Sunday, March 30, 2014

धीरेन्द्रकी प्रेमिकाको निहुँमा मलाई खाल्डोमा हालियो : पूर्वआइजिपी स्व. डिबी लामा

पूर्वआइजिपी तथा पूर्व सहायकमन्त्री दिलबहादुर लामा (डिबी) को चैत १२ गते बुधबार अचानक निधन भयो । नुवाकोटको गेर्खुमा जन्मिएका उनको गाउँ जाने क्रममै निधन भएको हो । ८४ वर्षको उमेरमा निधन भएका उनको शुक्रबार दाहसंस्कार गरिएको छ ।

१५ वर्षकै उमेरमा ब्रिटिस सेनामा भर्ना भई बर्माको युद्ध लडेका उनी त्यसपछि राणाशासनविरुद्ध सशस्त्र युद्धमा संलग्न भए । २००७ मा प्रजातन्त्रको आगमनसँगै उनी तत्कालीन सदर नेपाल आर्मड कन्सटेबुलरीको सुवेदार भए । पछि सो फोर्स नेपाल प्रहरीमा गाभियो र उनी ०३९ मा प्रहरी महानिरीक्षक भए । नेपाल प्रहरीको आधुनिकिकरण, भौतिक संरचना निर्माण, साङ्गठनिक संरचनामा परिवर्तन लगायत महत्वपूर्ण कार्यहरु उनकै पालामा भएका थिए । चार वर्ष महानिरीक्षकबाट अवकाश पाएलगत्तै उनी जेल परे । ०४६ को राजनीतिक परिवर्तनसँगै जेलमुक्त भएपछि राजनीतिमा लागे र सहायकमन्त्रीसमेत भए । भूतपूर्व प्रहरी संगठनका संस्थापक अध्यक्ष  उनी हाल पनि अध्यक्षकै रुपमा सक्रिए थिए ।  जेलबाट छुटेपछि लामाले आत्मकथा पनि लेखेका छन् । लामाले आत्मकथामा आफूलाई प्रहरी र सेनाले बर्बर यातना दिएको उल्लेख गरेका छन् । उनको  किताब 'संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू' बाट लिइएको एक अंश यस्तो छ–

सरकारी सेवाबाट अवकाश पाएको केही महिनापछि एक दिन बेलुकीपख सादा पोसाकमा प्रहरी र गुप्तचरले ठमेलस्थित मेरो पुरानो घर कम्पाउन्डवरिपरि बारम्बार चक्कर लगाएर निगरानी गरेको थाहा भयो । मैले नै चार्ज बुझाएका आइजिपी हेमबहादुर सिंह र तत्कालीन मध्यक्षेत्र डिआइजी रणबहादुर चन्दसँग बुझ्न उनीहरूले केही थाहा नभएको बताए । वास्तविकता के रहेछ भनी फेरि मैले तत्कालीन गृहसचिव वीरबहादुर शाहीसँग सम्पर्क राख्दा उनले पनि यस विषयमा केही थाहा नभएजस्तो गरे ।

तर, सादा पोसाकका प्रहरीले भने म र मेरो घर कम्पाउन्डको निगरानी झन्झन् बढाएर गर्न लागेको मैले अनुभव गरेँ ।

यत्तिकैमा मैले आइजिपीबाट अवकाश पाएको ठीक एक वर्षपछि ०४४ असार १७ गते बिहान, मलाई पूर्वजानकारी र सूचनाविना लिखित पुर्जीसमेत नदिई तत्कालीन बागमती अञ्चल एसपी अच्युतप्रसाद चालिसेको नेतृत्वमा आएका ६०/७० जना प्रहरी अधिकृत र जवानले मेरो घर कम्पाउन्ड घेराउ गरी खानतलासी लिए । त्यहाँ आएका अधिकांश अधिकृत मेरो कार्यकालमा कुनै न कुनै विभागीय कारबाहीमा परेकाहरू थिए ।

बिहान त्यस्तै ९ बजेदेखि उनीहरूले मेरो घर खानतलासी सुरु गरेको सो क्रम रातको १० बजेसम्म चालू रह्यो । खानतलासी गर्दा पूर्वाग्रहित प्रहरी अधिकृतले घरका महिला सदस्यहरूप्रति अपशब्द र अभद्र व्यवहार गर्दै सामान मनपरी रूपमा फालिदिएका थिए । घरका भित्ताहरू ठाउँ–ठाउँमा फोडी भताभुंग पारिदिए ।

महेन्द्र पुलिस क्लबमा सोधपुछ र केरकार

त्यस दिनभर नै खानतलासी गर्नमा सहभागी एसपी अच्युत चालिसेसहितको टोलीले मलाई र मेरी जेठी श्रीमती वसुन्धरालाई रातको १० बजे महेन्द्र पुलिस क्लबमा केही कुराको सोधपुछ गर्नुछ भनी लिएर गए । त्यहाँ सोधपुछ र छानबिनका लागि त्यसैदिन एउटा छानबिन टोली गठन गरिएको रहेछ । जसमा मध्यक्षेत्रीय प्रहरी डिआइजी रणबहादुर चन्द, नोकरीबाट बर्खास्त भइसकेका एसपी द्वारिकाबहादुर श्रेष्ठ (जसलाई त्यही दिन पुन: नियुक्ति दिई उक्त टोलीमा समावेश गरिएको), एसपी रूपकराज शर्मा, विशेष प्रहरी गोपालबहादुर विष्ट तथा गुप्तचर विभागका अन्य कर्मचारी सम्मिलित थिए । प्रहरी टोलीमा भएका रुपकराज शर्माबाहेक डिआइजी रणबहादुर चन्द र एसपी द्वारिकाबहादुर श्रेष्ठहरू मेरो कार्यकालमा विभागीय कारबाहीमा परेका थिए । म र मेरी श्रीमतीलाई पुलिस भ्यानमा लिएर त्यहाँ पुर्‍याउँदा त उनीहरू पर्खेर बसेका रहेछन् । छानबिन टोलीको सदस्य देख्दै मलाई थाहा भयो कि मप्रति यिनीहरूको राम्रो नियत छैन र मलाई अवश्य पनि विभिन्नथरीका दु:ख दिनेछन् ।

त्यस रातभर महेन्द्र पुलिस क्लबमा डिआइजी रणबहादुर चन्दलगायतका अधिकृतले चाहिँदा–नचाहिँदा प्रश्न गरिरहे । पूरा रात त्यहीँ बिताएपछि बिहानीपख हामीलाई प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) महाराजगञ्ज लगेर राखे । सात दिनसम्म बिहान महेन्द्र पुलिस क्लब लैजाने अनि राति अबेर तालिम केन्द्र फिर्ता ल्याउने क्रम चलिरह्यो ।

तथाकथित छानबिन टोलीले महेन्द्र पुलिस क्लबमा सात दिनसम्म हामीविरुद्ध गरेका कठोर केरकारको क्रममा विशेष गरी राजा वीरेन्द्रका भाइ धीरेन्द्र र उहाँका अंगरक्षक कर्णेल भरत गुरुङमाथि केन्द्रित भई ममाथि प्रश्न ओइरिन थाले । उनीहरूले विशेष गरी धीरेन्द्रले राखेकी विदेशी केटीलाई तैले कतिपटक भिसा दिइस् ? काठमाडौं आउँदा कहाँ–कहाँ बस्ने व्यवस्था गरिस् ?, विदेशीलाई किन भिसा दिइस् ? जस्ता प्रश्नहरू केरकार गरिरहे । यसका साथै धीरेन्द्रका अंगरक्षक भरत गुरुङसँग तेरो केकस्तो सम्बन्ध छ ? उनीहरूबारे के थाहा छ जस्ता प्रश्नहरू गरिरहे । मलाई पक्राउ गर्नुभन्दा केही दिनअगाडि कर्णेल भरत गुरुङलाई पनि पक्राउ गरी थुनामा राखेका थिए ।

मलाई दैनिक सशस्त्र प्रहरीको घेरामा बिहान सबैरै पुलिस क्लब ल्याउँथे भने राति अबेर भएपछि तालिम केन्द्र लैजान्थे, खाना घरबाट आउँथ्यो, तर खाना लिएर आउनेसँग भेट गर्न पाउँदिनथेँ र दिँदैनथे । ममाथि बारम्बार अपशब्द भने प्रयोग गरी छिटो खा भन्ने गर्थे । सात दिनअघि म र मेरी श्रीमती वसुन्धरालाई ल्याएपछि बेग्लाबेग्लै राखी केरकार गर्ने भएको हुँदा यो अवस्थासम्म वसुन्धरासँग मेरो सम्पर्क हुन सकेको थिएन । उनलाई कहाँ राखेको थियो मलाई थाहा थिएन । एक्कासी † महेन्द्र पुलिस क्लबमा हामीलाई ल्याएको सातौँ दिनमा फेरि कान्छी श्रीमती सावित्री लामालाई पनि विनापुर्जी पक्राउ गरी त्यहाँ ल्याएको थाहा पाएँ । त्यसवेलासम्म सावित्रीले नै घरमा कमसेकम बालबच्चाहरूसँग बसी रेखदेख गरिरहेकी थिइन् । त्यसैमा म भावविह्वल र दु:खित भएँ ।

सैनिक अनुसन्धान र बरफबागमा यातना

महेन्द्र पुलिस क्लबको सात दिनको कठोर केरकार र यातनापछि मलाई प्रहरीको भ्यानमा राखी लगे । वसुन्धरा र सावित्रीलाई चाहिँ कहाँ लगे मलाई थाहा थिएन । मैले सुरुमा पुलिस क्लबबाट मलाई कहाँ लिएर हिँडेको भनेर पुलिस कर्मचारीहरूलाई सोधेँ, तर उनीहरूले केही जवाफ दिएनन् । सायद उनीहरूलाई मसँग नबोल्न आदेश दिइएको हुनुपर्छ । एक छिनपछि मोटर सिंहदरबारको बरफबागअगाडि गएर रोकियो । त्यसवेला पानी झमझम परिरहेको थियो, मानौँ आकाश पनि भक्कानो फुटाई रोहिरहे जस्तो । मोटरबाट ओर्लिएपछि मात्र थाहा भयो, मलाई सिंहदरबारस्थित बरफबाग जाने साँगुरो बाटोबाट नेपाल गुप्तचर विभाग रहेको बरफबाग भवनको एउटा सानो कोठामा पुर्‍याइरहेको रहेछ । त्यहाँको कोठाका झयालहरू बाहिरबाटै काठको फलेक ठोकी बन्द गरिएको रहेछ । ढोकामा संगीन जडी बन्दुक बोकेका सैनिकले पहरा दिइरहेका थिए । मलाई त्यो कोठामा लगेर प्रहरीले सेनाको जिम्मा सुम्पिए ।

यतिखेर म स्मरण गर्छु, त्यहाँ बरफबागमा मलाई राखेको भवन एउटा सानो ढिस्कोमाथि अवस्थित छ । त्यसवेला मलाई राखिएको कोठाको ढोकामा मात्र नभई भवनको वरिपरि नै सेनाले पहरा दिइरहेका थिए । यसरी प्रहरी संगठनजस्तो निजामती प्रकृतिका सेवानिवृत्त कर्मचारी जसको साधारण नागरिकसरहको हैसियत मात्र भएकोलाई प्रहरीले पक्राउ गरी सोपछि सेनाको जिम्मा लगाउनु आश्चर्यजनक कुरो मानिन्छ । सामान्यतया सर्वसाधारण नागरिकलाई यसरी सेनाको जिम्मा लगाउनु भनेको संगीन कुरा हो, मामुली होइन । एक किसिमले सेनामा त कालोलाई सेतो र सेतोलाई कालोसमेत बनाइन्छ भन्ने मैले सुनेको थिएँ । सेनाको आफ्नै अलग ऐन, कानुन, नीति, नियम र परिपाटी हुन्छ । बाहिरको कुनै कानुन वा प्रशासनले त्यहाँ केही गर्न सक्दैन र सैनिक काम कारबाहीमा बाहिरबाट कसैको हस्तक्षेप चल्न सक्दैन ।

बरफबागमा ल्याइएको भोलिपल्ट बिहानै छानबिन टोलीका सदस्यहरूमध्येका सैनिक अधिकृतसमेतका व्यक्तिहरूले मलाई फेरि नानाथरीका प्रश्नहरू राखी केरकार गर्न थाले । यो क्रम केही दिनसम्म चलिरह्यो । अकस्मात् † एकदिन झुलुक्क त्यहाँ वसुन्धरालाई देख्दा मलाई झनै दु:ख लाग्यो । मैले त उनीहरूलाई छाडिसकेका होलान् र घरमा गई उनीहरूले बालबच्चाको हेरविचार गरिरहेका होलान् भन्ने सोचेको थिएँ । मलाई केरकार गर्ने कोठामा लाँदै गर्दा अर्को कोठाबाट वसुन्धराले देखेर ‘म पनि यहीँ छु’ भन्दा पो थाहा भयो कि उनीहरूलाई पनि त्यही दिन बरफबागमा ल्याएको रहेछ । त्यसको त्यस्तै एक सातापछि सावित्रीलाई पनि त्यहीँ देखेँ । मलाई सोधपुछको क्रममा यताउता लैजाँदा, यसो मौका पारेर सावित्रीले भनिन्, उनीहरूलाई पनि महेन्द्र पुलिस क्लबबाट सोही दिन त्यहाँ ल्याई मलाईजस्तै झ्यालहरूमा बाहिरबाट फलेक ठोकी अँध्यारो बनाएको कोठामा सेनाको निगरानीमा राखेको रहेछ । त्यसबेला सेनामा महिला सिपाही नभएकाले भैरवनाथ गणबाट प्यारासुट पट्याउन राखेका महिलालाई तैनाथ गरी उनीहरूलाई राखिएको कोठाको ढोकामा पहरा दिन लगाइएको रहेछ ।

एकाकी सन्नाटापूर्ण दिनरात बिताएको एक सातापछि नभन्दै मेरो अनुमान ठीकै भएझैँ लाग्यो । किनकि सातौँ दिनको बिहान १० बजे मलाई फेरि केरकार गर्ने कोठामा लगियो । त्यहाँ टोलीका सदस्यहरू : डिआइजी रणबहादुर चन्द, एपसी द्वारिकाबहादुर श्रेष्ठ, विशेष प्रहरीका डिएसपी गोपाल विष्ट र रूपक शर्मा अनि सेनाका कर्णेल गीर्वाणविक्रम शाह पहिलेदेखि आएर कुर्सीमा बसिरहेका रहेछन् । रणबहादुर चन्दको आँखाको इसारामा रूपक शर्मा कोठाबाट बाहिर गई सर्प राख्ने पेठारी बोकेको मधिसेलाई लिएर तुरुन्तै भित्र आए । अब भने मेरो मुटुले झन् ढ्याङ्ग्रो ठोक्न थाल्यो, सर्प भनेपछि बाल्यकादेखिनै म असाध्यै डराउँथे । यतिसम्म कि कसैले सर्प मात्रै भने पनि म डरले थुरथुर हुन्थेँ र सिनेमाको पर्दामा सर्प देखेँ भने पनि मेरो जिउ सिरिंग भई डरले जुरुक्क खुट्टा उचाल्थेँ । थर्ड डिग्रीका लागि विभिन्न यातना दिएर पनि केही सीप नलागेपछि मलाई कायल गराउन फेरि यो (म) सर्पदेखि डराउँछ भन्ने थाहा पाएर त्यससम्बन्धी एउटा नौलो र भयानक नाटक गर्ने कार्यक्रम बनाएका रहेछन् ।

त्यसरी रूपक शर्माले सपेरालाई भित्र लिएर आउनासाथ रणबहादुर चन्दले ‘ल साँचो भन्नु पर्‍यो, होइन भने सर्प लगाइन्छ’ भनेर रूखो स्वरले मलाई भनेका थिए । प्रत्युत्तरमा ‘मैले थाहा पाएका सबै कुरा भनेकै छु, थाहा नभएको कुरा कसरी भनूँ’ भन्नेबित्तिकै रणबहादुर चन्दको आँखाको इसारामा सपेराले झन्डै छ–सात हात लामो एउटा गोमन सर्प निकालेर मेरो शरीरमा लगाउन अगाडि बढ्यो । सर्प देख्नेबित्तिकै मेरो प्राणै जाला जस्तो भई शरीरभर करेन्ट लागेझैँ भएर आयो । डरले जोडसँग कराउँदै यताउता भागेँ । सपेराले एउटा हातमा गोमन सर्प बोकी मलाई लगाउन पछिपछि लखेट्दा अर्को हातमा बोकेको पेटारी खसी अर्को गोमन पनि बाहिर निस्किएर मतिर हान्निँदै आयो । त्यसपछि म त डरले भित्तामा टाँसिएर त्यहीँ बेहोस भई भुईंमा ड्याम्मै पछारिएछु । धेरै बेरपछि होस आई यसो आँखा खोलेर हेरेको त रणबहादुर चन्दले फेरि सर्प लगाउने धम्की दिइरहेका थिए । त्यसवेला मेरो होस आए पनि चेतना भने सुषुप्त नै रहेको थियो । म डरले बेस्सरी कराउँदा घाँटी सुकेर मेरो आवाज बाहिर आउन सकेको थिएन । म निरीह भई आततायीसामु विवश भई हेरि मात्र रहन सकेको थिएँ । उनीहरूले खुब दया देखाएझैँ गरी मेरो अर्धमूर्छित शरीलाई बोकेर कोठाको खाटमा राखेर बाहिर गए । यसरी दुई दिनसम्म सर्प लगाउने यो क्रम जारी रहेको थियो । मलाई लाग्दछ कि विश्वको अपराध विज्ञानमा अपराधीलाई कायल गराउन अनेक उपाय र विधिहरू होलान्, तर ममाथि चालिएको सर्प लगाउने यो विधिचाहिँ सायदै कहीँ होला ।

