाषामा कार्यक्षमता सहज हुन्छ त्यो उसको मातृभाषा हो।     भाषा अधिकारकर्मी टोभे स्कुटनाब–काङ्गास र रोवर्ट फिलिप्सन्स (१९९५ः३६०) ले चारओटा आधारमा मातृभाषाको परिभाषा प्रस्तुत गरेका छन्।
   मातृभाषाको परिभाषा
१. उत्पत्ति(मूल)को आधारमा – सबैभन्दा पहिले सिकेको भाषा
२. पहिचानको आधारमा – (क) आन्तरिक (क) स्वयम्ले मेरो मातृभाषा हो भनेर पहिचान गरेको भाषा । (ख) वाह्य(ख) त्यो उसको मातभाषा हो भनेर अरूले पहिचान गरेको भाषा ।
३. सक्षमताको आधारमा – आफुले राम्रोसँग जानेका भाषा(हरू)
४. कार्यको आधारमा – आफुले धेरै प्रयोग गर्ने गरेका भाषा(हरू)
स्रोतः लिङ्ग्युस्टिक ह्युम्यान राइन्टस्ः ओभरकमिङ लिङ्ग्युस्टिक डिस्क्रिमिनेसन (१९९५ः३६०)
     माथिको परिभाषा अनुसार बच्चाले सबैभन्दा पहिले सिकेका भाषा नै मातृभाषा हो। यसका साथै वक्ता स्वयमले दावी गर्ने गरेको भाषा र अरूहरूले पहिचान गरिदिएको भाषा पनि मातृभाषा हो। उदाहरणको लागि तामाङहरूले आफुले बोल्ने भाषा तामाङ भाषा हो भने छिमेकीहरूले पनि उनीहरूले बोल्ने भाषालाई तामाङ भाषा नै भनेका हुन्छन्। अनि आफुले राम्रोसँग जानेको र प्रयोग गर्ने गरेको भाषा पनि मातृभाषा हुन् भनिएको छ। सामान्यतः मानिसले आफ्नो उत्पत्ति र पहिचानको आधारमा मातृभाषा किटान गरेको हुन्छ।
६. पहिलो भाषा र दोस्रो भाषा भनेको के हो नि ?
    बच्चाले सबैभन्दा पहिलो बोल्न सिकेका भाषालाई भाषावैज्ञानिकहरु ‘पहिलो भाषा’ भन्दछन् अर्थात् बच्चाले बोल्न थालेको भाषा नै पहिलो भाषा हो। बालकले क्रमशः आफ्नो परिवेशको भाषा पनि सिक्दछ। पछि सिकेका भाषालाई दोस्रो भाषा भनिन्छ। दोस्रो भाषा एक भन्दा धेरै हुन सक्दछ। उदाहरणको लागि मैले आफ्नो गाउँको विद्यालयमा गएपछि नेपाली भाषा जानेँ। भारतको पश्चिम बंगालको कोलकातामा अध्ययनको क्रममा दशवर्ष बस्दा कक्षाकोठामा हिन्दी भाषाको माध्यामबाट पढाइ हुन्थ्यो, बंगाली भाषा हाटबजार र स्थानीय भाषा थियो, त्यो पनि जानेँ। मेरा साथीहरु मैथिली, भोजपुरी, अवधी र उर्दू भाषी थिए। ती भाषा पनि संगतले जानेँ। यी सबै मेरा दोस्रो भाषा हुन्। दोस्रो भाषा क्रमशः बढदै पनि छन्। शिक्षा क्षेत्रमा पहिलो भाषा, दोस्रो भाषा र शास्त्रीय भाषाको चर्चा हुन्छ। संस्कृत, पाली, तिब्बती, ल्याटिन, अरेबिक आदि शास्त्रीय भाषा (Classical Language) हुन्।
७. प्रत्येक जातिको आआफ्नै मातृभाषा हुन्छ ?