एक दिन यसो मौका छोपेर मैले वसुन्धरा र सावित्रीलाई सर्प लगाएर दु:ख दिएको कुरा सुनाएँ । उनीहरूले आँखाभरि आँसु लिएर आफूले थाहा पाएको कुरा बताए । सावित्रीलाई राखेको कोठाको झ्यालको एउटा सानो च्यापबाट मलाई राखेको भवनतिर आउने गोरेटो बाटो देखिँदो रहेछ, त्यहीँबाट रूपक शर्माले पेटारी बोकेको सपेरा लिएर केरकार गर्ने कोठामा लगेको उनीहरूले देखेका रहेछन् । एक छिनपछि म डरले भवनै थर्कने गरी कराएको दुवैले सुनेर केरकार गर्ने कोठातिर आउने प्रयास गर्दा गार्डले उनीहरूलाई हप्काएका पनि रहेछन् । त्यसपछि केही नलागी विवश भई आ–आफ्नो कोठामा रुँदै नानाथरी कल्पना गर्दे भगवान्सँग प्रार्थना गर्दै बसेछन् । उक्त घटनामा म बेहोस भई ढलेपछि मलाई त केही थाहा भएन, तर छानबिन टोलीका ती आततायी सदस्यहरूलाई पनि सर्पदेखि डर लाग्ने रहेछ भन्ने कुरा टोकरीबाट उम्कन पाएको सर्प यताउता जाँदा उनीहरूको पनि भागाभाग भएको रहेछ भन्ने कुरा पछि मैले सुनेको थिएँ ।

यसवेला मलाई पक्राउ गरिएको २०–२२ दिन भइसकेको थियो, बालबच्चाको चिन्ता, मैले पाएको शारीरिक र मानसिक यातनाले दिक्क भएर बरु प्राणै त्याग्ने भनी आत्महत्या गर्नेसमेत निर्णय गरेको थिएँ । तर, सुत्ने कोठाको खाटमा एउटा सतरन्जनबाहेक अरू केही पनि थिएन र चौबीसै घन्टा मेरो सामुन्ने संगीनसहित रहेको सेनाको कडा पहराले गर्दा आत्महत्या गर्न पनि सहज र सम्भव थिएन ।

घोडा क्याभलरीको केरकार

सोधपुछ, केरकार र यातनको क्रम चलिनै रहेको थियो । त्यत्तिकैमा एकदिन राति १० बजेतिर सशस्त्र सैनिकको घेरामा मलाई बरफबागबाट बाहिर निकालियो । सम्झिएँ सायद कतै यो बरफबागको हिरासत कोठाबाट बाहिर लान खोजिरहेका छन् । त्यसैले होला, मलाई बाहिर लैजानुअघि आँखामा पट्टी बाँधियो र त्यसमाथिबाट कपडाको खोलले ढाकियो । मेरो दुवै हातहरू बाँधी सिपाहीहरूले मोटरमा चढाए । हिँडेको केही क्षणमै मोटर टक्क अडियो, सिपाहीहरूले दुवै पाखुरामा समाई एक छिन पैदल हिँडाएपछि टाउकोमा ढाकिएको खोल र आँखाको पट्टी पनि खोलिदिए । सामुन्ने एउटा ठूलो सानदार बैठक कोठा देखेँ ।

२००७ सालको क्रान्तिको योद्धा भएकाले सोपछि आफू पनि त्यहाँ धेरै वर्षसम्म कार्यरत रहेको हुँदा त्यो ठाउँ ठम्याउन मलाई कत्ति पनि गाह्रो परेन । त्यो ठाउँ थियो, सिंहदरबार हाताभित्रको घोडा राख्ने क्याभलरी । त्यहाँ जर्नेल लक्ष्मणबहादुर सिंह (जसलाई एलसी पनि भन्ने गरिन्छ) लगायतका १०/१२ जना सैनिक अधिकृतहरू आएर बसेका रहेछन् । कान्छा अधिराजकुमार धीरेन्द्र सरकारका अंगरक्षक कर्णेल भरत गुरुङलाई पनि मलाईजस्तै सास्ती, यातना दिएका रहेछन् भन्ने कुरा उनको शारीरिक, मानसिक अवस्था र बोलाइले मैले अनुमान लगाउन सक्थेँ ।

मलाई त्यहाँ पुर्‍याएपछि हामी दुवै जनालाई आमनेसामने गराएर जर्नेल एलसीलगायतका सैनिक अधिकृतले तिमीहरूबीच ‘घनिष्ठता कत्तिको छ र दुईजना मिलेर धीरेन्द्र सरकारको मर्यादित नाम बेची कुन–कुन गलत काम गर्‍यौ, सरकारलाई किन गुमराह गराएको’ भनी घुमाईफिराई तिनै पुराना प्रश्नहरू बाम्बार सोधिरहे । मैले भरत गुरुङसँग मिलेर त्यस्तो केही काम गरेको छैन भनेँ, भरत गुरुङले पनि सोही कुरा भनिरहेका थिए । हामी दुवैको जवाफ उनीहरूलाई चित्त नबुझेपछि ‘ठोक सालेहरूलाई’ भनी सेनाका अधिकृतहरूले सिपाहीलाई आदेश दिए । त्यसपछि सिपाहीहरूले हामीलाई पैतालामा हिर्काउन सुरु गरे । लगातारको पिटाइले हाम्रो पैतालाबाट रगत बग्न थालेको हुँदा खुट्टा टेकी उभिन नसकेपछि हामी दुवैजनालाई घुँडा टेकाएर राखे । हामीलाई अझ ज्यादै पीडा होस् भनी हाम्रो घुँडा राख्ने ठाउँमा पनि इँटाका स–साना टुक्राहरू छरेर राखेका थिए । यसरी त्यो रात अनि अर्को रात म र भरत गुरुङले धेरै चुटाइ, लात्ती, मुक्का र थप्पड खायौँ कि यसबारेको यथार्थ वर्णन मेरो जीवनीमा लेखी साध्य छैन ।

अर्को बिहानीपख उक्त क्याभलरीबाट मलाई फेरि मोटर चढाई बरफबागको त्यही पहिलाको सानो कालकोठरीमा ल्याएर राखे । कर्णेल भरत गुरुङलाई भने कहाँ लगे, के गरे त्यसवेला मलाई केही थाहा भएन ।

जंगलको त्रासदीपूर्ण पहिलो क्षण

म र मेरो परिवारलाई पक्राउ गरिएपछि सुरुमा महेन्द्र पुलिस क्लब, त्यसपछि क्रमश: सिंहदरबारको बरफबाग हुँदै सैनिक क्याभलरीमा धेरै दिनदेखि भएका केरकार र यातनाबाट रातभरि अनिँदो रहँदा मेरो शरीर सिथिल अवस्थामा पुगिसकेको थियो । एकरात चाहिँ कसोकसो धेरै थकाई र यातनाको पीडाले गर्दा मेरो आँखालाई निद्राले झपक्कै छोपेको रहेछ । त्यसै मध्यरात करिब ११–१२ बजेतिर कसैले मलाई यसो घच्घच्याएको जस्तो लागेर बिउँझिँदा केही सैनिकहरू मलाई उठाउन आएका रहेछन् । उनीहरूले मलाई इसाराले चुपचाप जुत्ता र लुगा लगाउन भने । मलाई लाग्यो, वसुन्धरा र सावित्रीले थाहा नपाऊन् भनेर आवाज ननिकाली इसाराले अह्राएको हुनुपर्छ । कपडा लगाई तयार भएपछि अघिपछि संगीनसहित हतियार तेस्र्याएका सिपाहीहरूको घेरामा राखी बफरबागको कोठाबाट तल बाटोमा खडा गरी राखेको आर्मीको एम्बुलेन्समा चढाए । गाडीको सिटमा बस्न खोज्दा सैनिकहरूले ‘होइन तल बस्’ भनेपछि म भुइँमा बसेँ । त्यसै समयमा मलाई आँखामा पट्टी बाँधी हात पछाडि लगेर बाँधे अनि घाँटीसम्म पुग्नेगरी कालो कपडाको खोल लगाइदिए ताकि मैले बाहिर कता लान लागेको रहेछ देख्न नसकूँ । रातको अँध्यारो भए पनि बाहिरबाट कसैले मलाई नदेखोस् भनेर सिटमा बस्न नदिई भुईंमा बस्न लगाएकाले पनि ‘आज मलाई कतै मान त लगिरहेका छैनन्’ भन्ने ठानेँ ।

करिब एकघन्टा जति एउटै रफ्तारमा गुडिरहेको एम्बुलेन्स गाडी एक ठाउँमा पुगेपछि रोकियो, गाडीको ढोका खोलेर मलाई तल ओरालो र मेरा दुवै पाखुरा समाई वर्षात्को कारणले हिलो भएको अप्ठेरो बाटो हिँडाएर अज्ञात स्थलतिर लगे । एउटा निर्दिष्ट ठाउँमा पुगेपछि पाता फर्काइएकै अवस्थामा मलाई कुनै ठूलो थाम जस्तोमा बाँधे । आँखामा पट्टी भएकाले पाता फर्काएको हातको औँलाले यसो छामी हेर्दा कुनै ठूलो रूख भएको अड्कल लगाएँ । रुन र चिच्याउन खोजेँ तर, मुखबाट आवाजै आइरहेको थिएन । अनि लाचार भई भगवान्को नम जप्नुसिवाय त्यसवेला अर्को कुनै उपाय मसँग थिएन ।

एकपछि अर्को आफूलाई बाँधेको ठाउँमा नजिकै कोदालो र बेल्चाले खाल्डो खनेको आवाज आयो । सैनिकहरूको टीकाटिप्पणी सुनिन थाल्यो, ‘गहिराइ पुग्यो, तर लम्बाइ–चौडाइ पुगेन, अलिक खन, यताउति ताछ’ आदि आदि । एकछिनपछि त्यो कुराकानी पनि रोकियो सायद मलाई पुर्ने खाडल तयार भएछ भन्ने मैले ठानेँ ।

यत्तिकैमा मैले नदेखे पनि उही चिरपरिचित जर्नेल लक्ष्मणबहादुर सिंह (एलसी)को आवाज सुनेँ । उनको आवाजसँग म राम्ररी परिचित थिएँ किनभने म इन्सपेक्टर भएका वेला उनी सेनामा कप्तान थिए । राजा महेन्द्रको सवारी शिविरमा हामी सँगसँगै काम गरेका थियौँ । पछि पनि धेरै सरकारी कामहरूमा हामी साथै रही काम गर्ने मौका पाएका थियौँ । झन् बरफबागमा बस्ने छानबिन टोलीमा समेत उनी नै थिए ।

त्यसपछि एउटा कागज निकालिएको आवाज आयो । त्यो कागजको बेहोरा उही जर्नेल एलसीले पढेर सुनाएका थिए । त्यसवेला मेरो मनोदशा विचलित भएकाले मलाई सुनाइएको त्यो कागजको बेहोरा यतिखेर जस्ताको तस्तै उतार्न नसके पनि सम्झना भएसम्म मोटामोटी रूपमा यसप्रकार थियो, ‘श्री ५ महाराजाधिराज सरकारबाट तपाईं प्रहरी विभागको गरिमामय सर्वोच्च पदमा बहाल भइकन भ्रष्टाचार गरेकाले गोली ठोकी मारिदिनु भन्ने हुकुम प्रमांगी बक्स भएकाले सोबमोजिम आजका दिन तपाईंलाई गोली हानी मारिँदै छ । मर्नुअघि तपाईंको अन्तिम इच्छा भए भन्नुस् ।’ त्यस्तो हुकुम प्रमांगी पढेपछि एलसीले खोकेर आफ्नो गला सफा गरे । ‘त्यसो हो भने मेरो लास परिवारको जिम्मा लगाइदिनू, यही मेरो अन्तिम इच्छा हो’ भनी भनेँ । त्यसपछि जर्नेलले ‘यसलाई अब खाल्डोमा हाल्’ भनेपछि मलाई रूखमा बाँधिएको डोरी खोली आँखामा लगाइएको पट्टी र पछाडि बाँधिएको हातको डोरी केही नखोली सिपाहीहरूले उचालेर मलाई खाल्डोमा राखे । त्यसपछि साबेल र बेल्चा चलाएको आवाज साथसाथै मेरो वरिपरि माटो खसालेर मलाई पुर्न थालिएपछि मैले चिच्याएर भने, ‘गोली हानी मार्ने भनेको होइन र’ भन्दा ‘हो हो गोली हानी मार्ने हो’ भने । त्यसपछि कमान्डरले सिपाहीहरूलाई गोली भर् भन्ने आदेश दिएका थिए । सिपाहीहरूले चार–पाँचवटा बन्दुकमा गोली भरेको खटखटको आवाज सुनियो । मैले त्यसवेला मुटुमै लागोस् र एउटै गोलीले सजिलै मेरो प्राण जाओस् अनि मर्न सजिलो होस् भनी माटोभित्र रहेर पनि गोली भरेको आवाज आएतर्फ तन्किएर बायाँ छाती फुकाई गोलीको प्रतीक्षामा बसेँ ।

त्यसवेला मेरो मनले सोचेको कुरा अहिले पनि ताजै रूपमा सम्झना भइरहन्छ । ताक् भन्ने कमान्डरको आदेश आएपछि गोली चल्छ भनेर पर्खेर बसिरहेँ, तर कस्तो अचम्म गोली चलेन, चल्दै चलेन । हे भगवान् ! मृत्युदायी गोलीको कस्तो त्रासदीपूर्ण प्रतीक्षा ! यसवेला एकपल पनि मेरा लागि एकघन्टा जस्तो भइरहेको थियो । ताक् भन्ने आदेशपछि सिपाहीहरू पनि फायर गर् भन्ने आदेशको पर्खाइमा बसेका थिए । तर, गोली फायर भन्ने आदेश भएन, गोली चलेन, कस्तो मानसिक यातना, यहाँ लेखेर व्यक्त गरेर साध्य छैन । कोही कसैबाट अर्को आदेश आएको सुनिएन । तर, त्यो डरलाग्दो क्षणको १५/२० मिनेट जति पछि माटो पन्छाएर पाखुरामा समाई मलाई फेरि सिपाहीहरूले बाहिर निकाले । यसपछि अब अझ मलाई के गर्न लागिरहेका छन् भन्ने मनमा खुल्दुली चल्यो र सायद हिँडाउँदै गोली हान्ने हो भन्दै थिएँ, यत्तिकैमा तीन/चार जवानहरूले मलाई जुरुक्कै उठाएर कुनै अग्लो ठाउँमा बसाले । तारो हान्ने सुर गरेको होला भन्ने सोचेको थिएँ । तर, गाडीको ढोका ड्याम्म लागेको अवाजसहित मोटर स्टार्ट भयो । गाडी अगाडि बढ्यो ।

मलाई मार्न भनी लगेको ठाउँमा जरुर केही बाधा अड्चन भयो होला र अर्को ठाउँमा लिएर हिँडेका होलान् भन्ने आशंका गरेँ । निकैबेर गाडी गुडेपछि गाडी रोकियो । गाडीभित्रै मेरो हातको डोरी र आँखाको पट्टी खोलिदिएर मलाई तल उतारे । मसँगै रातको समयमा सिपाहीहरूले पनि दु:ख र झन्झट पाएकाले होला फतफताउँदै मलाई लगेर उही बरफबागको कोठामा लगेर थुनिदिए । यस्तो अचम्म र आश्चर्यको कुरो राजाको हुकुम पढेर प्रमांगी सुनाउने व्यक्ति भने लक्ष्मणचन्द्र सिंह नै हुन् । अर्का लेफ्टिनेन्ट कर्णेल गीर्वाणविक्रम शाह (जनरल रंगविक्रमका छोरा) हुन् । ट्रिगर दबाए मात्र पुग्ने अवस्थामा गोली किन हानिएन ? के–कति कारणले यो कार्य पूरा गरेनन् । राजाको हुकुम प्रमांगी भनी पढेर सुनाएको कागज सायद फर्जी पो थियो कि ? मप्रति राजा रिसाएर त्यस्तो क्रूर व्यवहार त अवश्य नगर्नुपर्ने हो ।

वसुन्धरा र सावित्रीसँगको मार्मिक क्षण

एकदिनको कुरा हो, साँझपख त्यस्तै ७ बजेको हुँदो हो, वसुन्धरा र सावित्रीलाई मेरो कोठाभित्र एकजना सैनिक अधिकृतले एक्कासि लिएर आए । यत्तिकैमा ती सैनिक अधिकृत कोठाभित्र पसे र शिष्टतापूर्वक भने ‘तपाईंहरूको मन परेको र इच्छा लागेको खानेकुरा के हो भन्नुहोस्, हामी तुरुन्तै मगाइदिन्छौँ ।’ हामीले, अहिले केही खान मन छैन भन्दा पनि अति आग्रह गरे, यो क्रम १०–१५ मिनेट चलिरह्यो । अन्तमा त्यसो भए जे भए पनि हुन्छ, ल्याइदिनुहोस् भनी सावित्रीले भनिन् । त्यस कुरालाई नमानी उनीहरूले भने, ‘होइन होइन तपाईंहरूले पाँचतारे होटलको जे खाना खाने हो, भन्नुभयो भने पनि हामी मगाएर खुवाउँछौँ, माथिको आदेश छ ।’ यसरी ती सैनिक अधिकृतले मरिहत्ते गरे । ‘यदि तपाईंहरूले आफूलाई मन लागेको खानेकुरा मगाउनुभयो भने दुई घन्टा निगरानीविना सँगै बस्न पाउनुहुनेछ र मनमा लागेको जेजति कुराकानी पनि गर्न पाउनुहुन्छ, होइन भने साथमा बस्न र कुरा गर्न नदिनू भन्ने मलाई आदेश छ,’ अलि धम्कीको भाषामा सैनिक अधिकृतले भनेका थिए । त्यसपछि सावित्रीले भनिन्, ‘त्यसो भए हामीलाई कुखुराको मासु र भात ल्याइदिनोस् ।’

मृत्युदण्ड दिनुभन्दा पहिले इच्छाएको खाना खान दिने चलन छ भन्ने सुनेको थिएँ । मेरो मनमा चिसो पस्यो । अस्ति मलाई तर्साउन मात्र लगेको रहेछ । आज भन्ने पक्का मार्ने भए, मैले सोचेँ । जीवनको यो अन्तिम घडीमा खानेकुराको भन्दा पनि श्रीमतीहरूसँग एक क्षणको न्यानो भेटघाटको सुवर्ण मौका गुमाउनु पर्ला भनी मन नलागी–नलागी कुखुराको मासु र भात मगायौँ । अनि मात्र हामी तीनजनालाई एकान्त छाडेर ती अधिकृत बाहिर गए । अरू वेला ढोकामा सधैँ संगीनसहितको बन्दुक लिएको पहरा दिने गार्डलाई पनि त्यहाँबाट हटाएर अलि पर लगेर राखे । हामीमाथि यो कृपा गरेको मलाई मार्न नै हो भन्ने भएकाले श्रीमतीहरू डाँको छोडेर रुन थाले । ममाथि भए–गरिएका अन्याय र अत्याचार श्रीमतीहरूलाई सुनाउँदा सबै थाहा पाइसकेका छौँ भन्दा पो म त छक्क परेँ । दुवैजनालाई भिन्दाभिन्दै कोठामा बन्दी बनाएर राखेको अवस्थामा पनि ती अत्याचारीहरूले निर्दोष असहाय महिलाहरूलाई मानसिक रूपले आघात पार्न ममाथि गरिएका दुव्र्यवहार र यातनाहरूको बेहोराहरूमा झन् नुनचुक थपेर सुनाउँदा रहेछन् । लाचार भई रुँदै उनीहरूको कुरा सुन्दा रहेछन् । आज पक्कै मार्छन् भन्ने भएकाले त्यो भेटमा दिएको समयमा मैले दुवैलाई सम्झाउने कोसिस गरेँ । यिनीहरूले मलाई मारेपछि मेरो लास जसरी भए पनि पहाड घरमा लगी आफ्नो धर्म र संस्कृतिअनुसार सदगत गरिदिनू । यदि पहाड र काठमाडौंको घरजग्गा सरकारले सर्वस्वहरण गरेन भने बेचबिखन गरी केटाकेटीहरू लिएर भारत गई बस्नू । सतीको श्राप गरेको देशमा सोझो र इमानदार मानिसको कहिल्यै भलो नहुने रहेछ । तिमीहरूलाई पनि केही नगर्लान् भन्न सकिँदैन । अन्तिम इच्छा सोधे भने छोराछोरीहरूलाई एकपटक भेट्न पाऊँ भन्नू भनेँ ।

जंगलको त्रासदीपूर्ण दोस्रो क्षण

मेरा पत्नीहरू वसुन्धरा र सावित्रीसँगको यस्तो भेटपछिको रातको १२ बजे कर्णेल गीर्वाणविक्रम शाह आई मलाई लुगा लगाउन आदेश दिए । साथमा सेनाका अरू अधिकृतहरू पनि थिए । सबैले सेनाको रातमा लगाउने कम्ब्याट पोसाक लगाएका थिए । अनि सबै गम्भीर मुद्रामा देखिन्थे ।

त्यसपछि उनीहरूमध्ये दुईजनाले मेरो पाखुरा समाएर कोठाबाट बाहिर लैजान लाग्दा म त पागलजस्तो भई त्यसवेला मेरा परिवारहरू साथमा नभए पनि उनीहरूलाई राखिएको कोठाबाट मेरो आवाज सुनियोस् भनी ‘वसु, सावित्री बस है, मलाई लाँदै छन्, म गएँ’ भन्दै बेसरी चिच्याएँ । गलामा भएको गणेश भगवान्को लकेट वसुन्धरा र सावित्रीलाई दिन्छु भन्दा ती सैनिकहरूले त्यसवेला ठाडै इन्कार गरे । यसरी अकस्मात् आएको आवेगमा लत्तै छाडेर कराउँदै भुइँमा थचक्कै बसेँ । संयोगवश भर्‍याङछेउको कोठामा वसुलाई राखेको रहेछ । मेरो आवाज सुनेपछि उनी हुत्तिएर ढोकामा आइपुगिन् र हातमा लकेट र घडी दिँदै भनेँ, ‘तिमीहरू बाँच्यौ भने बच्चाहरूलाई बचाऊ ।’ यत्तिकैमा मलाईचाहिँ सिपाहीले तान्दै तल लगे । बरफबागको आँगनमा पुगेपछि ठूलो आवाजमा पशुपतिनाथलाई पुकार्दै पूरै बरफबागको एरिया थर्कने गरी कराएको थिएँ । सैनिकहरूले भने मलाई ओरालोतिर लगिरहेका थिए ।

अघिल्लो पटकझैँ यसपटक पनि सेनाको एम्बुलेन्स त्यहाँ तयार गरेर राखेको रहेछ । मलाई चढाउनेबित्तिकै सैनिकले गाडी अगाडि बढाए । गाडी गुडिरहेकै अवस्थामा मेरो हात पछाडिबाट बाँधिदिए र आँखामा पट्टीसमेत बाँधेर टाउकोमा कपडाको खोल ओढाइदिए । साउन महिनाको त्यो औँसीको रात, त्यसमा पनि आँखामा पट्टी अनि एकछिनपछि सधैँका लागि अन्धकार ! कस्तो डरलाग्दो जीवनको कालो सत्यता !

यसपटक पनि पहिला झैँ झन्डै एकघन्टा जति हिँडेपछि गाडी रोकियो । गाडीबाट ओरालेपछि आँखामा पट्टी लगाइएकै अवस्थामा दुईतिर पाखुरामा समाई मलाई अज्ञातस्थलतर्फ हिँडाउन थाले । अहिले अनुमान गर्दा त्यो ठाउँ गोकर्णको वन हो कि जस्तो मलाई लाग्छ । हिँड्दाहिँड्दै म रुने र कराउने गर्दा कर्णेल गीर्वाणविक्रमले हकारेर ‘चुप लाग्’ भनेका थिए । यसरी १५ मिनेटजति हिँडाएपछि एउटा रूखमा मलाई बाँधे । यो अनुमान लगाउँदा त्यो ठूलै रूख हुनुपर्छ ।

‘ल आज जे भन्नु छ भनिहाल्नू अहिले, नत्र एक छिनपछि मारिँदै छ,’ गीर्वाणविक्रमले जोडदार रवाफमा भने । मलाई लागिरहेको थियो, त्यहाँ उनीहरूभन्दा ठूलो कोही व्यक्ति पनि हुनुपर्दछ र उसको अगाडि मलाई कुनै कबुल गराउन खोजिएको छ । गीर्वाणले पनि बारम्बार उही कुरा दोहोर्‍याइरहन्थे, ‘सबै कुरा नलुकाई भन्यो भने जीवनदान पनि हुनसक्नेछ ।’ ‘मैले के त्यस्तो कसुर गरेँ र मलाई यस्तो सास्ती दिएको ? बरु गोली हानी भुतुक्क मारिहाल’ भनेर बेसरी कराएपछि एकैछिन सास रोकिएर आवाजै आएन, त्यत्तिकैमा हतारहतार एकजना आएर मलाई बाँधेको छातीनिरको डोरी अलि खुकुलो पारिदियो । मे फेरि कराएँ, ‘तिमी पापीहरूसँग म भीख माग्दिनँ, तिमीहरूले यसरी कति जनालाई विधवा र टुहुरा बनाएका छौ ? तिमीहरूले मैलेभन्दा बढी दुर्दशा भोग्नु परोस्, तिमीहरूको बर्बाद होस्, यो मर्ने मान्छेको श्राप हो । मान्छेको अन्तिम डर नै मृत्यु हो तर म मर्ने मान्छेलाई केको डर ?’ मैले यति भन्दै बेसरी सरापेँ । त्यसैवेला मभन्दा केही टाढा गोली पड्केको आवाज मेरो कानमा पर्‍यो । ऐइया... भनेको आवाज पनि सुनेँ । त्यसलगत्तै अर्को गोली चल्यो र त्यसवेला मरेँ नि मरेँ... भनिएको पीडायुक्त आखिरी चिच्याहट पनि सुनेँ । ‘ऊ भरत गुरुङ मारियो, अझै पनि मौका छ भनिहाल, होइन भने भरत गुरुङकै हातल तेरो हुनेछ, अब पालो तेरै हो’ भनी आक्रोशपूर्ण तरिकाले कर्णेल गीर्वाणले मलाई भने । त्यसपछि, लगभग आठ–दश मिनेट चकमन्न भयो । मैले सम्झिएँ भरत गुरुङको लास ठेगान लगाएर मलाई गोली हान्ने तर्खर भएको होला । अचानक मेरो टाउकोको मुखुन्डो निकालियो र आँखाको पट्टी पनि खोलियो । यसैबीच केही टाढाबाट मेरो अनुहारमा टर्चलाइटको चहकिलो बत्ती लागिरहेको थियो र त्यो लाइट करिब २/३ मिनेटसम्म रहिरह्यो ।

त्यसपछि त्यो टर्चलाइटको उज्यालो मेरो अनुहारबाट हटाई करिब २५–३० फिटपरको जंगलमा केन्द्रित गरियो । जहाँ लाइटको उज्यालो परेको ठाउँ थियो, त्यहाँ सेतो कपडाले बेरेको लासलाई सेतै धोती लगाएका चारजना बाहुनले बोकेर लगिरहेको दृश्य र लासभन्दा पछाडि १०/१२ जना मलामी पनि छर्लंग देखियो । भर्खरै आँखाको पट्टी खोलेको, औँसीको रात, झ्वाट्ट उज्यालो प्रकाश आँखामा परेकाले त्यो आकृति ठम्याउन सकिनँ । मलाई भ्रम परेको त होइन भनेर खुब नियालेर हेर्ने कोसिस गरेको मात्र के थिएँ तुरुन्तै मेरो आँखा छोपेर मुखुन्डो फेरि मेरो टाउकामा लगाए । ‘अझ पनि मौका छ भन्’ भन्दा ‘मेरो लास परिवारलाई बुझाइदिनू यति नै हो मेरो भनाइ’ भनेँ । मलाई त्यसरी टर्चलाइट देखाई मेरो अनुहार हेर्न चाहने व्यक्ति को हुन सक्छ, मैले अहिलेसम्म निक्र्योल गर्न भने सकेको छैन । त्यो व्यक्ति पत्ता लगाउने जिम्मा पाठकवर्गलाई नै छोडेको छु ।

जे होस्, मेरो भनाइप्रति रिसले चुर भएका गीर्वाणले सैनिक शैलीमा सिपाहीलाई गोली भर्ने आदेश दिए । त्यसपछि खटयाकखुटुक्क गरी गोली भरेको आवाज सुनेपछि मर्न सजिलो होस् भनी आवाज आएतिरै मेरो छाती उचाली लामो सास फेरेर सासलाई माथि तानी रोकेर बसिरहेँ । अब गोली छुट्यो–छुट्यो जस्तो हुँदाहुँदै आठ–दश चोटी लामो सास फेर्दै रोक्दै गरेँ । गोलीको प्रतीक्षामा छाती तेस्र्याएर पर्खिबसेँ, गोली चलेन । आज भने अवश्य मार्छन् नै होला, केवल केही चाँजोपाँजो नमिलेर ढिलो गरेका होलान् भनी पीडादायी मृत्युको प्रतीक्षा गर्दै बसेँ ।

यत्तिकैमा केही सैनिक आफूतिर बढ्दै आएको आवाज सुनेँ । मनमा लाग्यो गोली चलायो भने मानिसहरूले थाहा पाउलान् भनेर अब मलाई खुकुरीले काटेर मार्ने पो हुन् कि भनी ठानेँ । कस्तो अचम्म ! मार्न अघि बढेका यमदूतले त आँखाको पट्टी र मुखुन्डोबाहेक रूखमा बाँधेका सबै बन्धन फुकाए । मैले ‘के गरेको, मलाई किन नमारेको’भन्दा ‘चुप लाग्’ भनी हपारेर डोर्‍याउँदै मोटरमा चढाए र अघि बढे । पौने घन्टा जति हिँडेपछि मोटर रोकियो र मोटरभित्रै मुखुन्डो र आँखाको पट्टी खोली त्यही बरफबागको त्यही कोठामा छाडेर गए ।

यसरी म दुई–दुईपटक मृत्युनजिक पुगी फर्केर आएँ । मेरो मनभित्र कुरा खेलिरहेको थियो, ‘आखिर के–कति कारण रहेछ, मलाई यी आततायीहरूले यस्तो शारीरिक र मानसिक यातना दिएको ? मार्न त अवश्य नै मार्छन्, एक–दुई दिनको ढिलो–चाँडो मात्र न हो । धीरेन्द्र सरकारजस्तो राजपरिवारका सदस्यलाई आँच आउने गरी बयान गराएर सरकारको सेवामा कार्यरत भरत गुरुङलाई मेरै अगाडि मारिसके । दुईवटा गोली लाग्दा निस्केको उनको दर्दनाक आवाज मेरै कानले सुनेको थिएँ । मलाई पनि राजपरिवारसँग जोडेर बयान गराउन हरप्रयास गरेका छन् । त्यसैसँग सम्बन्धित रहेर प्रश्नहरू सोध्ने र केरकार गर्ने गरेका छन्, त्यसैले मलाई पनि अवश्य मार्छन् ।’ दिन मात्र कहिले हो भनी म मृत्युको पर्खाइमा रहिरहेको थिएँ । त्यसबाहेक मेरो मन मस्तिष्कले अरू कुरा सोच्नै सकेको थिएन । मेरो आँखाले केवल अगाडिको मृत्युलाई मात्र देखेको थियो ।

पहिला–पहिला त यातना खप्न नसक्दा आत्महत्या गरेर यो कष्टबाट पार हुने उपाय खोजेको थिएँ । यसरी दुईपटक मृत्युकै मुखमा पुगेर फर्किएपछि ‘यदि आफ्नो समय सकिएको छैन भने नमरिँदो रहेछ’ भन्ने यकिन भयो । यसले भित्रभित्रै अब म बाँच्छु भन्ने आत्मबल बढेर आयो । कथंकदाचित् भाग्यले पल्टा खाई यहाँबाट उम्कन पाएँ भने मलाई र अन्याय तथा षड्यन्त्र गरी फसाउनेहरूको सुकिलो र इज्जतदार अनुहारको नकाब उतारेर वास्तविकता पर्दाफास गरी मेरा सन्तति र समाजसामु ल्याउनेछु भनी मनमनै अठोट गरेको थिएँ । तर, यतिखेर यो कृति प्रकाशन हुनुअगावै मेरो जीवनमा भुमरी ल्याउने मुख्य रचनाकार (खेलाडी)हरू कतिले त यस धर्तीबाट बिदा लिइसकेका छन् । त्यसैले अब जो–जो पात्रहरू जीवित हुनुहुन्छ, उहाँहरूका लागि पनि हो यो मेरो कथा र बेथाको उपहार ।

Wednesday, March 26, 2014

ताम्सालीङ स्वायत्त प्रदेशको घोषणा

ताम्सालीङ स्वायत्त प्रदेशको घोषणा:
१२ बुँदे सम्झौतादेखि विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा र त्यसपछि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अन्तरिम संविधान २०६३ को भाग १७, धारा १३८ बमोजिम संविधानसभाद्धारा संघीय ढाँचामा राज्यको पुर्नसंरचना गरी जातीय, भाषिक एवं क्षेत्रीय स्वायत्तशासन/स्वशासनको माध्यमद्धारा नेपाली समाजमा रहेका जातीय, क्षेत्रीय, वर्गीय एवं लिंगीय समस्याको निदान गर्ने नेपाली जनताको भावना र चाहनालाई आत्मसात गर्दै,