   प्रत्येक जातिको आफ्नै मातृभाषा नहुन पनि सक्दछ। जाति र भाषाको अन्तरसम्वन्धबारे तीन ओटा सिद्धान्त देखिएको छ –
(१) एक जाति एक भाषा (उदा. तामाङ, लिम्बु आदि)
(२) एक जाति धेरै भाषा (उदा. मगर, यादव आदि) अनि
(३) धेरै जात÷जाति एक भाषा (नेवार, मैथिली, नेपाली आदि)।
    नेपालमा माथि उल्लेख गरिएका कुनै एउटा मात्र सिद्धान्त लागू हुन सक्दैन। तामाङ, गुरुङ, लिम्बु, धिमाल, शेर्पा, थामी, चेपाङ आदि भोट–बर्मेली परिवारका आदिवासी जनजातिका आआफ्नै बेग्लाबेग्लै मातृभाषा छन्। तामाङ भनेको जाति पनि हो र भाषा पनि हो। लिम्बु जाति पनि हो र भाषा पनि। यसबाट एक जाति एक भाषाको सिद्धान्त स्थापित हुन्छ।
यादवहरूको मातृभाषा एउटै छैन। जनकपुर क्षेत्रका यादवहरूको मातृभाषा मैथिली हो भने वीरगञ्ज क्षेत्रका यादवहरूको मातृभाषा भोजपुरी अनि कपिलवस्तु क्षेत्रका यादवहरूको मातृभाषा अवधी हो। कतिपय यावदहरूले बज्जिका भाषा पनि बोदछन्। यसबाट नेपालका यादवहरूका तीन भन्दा धेरै मातृभाषा रहेछन् भन्ने देखिन्छ। मगरहरू पनि ढुट, खाम (पाङ) र काइके गरी तीन ओटा मातृभाषा बोल्दछन्। यस तथ्यबाट एक जाति धेरै भाषाको सिद्धान्त प्रतिपादन हुन्छ।
नेपाली, मैथिली, भोजपुरी, अवधी आदि भारोपेली भाषा धेरै जात÷जाति र समुदायले बोल्दछन्। नेपाली भाषा बाहुन, क्षेत्री, दशनामी र दलित समुदायले बोल्दछन्। नेवार जाति होइन भाषिक समुदाय हो। नेवारभित्र धेरै जात÷जाति र धार्मिक समुदाय छन्। यसबाट एउटा भाषा धेरै समुदायले बोल्दछन् भन्ने सिद्धान्त प्रतिपादन हुन्छ।
८. मातृभाषा किन महत्वपूर्ण हुन्छ ?
   मातृभाषाले स्थानीय मौलिक संस्कृति र माटोको सुगन्ध बोकेको हुन्छ। स्थानीय ज्ञानविज्ञानका स्रोत पनि मातृभाषा नै हो। स्थानीय सामाजिक, सांस्कृतिक, भौगोलिक तथा वातावरणीय परिवेशको ज्ञानविज्ञान पनि मातृभाषामा अभिव्यक्त हुन्छ। आदिवासीका लागि मातृभाषा जातीय पहिचान र संस्कृतिका वाहक पनि हो। उदाहरणको लागि नेपालीमा ‘जुका’ र अङ्ग्रेजीमा ‘लिच’ (Leech) शब्दको लागि तामाङ भाषामा तीन शब्द छन्– ‘म्लित्’, ‘तिबात्’ र ‘ताङ्बात्’ (तिमाले भाषिकामा म्लि, तिबाइ र ताङबाइ भन्दछ)। ‘म्लित्’ शब्दले नाकमा पस्ने जुका जनाउँछ, ‘तिबत्’ले खुट्टामा टोक्ने जुका बुझाउँछ र र ‘ताङ्बात्’ले टाउकोतिर झर्ने ठुलो खाले जुका बुझाउँछ। यी शब्दले भूगोलको उचाइको पनि प्रतिनिधित्व गरेको छ। ‘म्लित्’ गर्मी भूक्षेत्रमा, ‘तिबत्’ जाडो हुने भूक्षेत्रमा र ‘ताङ्बात्’ हिउँ पर्ने लेकाली क्षेत्रमा पाइन्छन्। यस प्रकारका ज्ञान नेपाली शब्द जुका र अङ्ग्रेजी शब्द लिचले बोक्दैन।
   यसै गरी भोट–बर्मेली भाषाहरूमा दिशाबोध गराउने सर्वनाम पाइन्छ। नेपाली भाषाका ‘त्यो’ शब्दको लागि तामाङ भाषामा तोजा, माजा, केजा, होजा जस्ता सर्वनामको प्रयोग हुन्छ। यी शब्दहरूले स्थानका साथसाथै भौगोलिक क्षेत्र र इतिहास पनि सङ्केत गरेको हुन्छ। यस्तै कुलुङ भाषामा काटनु शब्दको १८ प्रकारका शब्दावली छन्। यो नै भाषामा निहित मौलिक ज्ञानविज्ञान हो।