मल्ल तथा गोर्खा राज्यको फौजी अतिक्रमण तथा राज्य विस्तारभन्दा पहिले तामाङ जातिको वर्तमान नेपालको मध्य पहाडी भूखण्डमा आफ्नै स्वायत्त गणराज्यहरु भएको, आजभन्दा ठीक २४० वर्ष अघि पृथ्वीनारायण शाह फौजी अतिक्रमणपछि ती गणराज्यहरुको बाँकी रहेको अस्तित्व र संरचना पनि सम्पूर्ण रुपमा नष्ट भएको र एकीकरणको नाममा सिंगो नेपाललाई एकल जातीय सामन्ति केन्द्रिकृत खस हिन्दुराज्य बनाउने खसकरणका कारण तामाङ जाति लगायत समस्त आदिवासी जनजातिहरुले आफ्नो पहिचान र अस्तित्वका लागि आज पर्यन्त संघर्ष र विद्रोह गर्दे आउनुपरेको ऐतिहासिक तथ्यलाई हृदयंगम गर्दै,

नेपालको सरदर ३१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोमा इतिहासमा भएको विभेदका कारण आज ६१ प्रतिशतले तामाङ जनता गरिवीको रेखामुनी रहन बाध्य हुनुपरेको, ६५ प्रतिशत तामाङ जनता अशिक्षाको मुखमा पुग्नु परेको यथातथ्यलाई ध्यान दिँदै तामाङ जातिको ऐतिहासिक भूमि ताम्सालिङमा तामाङ जनतालाई नै प्राधिकार बनाउने स्वायत्तशासन व्यवस्थाको निर्माण गरी र ताम्सालीङका जातजाति र आदिवासी जनजाति तथा विभिन्न धर्म सम्प्रदाय एवं भाषाभाषी सबैको साझा राज्य बनाएर मात्र नयाँ नेपाल बन्न सक्ने तथ्यलाई मनन गर्दै,

शान्तिवार्तालाई निष्कर्षमा पुर्‌याउन निरन्तर जनदवाव सिर्जना गर्ने, जाति, भाषा र क्षेत्रको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माणका लागि जनमतको निर्माण गर्ने, नयाँ संविधानमा जातीय स्वायत्तशासनमा आधारित "ताम्सालीङ स्वायत्त प्रदेश" स्थापनाका लागि शसक्त संघर्ष उठाउने तामाङ जनताको साझा र संयुक्त मोर्चाको निर्माण गर्न आवश्यक र अपरिहार्य भएकाले,

संविधानसभाद्धारा नयाव नेपालको नयाँ संविधान बनाउने तथा नेपाललाई राज्यको पुन:संरचनाद्धारा संघीय नेपाल बनाउने प्रक्रिया अघि बढीरहेको सन्दर्भमा तामाङ जनताको मुक्तिको महान आकांक्षा 'ताम्सालीङ' प्राप्तीका लागि समस्त तामाङ जनतालाई एकताबद्ध र गोलबन्द गर्दे अघि बढ्नुपर्ने समयको माग भएकाले गत दुई वर्ष अघि स्थापित तामाङ जनताको साझा मोर्चा "संयुक्त तामाङ गणतान्त्रिक मोर्चा, नेपाल" को घोषणापत्रलाई आधार र प्रस्थान विन्दु मान्दै,

२०६४ साल पौष १४ र १५ गते काठमाडौंमा सम्पन्न "बृहत ताम्सालीङ राष्ट्रिय राजनैतिक सम्मेलन" द्धारा पारित "काठमाडौं घोषणापत्र" लाई ताम्सालीङको साझा राजनैतिक खाका र आधारपत्र मान्दै,

विचार र मान्यताका हिसाबले हामी तामाङहरु जो जो, जहाँ जहाँ भएपनि तामाङ जनताको ताम्सालीङ निर्माणका लागि दलगत मान्यताभन्दा माथि उठेर एक हुनुपर्दछ र त्यसका लागि दलभित्र दलगत ढंगले मोर्चाबन्दीकासाथ र बाहिर संयुक्त प्रकारले सदन र सडकमा ताम्सालीङका लागि संघर्ष गरेर मात्र तामाङ जनताको ताम्सालीङ बन्नसक्दछ र त्यो तामाङ जनता आफैले लडेर मात्र प्राप्त हुन सक्दछ भन्ने यथातथ्यलाई आत्मसात् गर्दै,

जवसम्म तामाङ जनताले ताम्सालीङ प्राप्त गर्दैनन् तवसम्म तामाङ जनताको भाग्यरेखा तामाङ जनता आफैल कोर्न पाउँदैनन् भन्ने तथ्यलाई हृदयंगम गरी शान्तिपूर्ण बाटो संविधानसभाको माध्यमबाटै नेपाल राज्यको अविभाज्य, अखण्ड र सार्वभौमसत्ता सम्पन्न नेपालभित्र संघात्मक संरचनामा ताम्सालीङ (स्वायत्त राज्य) निर्माण गर्ने चाहनालाई मूर्तरुप दिने प्रयत्नस्वरुप शान्तिपूर्ण आन्दोलनलाई आफ्नो अभिष्ट ठान्दै,

ताम्सालीङ स्वायत्त प्रदेश तामाङ जाति र जनताको मात्र नभएर ताम्सालीङमा परापूर्वकालदेखि बस्दै, रहँदै आएका विभिन्न अल्पसंख्यक आदिवासीहरु, पछि आएर रहे बसेका विभिन्न जातजाति, अन्य आदिवासी जनजाति तथा विभिन्न भाषा, धर्म, सम्प्रदाय समेतको साझा र बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक राज्य हो भन्ने तथ्यलाई आत्मसात गर्दै आदिवासीहरुको जातीय बाहुल्यता र अनुपातका हिसाबले राज्यसंरचना तथा जन, जमिन र जंगलमाथि अग्राधिकारसहितको स्वायत्तता र अन्यको समानुपातिक प्रतिनिधित्वसहितको स्वशासनको अधिकार तथा गैर भौगोलिक समुदायको संरक्षणको अधिकारलाई सम्मान गर्दै र राज्य संरचनामा सबै जातजाति, आदिवासी जनजाति, लिंग, क्षेत्र र वर्गका जनताको समानुपातिक र समावेशी प्रतिनिधित्वको अधिकारलाई सुनिश्चित गर्दै,  

ताम्सालिङ स्वायत्त प्रदेशभित्र जसरी विभिन्न आदिवासीहरुलाई स्वायत्तता र अन्य जनजाति, जातजाति लगायतलाई स्वशासनको अधिकार र गैर भौगोलिक समुदायलाई संरक्षणको अधिकार हुन्छ त्यसरी नै अन्य स्वायत्त/स्वशासित प्रदेशहरुमा पनि "स्वायत्तताभित्र स्वायत्तता" को नीति अन्तर्गत देशैभरी जनसंख्याको सघनता र त्यसले ढाकेको क्षेत्रगत भूमिका आधारमा ताम्सालीङ बन्दछ र बन्नुपर्दछ भन्ने, मान्यता र विश्वासलाई दह्रोसँग पक्रँदै र आफ्नो आदिभूमिमा फर्कने तामाङ जनताको जन्मसिद्ध अधिकारलाई पनि अविछिन्न अधिकारको रुपमा ग्रहण गर्दै,

राष्ट्रिय मुक्ति आन्दोलनको कुरा गर्दा नेपालको सन्दर्भमा खल उच्च जातीय अहंकारवादको विरुद्ध जसरी संघर्ष गर्न जरुरी छ त्यसरी नै स्थानीय जातिवादी अहंकारवादका विरुद्ध पनि संघर्ष गर्नुपर्ने तथ्यलाई मनन् गर्दै सबै उत्पीडित जाति, वर्ग र क्षेत्रका जनताको न्यायोचित आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउँदै,

मानवजातिको उच्चतम मानवअधिकारको बहाली, धर्मनिरपेक्षता, वालिग मताधिकार, साँस्कृतिक बहुलवाद र लोकतान्त्रिक पद्धती तथा विधिको शासनलाई अक्षुण राख्दै विभिन्न उत्पीडित जाति, भाषा र क्षेत्रका जनताको गणराज्यहरुसहितको समानता, स्वतन्त्रता र भातृत्वमा आधारित न्यायपूर्ण, समतामुलक र जनताको साझा र सम्बृद्ध लोकतन्त्रलाई आफ्नो साध्य ठान्दै,

अन्तत: तामाङ जाति आफैमा सार्वभौम आदिवासी जाति भएकाले ताम्सालीङको स्वघोषणा गर्न सक्ने अर्न्तराष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९, सन् १९६६ को आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको अर्न्तराष्ट्रिय अनुबन्ध तथा सन् १९६६ कै नागरिक स्वतन्त्रता प्रदान गर्ने घोषणापत्र, सन १९६२ को प्राकृतिक श्रोतमा स्थायी सार्वभौमिकत्व सम्बन्धी अनुबन्ध, सन् १९६३ को सबै प्रकारको जातीय भेदको निर्मुलनसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र तथा सन् २००७ मा संयुक्त राष्ट्रसंघकै महासभाद्धारा पारित आदिवासीसम्बन्धी विश्व घोषणापत्रले प्रदान गरेको आफ्नो ऐतिहासिक तथा बाहुल्य भूमिमाथिको स्वायत्तता र आत्मनिर्णयको अधिकारलाई सुरक्षित राख्दै तामाङ जनताको साझा आकांक्षा ताम्सालीङ प्राप्तीका लागि तामाङ समाजमा रहेका विभिन्न राजनैतिक मोर्चाहरु, लोकतन्त्र र गणतन्त्रलाई स्वीकार गर्ने सबैखाले सामाजिक, साँस्कृतिक एवं धार्मिक संघसंस्थाहरु र विगत समयदेखि लोकतन्त्रिक गणतन्त्रको दिशामा तामाङ समाजलाई दिशानिर्देश गर्दै आउनु भएका अग्रजहरु समेतलाई समेट्दै समस्त तामाङ जनताको महान् आकांक्षष "ताम्सालीङ" र "संघीय लोकतान्त्रिक गणतन्त्र" लाई संस्थागत गर्न लागिपर्ने द्येयले,

ताम्सालीङ (स्वायत्त राज्य) को निर्माण तथा संघीय नेपालको एक एकाईको रुपमा ताम्सालीङ स्वायत्त गणतन्त्रको स्थापना गर्न, ताम्सालीङ गणराज्यको अलग संविधानको मस्यौदा तयार गर्न तथा तामाङ जातिको समानुपातिक प्रतिनिधित्व र साझा मुद्दाहरुमा एकताबद्ध र सशक्त आन्दोलनको विकास गर्न सबै संघसंस्थाहरुको सहमति र समर्थनमा "संयुक्त तामाङ गणतान्त्तिक मोर्चा, नेपाल" लाई "ताम्सालीङ संयुक्त संघर्ष समिति, नेपाल" मा रुपान्तरण गर्दै संविधान सभाको निर्वाचनद्धारा बनेको संविधानसभाले ताम्सालीङसहितको नयाव संघीय संविधानको घोषणा नगरेसम्म संघर्षरत रहने साझा प्रतिबद्धता जाहेर गर्दै,

विश्वभरी नै चलिरहेका न्यायोचित राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई हाम्रो समर्थन र ऐक्यबद्धता रहने तथ्यलाई नभूलिकन हाम्रो न्यायपूर्ण राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई हाम्रो समर्थन र ऐक्यबद्धता रहने तथ्यलाई नभूलीकन हाम्रो न्यायपूर्ण राष्ट्रिय मुक्ति आन्दोलन तथा नेपाली राष्ट्रवादका विरुद्ध हुने सबैखाले विदेशी चलखेल र हस्तक्षेप विरुद्ध दृढताकासाथ उभिने प्रण गर्दै,

आजकै दिन हामी ताम्सालीङ स्वायत्त राज्य (प्रदेश) को निम्न बमोजिम सिमाङ्कनको घोषणा गर्दछौं, जस अनुसार "पूर्वको दुधकोशी र सो नदीसँग जोडिएको सिन्धुलीको पूर्वी सिमादेखि पश्चिम, पश्चिममा बुढीगण्डकी र नारायणी नदीदेखि पूर्व, दक्षिणमा चितवन जिल्लासित पूर्व-पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सिमासम्मको भू-भाग ताम्सालीङ हो ।" ताम्सालीङ प्रदेशको वीचमा नेवार जातिको बाहुल्य रहेको भूभागमा नेवार जातिको स्वायत्त प्रदेशको सम्मान गर्दै "ताम्सालीङ प्रदेशको भूभागसँग जोडिएका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको तामाङ बाहुल्य गा.वि.स. र ताम्सालीङ प्रदेशसँग अविछिन्न रुपमा जोडिएका यस वरिपरिका तामाङ बाहुल्य क्षेत्रहरु तथा दक्षिणमा राजमार्गसँग अविछिन्न रुपमा जोडिएका तामाङ बाहुल्य गा.वि.स. तथा क्षेत्रहरु पनि ताम्सालीङ स्वायत्त प्रदेशकै भू-भाग हुन् भन्ने कुरा यसै घोषणापत्र मार्फत् जारी गर्दछौं ।"

साथै, यस घोषणापत्र सँगै हामी निम्न अनुसार मागपत्र सार्वजनिक गर्न चाहन्छौं र अविलम्ब यसप्रति सरकारको सकारात्मक पहलका लागि पनि अनुरोध गर्दछौं ।

क)     नयाँ संविधानमा "आत्मनिर्णयको अधिकारसहित ताम्सालीङ स्वायत्त प्रदेश" घोषणा गरी सुनिश्चित गरियोस् ।
ख)     "धर्मनिरपेक्ष राज्य" को नीतिको उल्लंघन गर्दै अन्तरिम संविधानमा रहेको राष्ट्रिय जनावर "गाई" अविलम्ब खारेज गरियोस् ।
ग)      नेपाली सेनामा रहेको "पिपा गोश्वारा" को व्यवस्था खारेज गरी उनीहरुलाई अविलम्ब ससम्मान नेपाली सेनामा रुपान्तरण गरियोस् ।
घ)      अन्तरिम संविधानको व्यवस्था अनुसार ताम्सालीङ क्षेत्रमा तामाङ भाषालाई स्थानीय बाहुल्य मातृभाषा वा प्रादेशिक भाषाको रुपमा अविलम्ब कामकाजमा ल्याइयोस् ।
ङ)       नेपालको नयाव संघीय संविधानमा "ताम्सालीङ स्वायत्त प्रदेश" मा लागु हुने गरी तामाङ भाषालाई राष्ट्रिय सूचीमा राख्दै प्रादेशिक भाषाको रुपमा मान्यता दिइयोस् ।
च)      धर्मनिरपेक्ष राज्यको नीति अनुरुप साझा "राष्ट्रिय साँस्कृतिक नीति" अविलम्ब साझा राष्ट्रिय साँस्कृतिक नितिको घोषणा गरियोस् ।
छ)     राज्यको विभिन्न अंग तथा संरछनाहरुमा तामाङ जातिको समानुपातिक प्रतिनिधित्वलाई गंभीरतापूर्वक ध्यान दिइयोस् । संविधान सभामा विभिन्न दलहरुबाट तामाङ जातिको प्रतिनिधित्व जातीय जनसंख्याको अनुपातमा नहुनु, सरकारको गठन प्रक्रियामा पनि लोक-गणतान्त्रिक सरकारमा तिनै पटक तामाङ समुदायबाट कोही पनि मन्त्री नपर्नु, विभिन्न आयोग, कुटनैतिक निकाय तथा सरकारी राजनैतिक नियुक्तिहरुमा समेत तामाङ जातिको प्रतिनिधित्व नहुनु तथा नगरिनुले तामाङ जातिप्रति आज पनि राज्यले उपेक्षा गरेको आभास आइरहेको तर्फ हामी यहाँलाई समयमै सचेत गराउन चाहन्छौं । इतिहासमा हामीमाथि २४० वर्षसम्म चर्को दमन र उत्पीडन भयो तर आज पनि त्यो विभेदको पिडा हामीले भोग्नुपर्ने स्थिति पैदा हुनु अश्वभाविक हुने कुरा फेरि पनि हामी दोहर्‌याउन चाहान्छौं ।
ज)     सन् १९५० को सुगौली सन्धी लगायत सम्पूर्ण असमान सन्धिहरु खारेज गरियोस् ।
झ)     विदेशी चलखेल र हस्तक्षेप अविलम्ब बन्द गरियोस् ।
ञ)      ताम्सालीङ स्वायत्त प्रदेश अर्न्तगतका सबै मुख्य सहर तथा नगरहरुलाई जोड्ने गरी "ताम्सालीङ चक्रपत" को अविलम्ब निर्माण गरियोस् ।
ट)       राजधानीका वरिपरि रहेर पनि तामाङ जनतामा ६१ प्रतिशतले गरिवी र ६५ प्रतिशतले अशिक्षा (नेपालको वर्तमान तथ्यांकअनुसार सबे भन्दा बढी गरिवी र अशिक्षा) रहेकाले ताम्सालीङ क्षेत्रमा अविलम्ब "मातृभाषामा ग्रामिण साक्षरता अभियान" र "एक घर एक रोजगार" को कार्यक्रम तथा स्व-रोजगारको कार्यक्रम अविलम्ब लागु गरियोस् ।

अन्तमा, उक्त माग र ताम्सालीङ स्वायत्त प्रदेशको सार्वजनिक घोषणा तथा सुनिश्चितताका लागि यही फागुन १३ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने कार्यक्रम रहेको पनि जानकारी गराउन चाहन्छौं । सोही दिन अन्य कार्यक्रमको घोषणा हुने कुरा पनि जानकारी गराउँदछौं ।

कुमार योन्जन तामाङ, - महासचिव
ताम्सालीङ संयुक्त संघर्ष समिति नेपाल, केन्द्रीय कार्यालय, काठमाडौं ।

संघर्ष समितिमा आवद्ध संघसंस्था तथा अध्यक्षमण्डल:  
१)      ताम्सालीङ नेपाल राष्ट्रिय दल
२)     नेपाल तामाङ घेदुङ
३)     तामाङ राष्ट्रिय मुक्ति मोर्चा
४)     नेपाल लोकतान्त्रिक तामाङ संघ
५)    तामाङ मुक्ति संगठन
६)      तामाङ स्वशासित संघ
७)    तामाङ ह्युल परिषद्
८)     ताम्सालीङ मुक्ति मोर्चा
९)      नेपाल आदिवासी जनजाति संघ

Thursday, March 20, 2014

किन चाहेका छैनन् संघियता र जनजातिलाई अधिकार ?

- Written by Dadi Sapkota
प्रचण्डले अखण्ड चितवन भन्दै निकालेको वाणी अहिले अखण्ड सूदुर पश्चिमसम्म फैलिएर माओवादीलाईनै अप्ठेरोमा पारिरहेको छ । अचम्मा लाग्दो के छ भने संघियता र जनजातिको अधिकारकालागि लडेको नेकपा माओवादीका नेता लेखराज भट्ट र दरबारका पाल्तु चौकिदार, प्रजातन्त्रलाई दरबारमा लगेर बिसाउने शेरबहादुर देउवा दुबै त्यो अखण्ड सूदुर पश्चिमका पक्षमा देखिए । भारतीय राजदूतको बिस्कुन चर्न हिँडेपछि भट्ट र देउवा, उपल्लो जात र पानी नचल्ने बिचको, जनजाति र खसहरुको एकता अखण्ड सुदूरपश्चिमका पक्षमा देखियो । यी संघियताकै बिरोधी देखिए । जनजातिलाई अधिकार दिन हुन्न भन्ने पक्षमा दरिए । के त्यो संभव छ ? पिडक र पिडित एकै ठाउँ, बाघ र बाख्रा एकै खोरमा बसेर न्याय हुन्छ ? त्यो संभव हुन्छ ?
तर यो संघियताका बिरोधी र जनजातिलाई अधिकार सम्पन्न नबनाउने पक्षमा अहिलेका भारतीय राजदूतका महान चेला प्रचण्ड (प्रचण्डलाइ भारतीय राजदूतका चेला किन भनें ? उनले भारतीय राजदूतसित कहाँ कहाँ साँठगाँठ गरे ? अर्को लेखको प्रतिक्षा गर्नुहोला) देखि सुशिल कोइराला र झलनाथ खनालसम्म देखिएका छन् । आखिर यी नेता किन केन्द्रिक्रित राज्य प्रणालीका पक्षमा देखिएका हुन् त ? किन केन्द्रिय शासन प्रणालीका पक्षमै देश हाँक्न षडयन्त्र गरिरहेका छन् यीनीहरु ?
सबैलाई थाह छ, नेपालको अहिलेसम्मको राज्य प्रणाली केन्द्रिक्रित रह्यो । पहिले राजा र पञ्चेले केन्द्रिक्रित राज्य गरे । त्यसपछि आए पञ्चेका नयाँ रुप, नेपाली कांग्रेस र एमालेको । यी सबैको सरकार केन्द्रिक्रित रह्यो । देश के भयो ? झन गरिब । भ्रस्टाचार चुलियो । केन्द्रमा सबै सुबिधा थपिँदै गयो । गाउँहरु कमजोर भए । पैसाको खोलि बगाएर चुनाबमा जित्यो त्यसपछि बडे बडे महल बनाएर काठमाडौंमै थन्कियो । आफैंले मत लिएका जनतालाई बेवास्ता गर्‍यो । अर्को पटक त्यहि ठाउँबाट निर्वाचन हारिने भएपछि अर्को निर्वाचन क्षेत्रमा गएर फेरी सिधासाधा जनतालाई भुट्यो, पैसो खन्यायो, गुण्डा लग्यो अनि निर्वाचन जित्यो । त्यसैले आफ्नो रामराज्य चल्ने यस्तो राज्य प्रणाली कसरि त्याग्ने हाम्रा नेताले ?
राजनिति स्थानिय स्तरसम्म पुगेपछि माधव नेपाल, गोबिन्दराज जोशी, केपी ओली, लिलामणी पोख्रेल, खुमबहादुर खड्का, वामदेव गौतम, डा रामशरण महत, अर्जुन नरसिं केसी, सुजाता कोइराला, ईश्वर पोख्रेल जस्ता असक्षमलाई जनताले पत्याएनन् । तर जनताको परिक्षणबाट हारिएका र मिल्किएका यी अझैपनि नेता हुँ भनेर हिँडिरहेका छन् । वर्षौं देखि नेपाललाई चुसेका यीनले यस्तो देशको शासकिय स्वरुप यस्तो हुनु पर्छ भनेर सिकाउने ? तामाङ, मगर, गुरुङ, शेर्पा, थारु जस्ता जनजाति र अन्य जनबर्गिय संगठनमा यीनैले अझै निर्देशन दिँदै छन् । हरुवाहरुले जित्नेमाथि नेत्रित्व गरिरहेका छन् । पार्टीमा राज्य चलाइरहेका छन् । अबको निर्वाचनमा प्रभु शाहको झिरिप भए झैं अझै कति खाइदेउ माओवादीहरुको सभासद पदलाई जनताले लगौंटी लगाइदिने हुन् । समानताका नारा दिएर पद, पैसा र कमिशनमा डुबेका माओवादीको पद नरहने निश्चित छ । त्यसैले तिनलाईपनि स्थानिय निकाय बलियो हुँदा मर्का पर्छ ।
अब राज्य सन्चालनको अधिकारपनि स्थानिय स्तरमा पुग्यो भने यीनको राज्य, यीनको राजनीति, यीनको ठगी, यीनको लुट धुलिसाथ हुन्छ र यी लेक लेक फर्क हुन्छन् भेडा खेद्न । । यीनको काम अब गाइ भैसीं गोठालामा परिणत हुन्छ । अनि यस्तो जान्दा जान्दै यीनले बिकेन्द्रिकरण हुन नदिन चेष्ट नगरुन् ? वर्षौं वर्ष देखि देशलाई कंगाल पारेर नेता हुँदै मस्ति लुटिरहेकाहरुले जनजातिमा, स्थानिय स्तरमा राज्यको शक्ति पुग्न दिन्छन् ? यीनहरुले संघिय राज्य र जातिय पहिचान सहितको नेपाल नचाहनुको मुख्य कारण नै त्यहि लुटतन्त्र कायम राख्नकालागि हो ।
केन्द्रिय राज्य प्रणाली भएकाले अहिले के भैरहेको छ ? स्थानिय स्तरमा कर उठाएका छन् । त्यहाँको स्रोत र शाधन दोहन गरेका छन् । त्यो बजेट केन्द्रमा ल्याएका छन् । केन्द्रबाट मनपरी खर्च गरिरहेका छन् । गाउँमा सिटामोल नपाएर जनता मरिरहँदा नेताले हेलिकप्टर चढेर उडाइरहेका छन् राज्यको बजेट । गाउँमा बत्ति छैन । बाटो छैन । शिक्षित छैनन् भन्दै करोडौं करोड बजेट ल्याउँछन् । अनुदान थाप्छन् । ऋण लिएका छन् बिदेशीसित । तर गाउँलाई नै देखाएर ल्याएको त्यो रकम गाउँमा आधापनि पुग्दैन । योजना आयोग र अनेक आयोगका नाममा आधा रकम केन्द्रमै सकिन्छ । बाँकि रकम नेताका पोल्टामा जान्छ । बँचेखुचेको रकमपनि तिनै टाढा बाठा गाउँका कार्यकर्ताले झ्याप पार्छन् । गाउँ जस्ताको त्यस्तै रहन्छ ।
संघिय राज्य भयो भने गाउँ बलियो हुन्छ । गाउँको धारोपानीको बजेट स्थानिय जनताले बनाउँछन् । आफ्नो स्थानिय स्तरको स्रोत र साधन के कसरि सदुपयोग गर्ने गाउँकै स्थानियको चासो बन्छ । आफ्ना प्राक्रितिक सम्पदा कसरि बचाउने, कस्तो नीति अपनाउने भन्ने सक्रियता स्थानिय स्तरबाटै हुन्छ । आफ्नो स्थानिय स्थिति, गाउँ, स्थानिय आवश्यकता, भौगोलिक सांस्क्रितिक महत्वबारे जति स्थानिय जनतालाई ज्ञान हुन्छ, आवश्यकताको बोध हुन्छ उति केन्द्रलाई हुन्न । राजधानी काठामडौं बसेर तिनलाई स्थानिय स्तरको ज्ञान हुनु संभव पनि छैन । स्थानिय स्तरका जनतालाई जति आफ्नो गामठाम बारे उति अन्य क्षेत्रबाट आएर राजधानीमा बस्ने नेतालाई सरोकारपनि हुन्न ।
स्थानिय स्तर बलियो हुनु भनेको मुद्रा प्रणाली, राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र मामिला र राष्ट्रिय अखण्डता बाहेक बाँकि मामिला स्थानिय निकायलेनै हेर्ने, ब्यवस्थापन गर्ने हो । यसो हुँदा गाउँको बजेट कहाँ गयो ? कति आयो ? कुन शिर्षकमा कति खर्च भयो पारदर्शी हुन्छ । किनभने गाउँमा आउने बजेटको हिसाब किताब राख्ने, योजना बनाउने सबै स्थानिय स्तरकै कर्मचारी हुन्छन् सबै गाउँलेले चिने जानेका । त्यहाँ स्थानिय स्तरकै नियम, कानुन र परिपाटीले काम गर्छ । जुन गाउँमा जस्तो योजना र काम हुँदै छ त्यहि गाउँको स्थानिय भाषा बोलिनाले उनीहरु बढि स्पष्ठपनि हुन्छन् । स्थानिय जनता आफ्नै भाषा बोल्ने, आफ्नै भेषभुषा पहिरिएको, भौगोलिकता र परिपाटी जानेकोसित बढि खुल्ला पनि हुन्छन् ।
अहिले संघियता भयो र जातिय पहिचान भयो भने लौ देश टुक्रिन्छ, बिखण्डन हुन्छ भनिरहेका छन् । त्यो हौवा बाहेक केहि होइन । केन्द्र्क्रित राज्य नभए हामा दिन जान्छन् भनेर केहि नेता, तिनका छट्टु कार्यकर्ता, फटाहा प्रशासक र राजनितिक पार्टीले आफू शासन सत्ताको चुचुरोमा बसेर अरुमाथि सदा झैं राज गर्न फैलाएको हौवा । स्थानिय स्तर, स्थानिय जनता र र गाउँलेलाई बलियो हुन नदिने प्रपञ्च । किनभने राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति, मौद्रिक नीति एउटै हुन्छ देश संघियतामा गएर जातिय पहिचान भएपनि । जब ति मूलभुत कुरा एउटै हुन्छन् भने राष्ट्रिय सुरक्षामा खलल पुग्ने, परराष्ट्र नीति बिग्रिने निर्णय गर्दा केन्द्रले हस्तक्षेप गर्न सक्छ । यस्तो प्रावधन हुँदा हुँदै हुँदा कसरि देश बिखण्डन हुन्छ ? त्यसैले यी आरोप फेरीपनि देशलाई केन्द्रियताका आधारमा राज्य चलाएर स्थानिय स्तरलाई यथास्थितिमा राख्ने षडयन्त्र बाहेक केहि होइन ।
नेपाली कांग्रेस वास्तबमै संघियताको समर्थक हो भने अखण्ड अखण्ड भन्दै देउवाले संघियता बिरोधीसित मिलेर सुदुर पश्चिम बन्द र जुलुसको नेत्रित्व गर्दा कारवाही गर्नुपर्छ । माओवादी नेता लेखराज र देउवा संघियताको पक्ष देखिएनन् । माओवादी नेता भट्ट त झिनामसिना परे । देउवा त पार्टीमा ४० प्रतिशतको मूल नेत्रित्व गर्ने । पार्टीका वरिष्ठ नेता । त्यस्तो नेताले त्यसरि संघियता बिरोधी नेत्रित्व गर्न सुहाउँछ ? यता जनताको दबाबले संघियतामा राजि त गर्ने तर उता पार्टीको वरिष्ठ नेतालाई संघियता बिरोधी जुलुस र आन्दोलनमा नेत्रित्व गर्न पठाएर भाँड्न खोजेको हैन नेपाली कांग्रेसले भनेर कसरि शंका नगर्ने ? भाँडभैलो र अशान्ति मच्चाएर त्यो संघियता, राज्य संरचना भाँडियोस् भन्ने पक्षमै देखिएको बुझिने भो । नत्र कांग्रेसको उपल्लो नेता देउवाले त्यस्तो गर्दा किन नेपाली कांग्रेसले करवाही त परै जाओस् चुँसम्म नबोलेको ?