   तामाङ लोकसाहित्यमा मातृभाषालाई निकै महत्व दिएको छ। तामाङ लोकसाहित्यमा मातृभाषाको महत्वलाई निम्न शब्दमा दर्साएका छन्–
चिनियाभोटेनेवारी,
तामाङखम्बुहोल्माली
बोल्छन् आफ्नै भाषाले
भाषा त पूर्खाको आशिर्वाद
भाषा त देशको गहना हो
आफ्नो भाषा न छोड्नोस्
हराउँछ ताम्बाफैलिन्छ पाप
सन्तानधर्म सब जान्छ
अरूले हामीलाई के भन्लान्
आफ्नो भाषालाई नछोडौँ
चिताएको पुग्नेछ ।
– सन्तवीर लामा, ताम्बा काइतेन व्हाइ रिमठिम (१९५७ः२६)
    तामाङहरू आफ्नो मातृभाषालाई पूर्खाको आशिर्वाद ठान्दछन्, देशकै गहना मान्दछन्। उनीहरूले मातृभाषा छोडेमा आफ्नो जातीय पहिचान गुम्ने र मातृभाषालाई बचाइ राखेमा चिताएको पुग्ने अवधारणालाई स्थापित गरेकाछन्। यसका साथै भाषामा संस्कृति, धर्म, सन्तानका साथै लोकलाज पनि जोडिएको हुन्छ भन्ने जीवनदर्शन पनि स्थापित गरिएको प्रस्टै देखिन्छ। यसबाट तामाङका पूर्खाले मातृभाषालाई निकै महत्वका साथ हेरेका रहेछन् भन्ने पुष्टि हुन्छ।
   यसै गरी अर्को एउटा लोककवितामा भाषालाई देश र समाजभित्र रहिरहने महत्वपूर्ण सम्पदाको रूपमा पनि हेरिएको छ –
आफ्नो धर्मआफ्नो ग्रन्थ
आफ्नो किपटसंस्कृति र भाषा
आफ्नै देशभित्र रहन्छ
आफ्नै समाजमा मिल्दछ ।
       – सन्तवीर लामाताम्बा काइतेन व्हाइ रिमठिम (१९५७ः३१)
    यसै गरी केन्या (अफ्रिका) का किप्लाङात चेरुइयोत (२००७) ले मातृभाषालाई संस्कृतिका वाहक मानेका छन्– ‘भाषा हराउनु भनेको संस्कृति हराउनु हो र संस्कृति हराउनु भनेको अमूल्य ज्ञान पनि लोप भएर जानु हो।’ उनले थपेका छन् – ‘मानिस र समुदायका पूर्खाले आर्जन गरेका ज्ञान, बुद्धि र परम्परागत स्थानीय नामलाई पुस्तान्तरण गरी निरन्तर बचाइ राख्ने सबैभन्दा शसक्त आधिकारिक माध्यम मातृभाषा नै हो।’ ग्लोभिया एन्जाल्डना (१९८७) ले जातीय पहिचान र भाषिक पहिचानलाई एउटै सिक्काका दुइ पाटा हुन् भनेकी छिन्।
   डा. हर्क गुरुङ (२००५ः१) ले ‘जनजातिको पहिचानको आधार आफ्नै मातृभाषा हो’ भनेका छन् अनि प्राज्ञ वैरागी काइँला (२०६२ः६)ले ‘जाति र भाषालाई अलग गरेर हेर्न सकिँदैन’ भनेका छन्।
यसै कारणले संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले मातृभाषा दिवस मनाउन थालेको छ। १९९९ मा सम्पन्न युनेस्कोको महासभाको ३० औं सत्रले प्रत्येक वर्षको फेब्रवरी २१ का दिन विश्वभरि नै मातृभाषा दिवस मनाउने निर्णय ग¥यो। यसै निर्णय अनुसार युनेस्कोले २००० इ. मा पहिलो पल्ट अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको थियो। यस संस्थाले मातृभाषाको संरक्षण र विकासमा जोड दिन्छ। वास्तवमा युनेस्कोले मातृभाषा दिवस मनाउन आव्हान गर्नथाले पछि नेपालमा पनि भाषिक चेतमा वृद्धि भएको छ।
९. मातृभाषालाई कसरी बचाउन सकिन्छ ?
   मातृभाषाको संरक्षण गरिएन भने भाषिक समुदायले लोकतन्त्रको उपभोग गर्न सक्दैनन्, सामाजिक न्याय पाउन सक्दैनन्। यस सम्वन्धमा डा. टोभे स्कुटनाब–काङगास् र डा. रोवट फिलिप्सन् (२०००) ले लेखेका छन्– भाषिक समुदायलाई भाषिक समानता दिइन भने उनीहरूको (१) राजनीतिक प्रतिनिधित्व उचितढंगले हुनसक्दैन, (२) उचित न्याय पाउने अवसर गुम्छ (३) शिक्षामा पहुँच हँुदैन (४) सूचनामा पहुँच हुदैन (५) लोकसेवामा पहुँच हुदैंन (६) वाक स्वतन्त्रता कुष्ठित हुन्छ (७) स्थानीय प्रशासनमा भाषाको प्रयोग हुदैन र (८) साँस्कृतिक सम्पदाको उचित संरक्षण हुन सक्दैन। यसरी कुनै मातृभाषाले सामाजिक न्याय नपाउँदा उसले सबै थोक गुमाउँछ।
   मेरो विचारमा मातृभाषालाई बचाउने प्रमुख आधार हो – पुस्तान्तरण। नयाँ पुस्तामा पुस्तान्तरण हुनसकेन भने मातृभाषा बाँच्न सक्दैन। यसर्थ सर्वप्रथम मातृभाषा भान्छाकोठामा बोलिनु पर्दछ, परिवारजन, आफ्न्तजन र नातागोतासँग प्रयोग गरिनु पर्दछ। धार्मिक तथा सांस्कृतिक सन्दर्भ र क्रियाकलापहरूमा प्रयोग गर्नु पर्दछ।
लोकसाहित्य सङ्कलनका साथै लेख्य साहित्यको सिर्जना गरिनु पर्दछ। हेक्का राख्नु पर्ने कुरा के हो भने भाषा प्रयोगमा बाँच्दछ। शब्दकोश र व्याकरण लेख्दैमा भाषा बाँच्दैन।
   यसका साथै मातृभाषालाई आमसञ्चारको माध्यम (रेडियो, एफएम, टिभी, छापा, एसएमएस, फेसबुक आदि) मा प्रयोग विस्तार गरिनु पर्दछ। बालबालिकालाई उनीहरूको मातृभाषाको माध्यमबाट शिक्षा दिइनु पर्दछ। सम्भव भएसम्म स्थानीय तहमा प्रशासनको भाषा बनाइनु पर्दछ। न्यायप्रणालीमा पनि मातृभाषाको प्रयोगलाई विस्तार गरिनु पर्दछ। अत्यन्तै लोपोन्मुख भाषालाई पुस्तान्तरण गर्नका साथै शब्दकोश, व्याकरण तयार गरिनुका साथै अडियो, अडियो–भिडियो आदिमा पनि डकुमेन्टेसन गरिनु पर्दछ।
   भाषा बचाउने अर्को दिगो उपाय हो– साहित्य सिर्जना। लेख्य साहित्य सिर्जनामा मूलतः युवा पुस्तकाहरू लाग्नु आवश्यक छ। लोकसाहित्यले लोकजीवनको अभिव्यक्ति र अनुभूति बोकेको हुन्छ। यसर्थ लोकसाहित्यको सङ्कलन र सम्पादन गरिनु पर्दछ। बालशिक्षा प्रारम्भ गर्न पनि साहित्य चाहिन्छ भने स्नातकोत्तर तहको अध्ययन अध्यापन गर्न पनि साहित्यले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यसर्थ मातृभाषीहरू आफ्नो भाषामा साहित्य सिर्जनातर्फ सक्रियताका साथ लाग्नु आवश्यक छ।
    मातृभाषीहरूले आफ्नो मातृभाषाप्रति सवैले गर्व गर्न जान्नु पर्दछ। जातीय पहिचान र सांस्कृतिक मूल्य–मान्यता बचाइ राख्ने हुनाले जीवनयापनको हरेक क्षेत्रमा घरभित्र र घरबाहिर जहाँ जहिले सम्भव छ सगर्व आफ्नो मातृभाषा प्रयोग गर्नु पर्दछ। अन्त्यमा अमेरिकी आदिवासी डारिल बेब विल्सनको विचार राख्न चाहन्छु–
    "We must know the white [man's] language to survive in this world. But we must know our language to survive forever." (यो संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (मान्छेको) भाषा जान्नु पर्दछ तर सर्धैसधैं बाँच्नका लागि आफ्नै भाषा जान्नु पर्दछ ।)
   यस भनाइलाई मनन गर्नु सक्नु भयो भने तपाई आफ्नो पहिचानसहित बाँच्न सक्नु हुन्छ। धन्यवाद।

अमृत योन्जन–तामाङ
पुरानो वानेश्वरहाइट, काठमाडौं
जेठ २०७०

No comments:

Post a Comment