अहिले हाम्रा नेता के गरिरहेका छन् ? सिराहाको वन नेपालगञ्ज घर हुने नेताले काठमाडौं बसेर फँडानी गर्न निर्देशन दिइरहेको छ । सूर्य बहादुर थापा प्रधानमन्त्री हुँदा २०३६ सालमा तराईको बन फँडानी गरेर सखाप पारे । संघिय शासन प्रणाली भयो र स्थानिय स्तर बलियो भयो भने यस्तो अपराध गर्न संभव हुन्न । किनभने त्यो क्षेत्रको स्थानिय स्तरको निर्णय गर्ने त्यहिँको सरकारको हुन्छ । तर नेताहरु अझैपनि काठमाडौं बसेर सम्पूर्ण देश चलाउन खोजिरहेका छन् । उनीहरुलाई केन्द्र्क्रित राज्य प्रणाली यसैकालागि चाहिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको बिचबाट भारतको भिखना ठोरी जोडेर राजमार्ग बनाउने निर्णय प्रधानमन्त्री हुँदा गिरिजा प्रसाद कोइरालाले गरेका थिए । यस्तो जघन्य अपराधको निर्णय गर्दा स्थानिय निकायलाई कुनै जानकारी दिएनन् कोइरालाले । केन्द्रिक्रित राज्य ब्यवस्थामा यो संभव हुन्छ । तर जब देश संघिय शासन प्रणालीमा जान्छ तब स्थानिय जनता बलियो हुन्छन्, उनैले निर्णय गर्छन् । तर केन्द्रमा बसेर यस्तो निर्णय गर्न पाइन्न । त्यसैले हाम्रा नेता केन्द्रिक्रित ब्यवस्था लाद्न खोजिरहेका छन् ।
स्थानिय स्तरमा जुन जातिको बहुल्यता छ तिनै माथि हुन्छन् । तिनको बाहुल्यताका आधारमा निर्णय हुन्छ । जसको बहुमत हुन्छ उसको निर्णय हुनु स्वभाविक छ । यदि काठमाडौंमा नेवा राज्य भैदिएको भए रेडियो नेपालबाट दिन थालिएको नेपाल भाषाको समाचार प्रदीप नेपाल शिक्षा मन्त्री हुँदा रोक्न संभव हुने थिएन । तर केन्द्रिक्रित शासन प्रणाली भएकाले, केहि सिमित छट्टु बाहुनहरुको मनपरी चल्ने सरकार भएकाले काठमाडौं उपत्यकामा नेवारहरुको बाहुल्यता हुँदा हुँदैपनि प्रदीप नेपालले त्यो रोकिदिए ।
यस्तै राज्य प्रणालीका कारण उपत्यका के भयो ? स्वच्छ पानीका धारा सुके । विष्णुमती र वागमती नदी ढलमा परिणत भए । स्थानिय निकाय कमजोर पारिएकले तिनले हस्तक्षेप गर्ने अधिकारनै थिएन । काठमाडौंका ऐतिहासिक धरोहरहरु भत्काएर कंक्रिटको बस्तिमा परिणत गरिए । तर यदि स्थानिय निकायको निर्णय हुन्थ्यो, नेवार राज्यले निर्णय गर्थ्यो भने आफ्नो थातथलोका बारेमा उनीहरु बढि सचेत हुने थिए । कसै कसैले भन्ने गर्छन्, त्यसरि ढल फाल्ने काम त नेवारहरुलेपनि गरेका हुन् नी ! हो फालेका हुन् । तर त्यसरि फाल्ने काम हुँदा त्यसलाई सहने काम कुन शासन ब्यवस्थाले गर्‍यो त ? कसले छुट दियो त ?
अहिले धरान नगरपालीकामा कुनै खरिदारको पद खाली भयो, बागलुङ जिबिसमा कुनै सुब्बाको पद रिक्त रह्यो भने हत्त न पत्ता नेताले आफ्ना कार्यकर्ता भर्ति गर्छन् । स्थानिय परिवेश बुझेको, स्थानिय जनतासित एकाकार भएको, त्यहाँको भूगोल छिचोलेको, स्थानिय भाषा बुझ्ने ब्यक्तिले काम पाउँदैन । उ कि त मन्त्रीको आफन्त हुनु पर्छ । कि त पार्टीको कार्यकर्ता । तर जब देश संघियतामा जान्छ, जब त्यहिँका जनजाति बलिया हुन्छन् तब स्थानिय ब्यक्तिलेनै त्यहाँ प्राथमिकता पाउँछ । नेताको फोन र पार्टीको चिठ्ठीले त्यहाँ कुनै सिप चल्दैन ।
बिग्रँदो वातावरणको संरक्षण कसरि गर्ने ? आफ्नो क्षेत्रका पिछडिएका वर्गलाई कसरि अधिअकर सम्पन्न गराउने ? गरिबको उत्थानकोलागि कस्ता कार्यक्रम चलाउने ? स्थानिय स्तरको शिक्षालाई कसरि प्राथमिकतामा राख्ने ? यी सबै स्थानिय स्तरका चासो र सरोकारका विषय बन्छन् । त्यसकालागि केन्द्रको मुख ताकेर बसिरहनु पर्दैन ।
छन्त्यालहरुको संख्या देशभरिमै करिब १५ हजार छ भनिन्छ । ति मुख्य त बागलुङ र म्याग्दीमा छन् । तिनको कोहि ब्यक्ति सँसद (वा सभासद) नहोला । तर यदि तिनको बहुमत छ एउटा मात्रै गाबिसमा भने पनि त कम्तिमा तिनले आफ्नो गाबिसमा त आफ्नो भाषा, आफ्नो संस्क्रिति, आफ्नो पहिरन, आफ्नो संस्कारकालागि के उपयुक्त हुन्छ निर्णय गर्न पाउँछन् । आफू अनुकुल नीति बनाएर संरक्षित गर्ने अधिकार सुनिश्चित हुन्छ । अहिले त तिनको भोट नगदी गर्ने तर तिनकालागि कुनैपनि न्याय दिने काम कुनैपनि दलले गरेका छैनन् । दिँदापनि अधिकारका रुपमा होइन कि नेताले गुन लगाएका आधारमा हेरिन्छ । यस्ता उदाहरण त कति छन् कति । जब जनजातिको अधिकार बहाली हुन्छ अनि यस्तो अधिकार कम्तिमा स्थानिय निकायमा धेरै ठाउँमा स्थापित हुन्छ ।
उदयपुरमा बाटो निर्माण हुँदै छ भने अहिले पार्टी कार्यकर्ता झण्डा बोकेर, नेताका धाकधम्कि दिएर टेण्डर हत्याउने र आफूखुशि कमिशन कुम्ल्याएर टालटुले पाराले काम सकेर झारा टार्छन् । तिनलाई अर्काको गाउँ जे सुकै हो के मतलव ? सबैले यसैगरि त नसोच्लान् तर के ठोकुवा गर्न सकिन्छ भने स्थानिय स्तरकै निर्णय हुँदा उनीहरु बढि जिम्मेवार हुन्छन् । किनकि तिनलाई आफु बाँच्ने, बस्ने स्थानको सरोकार र माया बढि हुन्छ ।
गाउँका अपराधी, चोर, फटाहा, घुसखोरिया, बलात्कारी, ठेकदार जति संरक्षित भएका छन् ति सबै नेताका संरक्षणमा भएका छन् । त्योपनि केन्द्रित नेता र राजनितिक दल । तर जब संघिय शासन प्रणालीमा गएर स्थानिय निकाय बलियो हुन्छ तब यस्तो प्रथा आफैं कम हुन्छ । किनभने यीनको सरोकार केन्द्रिय नेता, निकाय र दलसित हुन्न । स्थानिय जनताले यस्ता अपराधी र भ्रस्टाचारीलाइ कसरि कारवाही गर्ने स्थानिय निकायमै गर्न थाल्छन् ।
सजिलोसित भनौँ ? जब स्थानिय निकाय बलियो हुन्छ, जनजाति, महिला, हेपिएका, थिचिएका, पिछडिएका जनता अधिकार सम्पन्न हुन्छन् तब हाम्रा प्रचण्ड, सुशिल कोइराला, झलनाथ खनालको अधिकार, हालीमुहाली र निर्देशन काटिन्छ । तिनको मनपरीतन्त्र, पार्टीगत निर्णय र अधिकार का टिएर स्थानिय निकायमा पुग्छ । केन्द्रिय शासन प्रणाली जब खत्तम हुन्छ तब न त सुजाता कोइरालाको लूट रहन्छ । न प्रचन्डले हरुवालाई आफूखुशि ल्याएर मन्त्री पदको पगरि गुथाउन पाउँछन् । न त सुशिल दाले आफ्ना निकटकालाई जिम्मेवार पद दिन पाउंछन् । नत काठमाडौं बसेर ताप्लेजुङ र ईलामका प्रशासनलाई हल्लाउन पाउँछन् । केपी ओली जस्ता भ्रस्ट, बिध्या भण्डारी जस्ता देशका किर्ना, लेखराज भट्ट जस्ता बिदेशीका दलाल, ईश्वर पोख्रेल जस्ता कुटनितिक राहदानी बेचेर खाने डकैत, प्रचण्ड जस्ता नयाँ भेषका भारतीय समर्थकको कुनै गुन्जाइस हुन्न । र हुन्न अतिबादी क्रिष्ण बहादुर भट्टचन जस्ताको गुञ्जाइसपनि । यसो गर्दा हाम्रा नेताको रामराज्य मेटिन्छ ।
जनतालाई अनेक आश्वासन दिएका नेता सबै काठमाडौं केन्द्रित छन् । अनेक प्रलोभन दिएर निर्वाचन जित्यो । भ्रस्टाचार र अनियमितताका अनेक रुप रचेर काठमाडौंमा भवन ठड्यायो । स्थानिय स्तरका जनजातिलाई अधिकार प्रत्यायोजन गर्नासाथ यो संभव हुन्न । किनभने स्थानिय स्तरका नेताको सरोकार भनेको स्थानिय निकायनै हुन्छ । ति त्यहिँका जनतासित एकाकार भएर बस्छन् । आफ्नै निकायको लागि काम गर्छन् । जनताले को असल, को खराब, को क्षमतावान, को स्वच्छ भनेर तत्कालै तौलिन पाउँछन् । अहिले झैं हरेक सरकारी कामकालागि न त काठमाडौं धाउनु पर्छ । नत नेता र पार्टीको जिउ हजुरी बजाउन केन्द्र धाउनु पर्छ ।
स्थानिय स्तरका कुन पर्व, कुन सांस्क्रितिक पहिचानलाई सम्बोधन गर्नु पर्छ ति स्थानिय स्तरमै निर्णय गरिन्छन् । कुन पर्वमा बिदा दिने स्थानिय स्तरमा हुन्छ । कुनै एउटा स्थानिय स्तरको पर्वमा बिदा दिँदा त्यसले न त बाँकि देशको प्रशासनलाई सास्ति दिन्छ न त हाम्रो पर्वलाई चाहिँ मान्यतानै नदिने भनेर स्थानिय जनजातिको गुनासो रहन्छ ।
आफ्नो संस्क्रिति, आफ्नो भेषभुषा, आफ्नो भाषाको कसरि संरक्षण र संवर्धन गर्ने तिनले आफ्नै स्थानिय स्तरको नीति बनाउँछन् । स्थानिय सरकारले आफ्नो स्थान सुहाउँदो छरितो नियम बनाउँछ । त्यसलाई लागू गर्न नसक्दा ति आफैं दोषी बन्छन् । आफैंले नेत्रित्व परिवर्तन गर्छन् । अहिले के भैरहेको छ ? यी सारा अधिकार हाम्रा दल, काठमाडौं केन्द्रित प्रशासन र नेताको मनपरीमा चलिरहेको छ ।
केहि मानिसहरु कुतर्क गर्छन्, लौ लिम्बुवानमा परियो भने बाहुन क्षेत्रीलेपनि लिम्बु भाषा सिक्नुपर्छ । यो साँच्चै कुतर्क हो । अहिले नेपालीहरु मध्ये कम्तिमा ३ भाषा नबोल्ने कोहि हुँदैनन् । हामीले कति सजिलो सित हिन्दी भाषा बोल्छौं ? के त्यो हाम्रो भाषा हो ? हामीलाई अंग्रेजी भाषा बोल्नमा कति गर्व लाग्छ ? त्यसो भए हामीले हाम्रै स्थानिय भाषा बोल्न किन प्राथमिकता नदिने ? अर्को कुरो अंग्रेजी भाषा हामी किन सिक्छौं ? कुनै अवशरका लागि । यदि स्थानिय स्तर बलियो भयो, स्थानिय सरकारले जनताका थुप्रै आवश्यकता पुरा गर्‍यो भने लिम्बु, राई, धिमाल, शेर्पा, मैथिली भाषा के हामीले त्यसैगरि चाख दिएर सिक्दैनौं र ? चितवनमा बस्ने कुन चाहिँ बालबालिकाले थारु भाषा बोल्दैन ? त्यसैले हामी बसेको गाउँठाउँको स्थानिय भाषा त सामान्यरुपमै जानिन्छ, सिकिन्छ । यसलाई कारण देखाएर जसले जनजातिलाई अधिकार दिनुहुन्न भनिरहेका छन् तिनले अड्को थाप्न खोजेका मात्रै हुन् । कि त बुझेका छैनन् वा नेताका भाषणको पछाडि लागिरहेका छन् ।

भाषाबारे ९ आधारभूत प्रश्न बहुभाषिक मुलुकमा नेपाल २० ओं स्थानमा रहेको छ ।

१. विश्वमा कहाँ कति भाषा होलान् ?

    भाषासम्वन्धी सम्पूर्ण जिज्ञासाको उत्तर भाषावैज्ञानिकहरूले खोजेका हुन्छन्। भाषाको अध्ययन अनुसन्धान गर्नेलाई भाषावैज्ञानिक भनिन्छ। उनीहरूका अनुसार हाल विश्वमा छदेखि सात हजार भाषा बोलिन्छन्। इथ्नोलग (२००५) नामक भाषा अध्ययन गर्ने संस्थाका अनुसार हाल विश्वभरिमा ६,९१२ भाषा बोलिन्छन्। यीमध्ये एशियामा ३२.८∞, अफ्रिकामा ३०.३∞, प्यासिफिकमा १९.०∞, अमेरिकी महादेशहरूमा १४.५∞ तथा युरोपका देशहरूमा ३.५∞ भाषाहरू बोलिन्छन् (हे. तालिका–१)। यस तथ्याङ्कबाट एशिया र अफ्रिकामा धेरै र युरोपमा थोरै भाषा बोलिदो रहेछ भन्ने जानकारी हुन्छ। 
तालिका १ ः भूक्षेत्रको आधारमा भाषाको वितरण
   देश      भाषाको    जम्मा
            संख्या     प्रतिशत
१. एशिया     २,२६९     ३२.८
२. अफ्रिका    २,०९२     ३०.२
३. प्यासिफिक           १,३१०    १९.०
४. अमेरिका   १,००२     १४.५
५. युरोप      २३९      ३.५
   जम्मा    ६,९१२     १००.०
२. नेपालमा कति भाषा बोलिन्छन्
   नेपाल बहुभाषिक मुलुक हो। नेपालको राष्ट्रिय जनगणना २०११ अनुसार नेपालमा १२३ भाषा बोलिन्छन्। भाषावैज्ञानिकहरुले नेपालमा १४० को वरिपरि भाषा बोलिन्छन् भन्ने अनुमान गरेका छन्। नेपाली, मैथिली, भोजपुरी, थारु र तामाङ भाषाहरू दशलाखभन्दा धेरैले बोल्दछन् भने ल्होमी, बेलहारे, ब्याँसी, सुरेल, बराम, काइके आदि भाषाहरू एक हजारभन्दा कम वक्ताले बोल्दछन्।
३. विश्वमा धेरै भाषा बोल्ने मुलुक कुन् हो ?
   विश्वमा एकसय भन्दा धेरै भाषा बोल्ने बहुभाषिक मुलुक २३ ओटा छ। नेपाल २०औं स्थानमा रहेको छ। विश्वमा सबैभन्दा धेरै भाषा बोलिने मुलुक पेसिफिक क्षेत्रको पपुवा न्युगिनी हो जहाँ ८२० भाषा बोलिन्छन्। यसपछि इन्डोनेसिया (७४३) र नाइजेरिया (५१६) को नाउँ आउँछ। १०० भन्दा धेरै भाषा बोलिने विश्वका बहुभाषिक मुलुकहरू (इथ्नोलग २००५ को आधारमा) 
    १. पपुवा न्युगिनी (८२०), २. इन्डोनेसिया (७४३), ३. नाइजेरिया (५१६), ४. भारत (४२७), ५. संयुक्त राज्य अमेरिका (३११) ६. म्याक्सिको (२९७), ७. क्यामरुन (२८०), ८. अष्ट्रेलिया (२७५), ९. चीन (२४१), १०. काङ्गो (२१६) ११. जायेर (२१०), १२. ब्राजिल (२००), १३. फिलिपिन्स (१८०), १४. मलेसिया (१४७), १५. (क्यानाडा १४५) १६. सुडान (१३४), १७. चाड (१३३), १८. रसिया (१२९), १९. तान्जानिया (१२८), २०. नेपाल (१२५), २१. भानुवाटु (११५), २२. म्यानमार (बर्मा) (११३) २३. भियतनाम (१०४) । यी २३ देशमा कुल ५,९८९ भाषा बोलिन्छन् ।)
४. भाषा र मातृभाषामा के फरक छ ?
   सामान्य रूपमा हेर्दा भाषा र मातृभाषा एउटै हो तर सुक्ष्म रूपमा हेर्दा केही फरक देखिन्छ–
(क) मातृभाषाको निश्चित थातथलो हुन्छ, निश्चित भूभागमा बोलिन्छन् तर भाषाले आफ्नो थाकथलो गुमाइसकेको हुन्छ अनि भाषिक क्षेत्र विस्तार भइसकेको हुन्छ।
(ख) मातृभाषामा स्थानीय ज्ञानविज्ञान र माटोको सुगन्ध पाइन्छ, यसले जातिको पहिचान बोकेको हुन्छ तर भाषाले स्थानीयता, मौलिकता, पहिचान र माटोको सुगन्ध सवै गुमाइसकेको हुन्छ।
(ग) मातृभाषा कुनै जाति वा समुदायमा सिमित हुन्छ तर भाषा एकभन्दा धेरै जातजाति र समुदायले बोल्ने गर्दछन्। भाषाका वक्ता कुनै एउटा जात÷जाति वा समुदाय मात्र हुँदैन। भाषा कुनै एक समुदायको मात्र मातृभाषा रहदैन।
तामाङ वा लिम्बू भाषा तामाङ र लिम्बू जातिको भाषा हो तर नेपाली वा हिन्दी भाषा कुनै जातजाति वा समुदायको मात्र भाषा होइन। तामाङ भाषाको थाकथलो छ तर नेपाली भाषाको थाकथलो देखाउन सकिन्न। यसले आफ्नो स्थानीयता गुमाइसकेको छ। सामान्य बोलचालीमा मातृभाषालाई पनि भाषा नै भन्ने चलन तर योजना बनाउने र कार्यान्वयनको बेलामा मात्र मातृभाषाको प्रशंग चल्छ। 
५. मातृभाषा भनेको के हो ?
   भाषावैज्ञानिकहरू बच्चाले बोल्न जानेका वा सिकेका पहिलो भाषालाई ‘मातृभाषा’ भन्दछन् अर्थात् बच्चाले बोल्न थालेको पहिलो भाषा नै मातृभाषा हो। तर भाषिक मानवअधिकारकर्मीहरू आफ्ना जाति वा समुदायको भाषा पनि मातृभाषा हो भन्छन्। अर्को एउटा मत पनि पाइन्छ। जुन भाषा राम्रोसँग जान्दछ र जुन भाषामा कार्यक्षमता सहज हुन्छ त्यो उसको मातृभाषा हो।     भाषा अधिकारकर्मी टोभे स्कुटनाब–काङ्गास र रोवर्ट फिलिप्सन्स (१९९५ः३६०) ले चारओटा आधारमा मातृभाषाको परिभाषा प्रस्तुत गरेका छन्।
   मातृभाषाको परिभाषा
१. उत्पत्ति(मूल)को आधारमा – सबैभन्दा पहिले सिकेको भाषा
२. पहिचानको आधारमा – (क) आन्तरिक (क) स्वयम्ले मेरो मातृभाषा हो भनेर पहिचान गरेको भाषा । (ख) वाह्य(ख) त्यो उसको मातभाषा हो भनेर अरूले पहिचान गरेको भाषा ।
३. सक्षमताको आधारमा – आफुले राम्रोसँग जानेका भाषा(हरू)
४. कार्यको आधारमा – आफुले धेरै प्रयोग गर्ने गरेका भाषा(हरू)
स्रोतः लिङ्ग्युस्टिक ह्युम्यान राइन्टस्ः ओभरकमिङ लिङ्ग्युस्टिक डिस्क्रिमिनेसन (१९९५ः३६०)
     माथिको परिभाषा अनुसार बच्चाले सबैभन्दा पहिले सिकेका भाषा नै मातृभाषा हो। यसका साथै वक्ता स्वयमले दावी गर्ने गरेको भाषा र अरूहरूले पहिचान गरिदिएको भाषा पनि मातृभाषा हो। उदाहरणको लागि तामाङहरूले आफुले बोल्ने भाषा तामाङ भाषा हो भने छिमेकीहरूले पनि उनीहरूले बोल्ने भाषालाई तामाङ भाषा नै भनेका हुन्छन्। अनि आफुले राम्रोसँग जानेको र प्रयोग गर्ने गरेको भाषा पनि मातृभाषा हुन् भनिएको छ। सामान्यतः मानिसले आफ्नो उत्पत्ति र पहिचानको आधारमा मातृभाषा किटान गरेको हुन्छ।
६. पहिलो भाषा र दोस्रो भाषा भनेको के हो नि ?
    बच्चाले सबैभन्दा पहिलो बोल्न सिकेका भाषालाई भाषावैज्ञानिकहरु ‘पहिलो भाषा’ भन्दछन् अर्थात् बच्चाले बोल्न थालेको भाषा नै पहिलो भाषा हो। बालकले क्रमशः आफ्नो परिवेशको भाषा पनि सिक्दछ। पछि सिकेका भाषालाई दोस्रो भाषा भनिन्छ। दोस्रो भाषा एक भन्दा धेरै हुन सक्दछ। उदाहरणको लागि मैले आफ्नो गाउँको विद्यालयमा गएपछि नेपाली भाषा जानेँ। भारतको पश्चिम बंगालको कोलकातामा अध्ययनको क्रममा दशवर्ष बस्दा कक्षाकोठामा हिन्दी भाषाको माध्यामबाट पढाइ हुन्थ्यो, बंगाली भाषा हाटबजार र स्थानीय भाषा थियो, त्यो पनि जानेँ। मेरा साथीहरु मैथिली, भोजपुरी, अवधी र उर्दू भाषी थिए। ती भाषा पनि संगतले जानेँ। यी सबै मेरा दोस्रो भाषा हुन्। दोस्रो भाषा क्रमशः बढदै पनि छन्। शिक्षा क्षेत्रमा पहिलो भाषा, दोस्रो भाषा र शास्त्रीय भाषाको चर्चा हुन्छ। संस्कृत, पाली, तिब्बती, ल्याटिन, अरेबिक आदि शास्त्रीय भाषा (Classical Language) हुन्।
७. प्रत्येक जातिको आआफ्नै मातृभाषा हुन्छ ?
   प्रत्येक जातिको आफ्नै मातृभाषा नहुन पनि सक्दछ। जाति र भाषाको अन्तरसम्वन्धबारे तीन ओटा सिद्धान्त देखिएको छ –
(१) एक जाति एक भाषा (उदा. तामाङ, लिम्बु आदि)
(२) एक जाति धेरै भाषा (उदा. मगर, यादव आदि) अनि
(३) धेरै जात÷जाति एक भाषा (नेवार, मैथिली, नेपाली आदि)।
    नेपालमा माथि उल्लेख गरिएका कुनै एउटा मात्र सिद्धान्त लागू हुन सक्दैन। तामाङ, गुरुङ, लिम्बु, धिमाल, शेर्पा, थामी, चेपाङ आदि भोट–बर्मेली परिवारका आदिवासी जनजातिका आआफ्नै बेग्लाबेग्लै मातृभाषा छन्। तामाङ भनेको जाति पनि हो र भाषा पनि हो। लिम्बु जाति पनि हो र भाषा पनि। यसबाट एक जाति एक भाषाको सिद्धान्त स्थापित हुन्छ।
यादवहरूको मातृभाषा एउटै छैन। जनकपुर क्षेत्रका यादवहरूको मातृभाषा मैथिली हो भने वीरगञ्ज क्षेत्रका यादवहरूको मातृभाषा भोजपुरी अनि कपिलवस्तु क्षेत्रका यादवहरूको मातृभाषा अवधी हो। कतिपय यावदहरूले बज्जिका भाषा पनि बोदछन्। यसबाट नेपालका यादवहरूका तीन भन्दा धेरै मातृभाषा रहेछन् भन्ने देखिन्छ। मगरहरू पनि ढुट, खाम (पाङ) र काइके गरी तीन ओटा मातृभाषा बोल्दछन्। यस तथ्यबाट एक जाति धेरै भाषाको सिद्धान्त प्रतिपादन हुन्छ।
नेपाली, मैथिली, भोजपुरी, अवधी आदि भारोपेली भाषा धेरै जात÷जाति र समुदायले बोल्दछन्। नेपाली भाषा बाहुन, क्षेत्री, दशनामी र दलित समुदायले बोल्दछन्। नेवार जाति होइन भाषिक समुदाय हो। नेवारभित्र धेरै जात÷जाति र धार्मिक समुदाय छन्। यसबाट एउटा भाषा धेरै समुदायले बोल्दछन् भन्ने सिद्धान्त प्रतिपादन हुन्छ।
८. मातृभाषा किन महत्वपूर्ण हुन्छ ?
   मातृभाषाले स्थानीय मौलिक संस्कृति र माटोको सुगन्ध बोकेको हुन्छ। स्थानीय ज्ञानविज्ञानका स्रोत पनि मातृभाषा नै हो। स्थानीय सामाजिक, सांस्कृतिक, भौगोलिक तथा वातावरणीय परिवेशको ज्ञानविज्ञान पनि मातृभाषामा अभिव्यक्त हुन्छ। आदिवासीका लागि मातृभाषा जातीय पहिचान र संस्कृतिका वाहक पनि हो। उदाहरणको लागि नेपालीमा ‘जुका’ र अङ्ग्रेजीमा ‘लिच’ (Leech) शब्दको लागि तामाङ भाषामा तीन शब्द छन्– ‘म्लित्’, ‘तिबात्’ र ‘ताङ्बात्’ (तिमाले भाषिकामा म्लि, तिबाइ र ताङबाइ भन्दछ)। ‘म्लित्’ शब्दले नाकमा पस्ने जुका जनाउँछ, ‘तिबत्’ले खुट्टामा टोक्ने जुका बुझाउँछ र र ‘ताङ्बात्’ले टाउकोतिर झर्ने ठुलो खाले जुका बुझाउँछ। यी शब्दले भूगोलको उचाइको पनि प्रतिनिधित्व गरेको छ। ‘म्लित्’ गर्मी भूक्षेत्रमा, ‘तिबत्’ जाडो हुने भूक्षेत्रमा र ‘ताङ्बात्’ हिउँ पर्ने लेकाली क्षेत्रमा पाइन्छन्। यस प्रकारका ज्ञान नेपाली शब्द जुका र अङ्ग्रेजी शब्द लिचले बोक्दैन।
   यसै गरी भोट–बर्मेली भाषाहरूमा दिशाबोध गराउने सर्वनाम पाइन्छ। नेपाली भाषाका ‘त्यो’ शब्दको लागि तामाङ भाषामा तोजा, माजा, केजा, होजा जस्ता सर्वनामको प्रयोग हुन्छ। यी शब्दहरूले स्थानका साथसाथै भौगोलिक क्षेत्र र इतिहास पनि सङ्केत गरेको हुन्छ। यस्तै कुलुङ भाषामा काटनु शब्दको १८ प्रकारका शब्दावली छन्। यो नै भाषामा निहित मौलिक ज्ञानविज्ञान हो।
   तामाङ लोकसाहित्यमा मातृभाषालाई निकै महत्व दिएको छ। तामाङ लोकसाहित्यमा मातृभाषाको महत्वलाई निम्न शब्दमा दर्साएका छन्–
चिनियाभोटेनेवारी,
तामाङखम्बुहोल्माली
बोल्छन् आफ्नै भाषाले
भाषा त पूर्खाको आशिर्वाद
भाषा त देशको गहना हो
आफ्नो भाषा न छोड्नोस्
हराउँछ ताम्बाफैलिन्छ पाप
सन्तानधर्म सब जान्छ
अरूले हामीलाई के भन्लान्
आफ्नो भाषालाई नछोडौँ
चिताएको पुग्नेछ ।
– सन्तवीर लामा, ताम्बा काइतेन व्हाइ रिमठिम (१९५७ः२६)
    तामाङहरू आफ्नो मातृभाषालाई पूर्खाको आशिर्वाद ठान्दछन्, देशकै गहना मान्दछन्। उनीहरूले मातृभाषा छोडेमा आफ्नो जातीय पहिचान गुम्ने र मातृभाषालाई बचाइ राखेमा चिताएको पुग्ने अवधारणालाई स्थापित गरेकाछन्। यसका साथै भाषामा संस्कृति, धर्म, सन्तानका साथै लोकलाज पनि जोडिएको हुन्छ भन्ने जीवनदर्शन पनि स्थापित गरिएको प्रस्टै देखिन्छ। यसबाट तामाङका पूर्खाले मातृभाषालाई निकै महत्वका साथ हेरेका रहेछन् भन्ने पुष्टि हुन्छ।
   यसै गरी अर्को एउटा लोककवितामा भाषालाई देश र समाजभित्र रहिरहने महत्वपूर्ण सम्पदाको रूपमा पनि हेरिएको छ –
आफ्नो धर्मआफ्नो ग्रन्थ
आफ्नो किपटसंस्कृति र भाषा
आफ्नै देशभित्र रहन्छ
आफ्नै समाजमा मिल्दछ ।
       – सन्तवीर लामाताम्बा काइतेन व्हाइ रिमठिम (१९५७ः३१)
    यसै गरी केन्या (अफ्रिका) का किप्लाङात चेरुइयोत (२००७) ले मातृभाषालाई संस्कृतिका वाहक मानेका छन्– ‘भाषा हराउनु भनेको संस्कृति हराउनु हो र संस्कृति हराउनु भनेको अमूल्य ज्ञान पनि लोप भएर जानु हो।’ उनले थपेका छन् – ‘मानिस र समुदायका पूर्खाले आर्जन गरेका ज्ञान, बुद्धि र परम्परागत स्थानीय नामलाई पुस्तान्तरण गरी निरन्तर बचाइ राख्ने सबैभन्दा शसक्त आधिकारिक माध्यम मातृभाषा नै हो।’ ग्लोभिया एन्जाल्डना (१९८७) ले जातीय पहिचान र भाषिक पहिचानलाई एउटै सिक्काका दुइ पाटा हुन् भनेकी छिन्।
   डा. हर्क गुरुङ (२००५ः१) ले ‘जनजातिको पहिचानको आधार आफ्नै मातृभाषा हो’ भनेका छन् अनि प्राज्ञ वैरागी काइँला (२०६२ः६)ले ‘जाति र भाषालाई अलग गरेर हेर्न सकिँदैन’ भनेका छन्।
यसै कारणले संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले मातृभाषा दिवस मनाउन थालेको छ। १९९९ मा सम्पन्न युनेस्कोको महासभाको ३० औं सत्रले प्रत्येक वर्षको फेब्रवरी २१ का दिन विश्वभरि नै मातृभाषा दिवस मनाउने निर्णय ग¥यो। यसै निर्णय अनुसार युनेस्कोले २००० इ. मा पहिलो पल्ट अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको थियो। यस संस्थाले मातृभाषाको संरक्षण र विकासमा जोड दिन्छ। वास्तवमा युनेस्कोले मातृभाषा दिवस मनाउन आव्हान गर्नथाले पछि नेपालमा पनि भाषिक चेतमा वृद्धि भएको छ।
९. मातृभाषालाई कसरी बचाउन सकिन्छ ?
   मातृभाषाको संरक्षण गरिएन भने भाषिक समुदायले लोकतन्त्रको उपभोग गर्न सक्दैनन्, सामाजिक न्याय पाउन सक्दैनन्। यस सम्वन्धमा डा. टोभे स्कुटनाब–काङगास् र डा. रोवट फिलिप्सन् (२०००) ले लेखेका छन्– भाषिक समुदायलाई भाषिक समानता दिइन भने उनीहरूको (१) राजनीतिक प्रतिनिधित्व उचितढंगले हुनसक्दैन, (२) उचित न्याय पाउने अवसर गुम्छ (३) शिक्षामा पहुँच हँुदैन (४) सूचनामा पहुँच हुदैन (५) लोकसेवामा पहुँच हुदैंन (६) वाक स्वतन्त्रता कुष्ठित हुन्छ (७) स्थानीय प्रशासनमा भाषाको प्रयोग हुदैन र (८) साँस्कृतिक सम्पदाको उचित संरक्षण हुन सक्दैन। यसरी कुनै मातृभाषाले सामाजिक न्याय नपाउँदा उसले सबै थोक गुमाउँछ।
   मेरो विचारमा मातृभाषालाई बचाउने प्रमुख आधार हो – पुस्तान्तरण। नयाँ पुस्तामा पुस्तान्तरण हुनसकेन भने मातृभाषा बाँच्न सक्दैन। यसर्थ सर्वप्रथम मातृभाषा भान्छाकोठामा बोलिनु पर्दछ, परिवारजन, आफ्न्तजन र नातागोतासँग प्रयोग गरिनु पर्दछ। धार्मिक तथा सांस्कृतिक सन्दर्भ र क्रियाकलापहरूमा प्रयोग गर्नु पर्दछ।
लोकसाहित्य सङ्कलनका साथै लेख्य साहित्यको सिर्जना गरिनु पर्दछ। हेक्का राख्नु पर्ने कुरा के हो भने भाषा प्रयोगमा बाँच्दछ। शब्दकोश र व्याकरण लेख्दैमा भाषा बाँच्दैन।
   यसका साथै मातृभाषालाई आमसञ्चारको माध्यम (रेडियो, एफएम, टिभी, छापा, एसएमएस, फेसबुक आदि) मा प्रयोग विस्तार गरिनु पर्दछ। बालबालिकालाई उनीहरूको मातृभाषाको माध्यमबाट शिक्षा दिइनु पर्दछ। सम्भव भएसम्म स्थानीय तहमा प्रशासनको भाषा बनाइनु पर्दछ। न्यायप्रणालीमा पनि मातृभाषाको प्रयोगलाई विस्तार गरिनु पर्दछ। अत्यन्तै लोपोन्मुख भाषालाई पुस्तान्तरण गर्नका साथै शब्दकोश, व्याकरण तयार गरिनुका साथै अडियो, अडियो–भिडियो आदिमा पनि डकुमेन्टेसन गरिनु पर्दछ।
   भाषा बचाउने अर्को दिगो उपाय हो– साहित्य सिर्जना। लेख्य साहित्य सिर्जनामा मूलतः युवा पुस्तकाहरू लाग्नु आवश्यक छ। लोकसाहित्यले लोकजीवनको अभिव्यक्ति र अनुभूति बोकेको हुन्छ। यसर्थ लोकसाहित्यको सङ्कलन र सम्पादन गरिनु पर्दछ। बालशिक्षा प्रारम्भ गर्न पनि साहित्य चाहिन्छ भने स्नातकोत्तर तहको अध्ययन अध्यापन गर्न पनि साहित्यले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यसर्थ मातृभाषीहरू आफ्नो भाषामा साहित्य सिर्जनातर्फ सक्रियताका साथ लाग्नु आवश्यक छ।
    मातृभाषीहरूले आफ्नो मातृभाषाप्रति सवैले गर्व गर्न जान्नु पर्दछ। जातीय पहिचान र सांस्कृतिक मूल्य–मान्यता बचाइ राख्ने हुनाले जीवनयापनको हरेक क्षेत्रमा घरभित्र र घरबाहिर जहाँ जहिले सम्भव छ सगर्व आफ्नो मातृभाषा प्रयोग गर्नु पर्दछ। अन्त्यमा अमेरिकी आदिवासी डारिल बेब विल्सनको विचार राख्न चाहन्छु–
    "We must know the white [man's] language to survive in this world. But we must know our language to survive forever." (यो संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (मान्छेको) भाषा जान्नु पर्दछ तर सर्धैसधैं बाँच्नका लागि आफ्नै भाषा जान्नु पर्दछ ।)
   यस भनाइलाई मनन गर्नु सक्नु भयो भने तपाई आफ्नो पहिचानसहित बाँच्न सक्नु हुन्छ। धन्यवाद।

अमृत योन्जन–तामाङ
पुरानो वानेश्वरहाइट, काठमाडौं
जेठ २०७०

Saturday, March 15, 2014

ताम्सालिङ पहिचान हो

पहिचान भनेको भाषा धर्म सस्क्रिती भेष भुषा मात्र होइन भुगोल पनि हो । बिभिन्न ठाउँको नाम आदिबासीहरुको आफ्नै भाषामा हुनुले त्यो भुगोल सँग त्यो समुदायको एेतिहासिक सम्बन्ध जोडीएको हुन्छ । जस्तै प्राय सबैले सुनेकै हुनुपर्छ तेमालको नाम जुन तामाङ भाषाको नामबाट बनेको एउटा ठाउँको नाम हो यो ठाउँको नाम तामाङ भाषाबाट हुनुले त्यहा तामाङहरु आदिकाल देखी बस्दै आइरहेको त्यहाको आदिबासी समुदाय हो भन्ने एेतिहासिक प्रमाण देखाइरहेको हुन्छ ।

काठमान्डौ उपत्यकाको नामहरु पनि तामाङ भाषाबाट रहेको थियो जस्तै काठमाण्डौलाई याम्बु, भक्तपुरलाई खोपाङ र ललितपुरलाई हेराङ भनिन्छ तामाङहरुले अहिले सम्म पनि भनिरहेका छन । तर पछी खस आर्य ब्राम्हणहरु उपत्यकामा भित्रे पछी ति ठाउँहरुको नाम मेटाएर काठमाण्डौ, भक्तपुर, ललितपुर नामाकरण गरिदिए । जब यि ठाउँहरुको नाम खस भाषिक करण गरे तब यि ठाउँहरुबाट अर्थात यि उपत्यकाको भुगोलबाट तामाङ जातिको एेतिहासिक बसोबासको सम्बन्ध टुट्न पुगे । उपत्यकाको नामहरु तामाङ भाषाबाट रहनुले तामाङहरु उपत्यकाको आदिबासी समुदाय हो भन्ने प्रमाणित गरिरहेको हुन्छ जब ति नामहरु मेटाएर पछी प्रबेश गरेका खस आर्यहरुले आफ्नै भाषामा नामाकरण गरे उपत्यकाको नामहरु खस आर्यहरुको भाषामा भए पछी उपत्यकाको रैथाने आदिबासी समुदाय खस आर्यहरु चाही हो भन्ने देखिन पुग्छ र देखियो पनि ।

यसरी आदिबासीहरु बस्ने एेतिहासिक भुगोलको नामहरु आदिबासीहरुको आफ्नो भाषामा नभए पछी त्यो भुगोल सँग आदिबासी समुदायको एेतिहासिक सम्बन्ध अलग हुन पुग्छ अर्थात पहिचान बिहिन बन्न पुग्छ । यसकारण आदिबासी समुदायको भाषामा रहेको त्यो एेतिहासिक पुरानो ठाउँको नामहरु पुन प्रयोगमा ल्याउनु जरुरी छ र समग्रमा तामाङहरु एेतिहासिक काल देखी बस्दै आएको भुगोलको नाम ताम्सालिङ नै हो ताम्सालिङ पहिचान हो, लिम्बुवान पहिचान हो, खम्बुवान तमुवान पहिचान हो, नेवा मगरात थरुहट खसान पहिचान हो ।

Thursday, March 13, 2014

ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ: समाजशास्त्री डोरबहादुर विष्ट

डोरबहादुरको त्यो अन्तर्वार्ता

गुणराज लुइँटेल |

चर्चित समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा अन्तर्वार्ता लिने अवसर मिलेको थियो। मुलुकमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएयता जातीय चिनारीको राजनीतिले पनि विस्तारै गति लिन थालेको थियो।

प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको हाम्रो समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए।
मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन। जनआस्था साप्ताहिकका निम्ति यो पंक्तिकारले उनको अन्तर्वार्ता लिने मौका पाएको थियो। साथमा थिए, फोटोपत्रकार सन्तोष पोख्रेल।
अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भन्ने तर्क पनि अघि सारे। अखबारले यही भनाइलाई शीर्षक बनाएर छाप्यो। चर्चा झन् चुलियो। प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो।
अहिले फर्केर हेर्दा त्यो अन्तर्वार्तामा उनले व्यक्त गरेका धारणा आफैंमा विस्फोटक छन्। उनले आफ्नो अध्ययनबाट देखेका विषयलाई प्रस्ट शब्दमा राखे। उनले आफ्ना धारणामात्र राखेका होइनन्, कर्णालीको बाह्रबीसमा कर्णाली इन्स्टिच्युट खोलेर बसेको तीन वर्ष पुगिसकेको थियो। उनी उताबाट काठमाडौं आएको मौका पारेर हामी अन्तर्वार्ताका निम्ति उनलाई भेट्न गएका थियौं।
यो पंक्तिकारको सम्झनामा अहिले पनि उनी झल्झली छन्। आजभन्दा १८ वर्षअघि उनले त्यो अन्तर्वार्ता दिएको केही दिनमै बेपत्ता भए वा पारिए। त्यसयता उनको खोजी भइरहेको छ। हामीले उनको घरबाहिरै बसेर लामो कुराकानी गरेका थियौं। हाम्रानिम्ति उनका धारणा अगम्यजस्ता थिए। फेरि उनीसँग बसेर उनलाई सुन्ने हाम्रो अग्रिम वाचाबन्धन पनि थियो। तर, त्यो कहिल्यै पूरा भएन। प्रस्तुत अन्तर्वार्ता सामान्य भाषिक सम्पादनसहित जनआस्था साप्ताहिकबाट साभार गरिएको हो।
नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ। यसको कारण के होला?
अहिले मानिसहरूले जातीय कुरा गर्नु अति स्वाभाविक हो। नेपालका दुई जाति खस र किराँतमध्ये खस बढी बसाई सरेको जाति हो। खस-आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन्। उनीहरूले छिटो हिँड्ने जनावरहरू गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावरहरू लिएर हिँड्दा घाँसेमैदानमा धेरै चाँडो हिँडे।
किराँत जातिहरू चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो। त्यही भएर उनीहरूले भैंसी, सुंगुरजस्ता छिटो नहिँड्ने जनावर पाले। किराँत वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ। खस पूर्वतिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग पर्‍यो।
किराँत भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ। त्यसले गर्दा खस-आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइएपछि नाक चुच्चे-सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो।
तपाईंले भन्ने गरेको ‘बाहुनवाद’ कतिजनाले बुझे त?
धेरै नै युवा बाहुनहरूले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु। मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्‍यो भन्ने अर्थ लगाए। अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो।
तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्‍यो। नेपाली मान्छे भएपछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस्, मन लागेका ठाँटको घर बनाउनोस्, मन लागेको पार्टनर छानेर विवाह गर्नोस् र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस्, कसले के भनेको छ र?
यथार्थमा ‘बाहुनवाद’ भनेको के हो?
ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ। अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन।
सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं। पौरख नगर्ने हामी कहिले खुसी हौंला त?
अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो।
हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो। त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ। ‘बाहुनवाद’ नफालेसम्म देशले पौरख गर्दैन। पौरख गर्ने जनता नहुँञ्जेल देशले उन्नति गर्दैन।
तपाईं त संस्कृत राम्रोसँग बुझ्ने र पढ्ने मान्छे हुनुहुन्छ। एमाले सरकारको पालामा रेडियोबाट संस्कृतमा समाचार आउँदा त निकै राम्रो लाग्यो होला?
संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन। गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो। केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले। संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन।

कसैकसैले त्यसलाई ‘मृत: भाषा’ पनि भन्छन् किनभने संस्कृत भाषामा बोल्ने चलन कहीँ पनि छैन। यसभित्र अनन्त ग्रन्थ छन्, आवश्यकता ती ग्रन्थहरू पढ्नु र त्यसबाट शिक्षा लिनुमात्र हो। संस्कृत भाषाकै विकास गर्नु होइन। चेपाङ भाषामा खबर दिएको भए दुइटा चेपाङले त देशको कार्यक्रम बुझ्थे। अब यो संस्कृत समाचार दिएर कसलाई शिक्षित बनाउन खोजिएको हो?
तपाईं ‘खस’ हरूलाई पनि जनजातिको दर्जा दिन थाल्नुभएको छ। यसको कारण चाहिँ के हो?
खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन। खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो। आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन। त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने?
अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो। अहिले पूर्वतिर धमाधम जनै लगाएर किराँतीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ। जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो। तर मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुँदेका छन्। आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होला?
पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौं भन्दै जनै लगाइदिँदा तिनै खस बडा सम्मानित भए। पछि बाँकी खसलाई शुद्र हौं भनिरहे। जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो। पुर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ।
तपाईं आफ्नो पुस्तक ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ को प्रयोग गर्नै भनेर जुम्लाको चौधबीसमा काम गरिरहनुभएको छ। अहिले प्रयोग कति सार्थक हुँदैछ?
बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन्। सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे। बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थें। भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं। बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो। त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन।
त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो पर्‍यो। ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें। तर पूर्वतिर एउटा सकसकी आइसकेको छ, किराँत वर्गमा। त्यसैले म खसान क्षेत्रतिर गएँ। योगी नरहरिनाथ पनि खस हुन्। उनी आफू बाहुन भएर हिँड्छन्। तर मैले खसको जुन कुरा गरेको छु उनले त्यो कुरा गरेका छैनन्। योगी नरहरिनाथमा पनि हिन्दू धर्मको वर्णाश्रम व्यवस्थालाई हेर्ने कमजोरी छ।
खसमा किन अवन्नति आयो भन्ने कुरालाई योगीले राजनीतिक ढंगले मात्र हेरेका छन्, ऐतिहासिक ढंगले हेरेका छैनन् । तर मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु। जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन। बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ। मेरो उद्देश्य साम्प्रदायिक होइन। खसहरूलाई जनजाति बनाउनु हो।
अहिले नेपालमा ‘गाईखाने’ कुराको विवाद निकै चर्केको छ। यो विवाद तपाईंलाई कस्तो लाग्यो?
यो कुनै मुद्दा होइन। पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवैपटक राजनीतिक बोली बोलेका हुन्। यथार्थ कुरा के हो भने नेपाल आदिकालदेखि गाईखाने देश पनि हो। अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन्। नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन। नेपाल हिन्दू-अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्‍यो।
राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो। यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो।
यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन्। स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन्। यो झगडा गर्ने एउटा निहुँमात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ।
योगी नरहरिनाथले गाई काट्ने कुरालाई बहुतै उचाल्नुभएको छ। तपाईं योगीजीको गतिविधिलाई कुन रूपमा हेर्नुहुन्छ?
म भए त्यसरी उछाल्ने थिइनँ। जेसुकै कुरालाई पनि बढी उछाल्नुको अर्थ हो- बढी दंगा मच्चाउनु। दंगा भोलि हिंस्रक पनि हुन सक्छ। व्यक्तिले दीर्घकालीन कुरा गर्नुपर्छ। एकै छिनलाई पनि नहुने कुरा गर्न हुँदैन।
तपाईं बाहुन युवाहरूलाई के सल्लाह दिनुहुन्छ?
पुरोहितका छोराहरूलाई भन्ने गरेको छु- तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन। त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक। पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्रर उडेर स्वर्ग जान्छौं’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ।
नेपालका शाह राजाहरूलाई मगरका सन्तान भन्दै आउनुभएको छ। यसलाई प्रमाणित गर्ने कुरा के हुन्?
नेपालका एकीकरण गर्ने राजा क्षेत्रीय नै हुनुपर्छ भन्ने व्याख्या पढाइ नभएका बाहुनहरूले गरे। राजालाई राज्य जोगाउनुछ, जे नाउँ राखे पनि पुगिहाल्यो। म विकासको इतिहास हेर्छु राजसत्ता र सत्ता परिवर्तनको इतिहाससँग मलाई चासो छैन। हाम्रो राजाका पुर्खामा मिचा, खान्चा भन्ने थिए। नाम देख्नेबित्तिकै यहाँ मुस्लिम भने।
तर मगर भाषामा ‘मिचा’ ‘खान्चा’ को अर्थ ‘जेठा’, ‘कान्छा’ हो। पछि मुस्लिम प्रभाव परेपछि सिंह, खाँ, आदि राखे। चितौनगढबाट भागेर आएका हुन् भनेर हिन्दुस्थानका राजपुतले किन आफ्नो छोरालाई जेठा (मिन्चा), कान्छा (खन्चा) भन्नुपर्थ्यो? पृथ्वीनारायण शाहका मावली दिग्वन्धन सेन मगर हुन्। उनकी आमा पनि मगर हुन्।
नेपालमा तीन देवीका मन्दिर छन्- पाल्पाको लसर्गादेवी, गोरखाको गोरखकाली र मनकामना। त्यहाँका पुजारी मगरमात्र छन्, अरूले प्रवेश गर्न पाउँदैनन्। त्यहाँ अझ पाल्पाको लसगीदेवीमा सुँगुर काट्नुपर्छ र जाँडरक्सी पनि जान्छ। अहिले सुँगुरको साटो बनेल जान्छ।
यहाँ आएर राजा भएको भनेर लंगडो तर्क दिइएका छन्। राजपाठ छोडेर भागेर आएको कुनै व्यक्तिलाई आउनासाथ यहाँ कसले ‘ओ हो ! तँ आइछस्, राजा हो’ भन्छ ? न त यहाँ आएर नेपालको राजालाई परास्त गरेको छ। यसकारण नै मैले अहिलेका राजाका पुर्खा मगर हुन् भनेको हुँ। मैले कुनै नयाँ कुरा गरेको होइन।

Wednesday, March 12, 2014

संघात्मक राज्य प्रणाली र क्षेत्रिय तथा जातिय प्रश्न

नेपाल सरकारले मुलुक संघिय व्यवस्थामा जाने निर्णय गरी सकेको छ । तर कस्तो किसिमको संघिय प्रणालीमा जाने हो, अझै सम्म सरकार मात्र होईन, धेरै बुद्धिजीवी र राजनितिक कर्मीहरु पनि यसमा अलमलिएको देखिन्छ । त्यसैले संसदबाट मुलुक संघिय व्यवस्थामा जाने भनिए तापनि संघिय शासन प्रणाली बारे सरकार अलमलिएको छ ।


प्रचिन समय देखि नै संसार भरी विभिन्न किसिमको शासन व्यवस्था चल्दै आएको छ । यस मध्ये राजतन्त्रात्मक सरकार (monarchy), सैनिक तानाशाह सरकार (military dictatorship), अल्प-संख्यकहरुको सरकार (oligarchy), बौद्धिक वर्गको सरकार (meritocracy), जन-प्रतिनिधिहरुको सरकार (democracy), निर्वाचित तानाशाही सरकार (Autocracy), धार्मिक गुरुहरुको सरकार (Papacy) र धनाध्यहरुको सरकार (Aristocracy) आदि आदि ।

तर मुलुकको शासन सत्तामा रही शासन गर्ने राजनैतिक पार्टी, व्यक्ति वा समुहहरुको जे जस्तो दर्शन, सिद्धान्त र नीति भएता पनि सरकारले शासन गर्ने राज्य प्रणाली संसारभर नै जम्मा दुइ किसिमको हुन्छ ।

(०१) - केन्द्रकृत राज्य प्रणाली (Centralized Government):- यस प्रणालीलाई मध्य युगिन सरकार पनि भनिन्छ । यस एकिकृत राज्य प्रणालीमा संघिय सरकार (confederate) को स्वरुप पनि हुन सक्तछ । यो सार्बभौम सरकारहरुको संघ हो, र यस प्रकारको सरकारमा संवैधानिक अधिकार बाँड फाँड नगरिने भएकोले हुकुमी प्रवृतिको हुन्छ ।
(०२) - विकेन्द्रकृत सरकार (De-Centralized Government):- यस प्रकारको राज्य प्रणालीलाई आधुनिक प्रणाली पनि भनिन्छ । यस अर्न्तर्गत संघात्मक राज्य प्रणालीको स्वरुप हुन्छ । यस प्रणालीमा केन्द्र सरकार र स्थानिय सरकारहरुको बिच संवैधानिकरुपमा अधिकारहरुको स्पस्ट बांडफांड भएको हुन्छ ।

केन्द्रकृत सरकार भनेको के हो ? :- जुन मुलकमा सरकारको दैनिक प्रशासनिक कामकाज केन्द्रको अर्थात राजधानीको निर्देशनानुसार वा आदेश बमोजिम संचालन हुन्छ, त्यस प्रकारको शासन प्रणालीलाई केन्द्रकृत सरकार भनिन्छ । यसमा निर्वाचित जनप्रतिनिधिहरुको सरकार होस, राजाको एकलौटि हुकुमी शासन होस, कम्युनिष्ट सरकार होस, सैनिक शासन होस वा कुनै पनि निर्वाचित वा स्वघोषित सरकार वा व्यक्तिको सरकार होस, यदि एउटै केन्द्रको निर्देशसानुसार वा आदेशानुसार मुलुकको प्रशासन चल्छ, भने त्यो केन्द्रकृत सरकार नै हो ।

नेपालमा राणा शासन र त्यसको अघि पछि, पंचायती सरकार र हाल सम्मको जनप्रतिनिधिहरुको सरकार (democracy) हरुको नीति र स्वरुपमा जे जस्तो फरक भए तापनि सबैले एउटै केन्द्र - (राजधानी काठमाण्डौ) बाटै नीति निर्देशन र आदेश दिई मुलुकमा शासन चलाए वा चलाउदै छ । त्यसैले आज सम्मको नेपालको शासन व्यवस्था र सरकार केन्द्रकृत नै हो । स्थानिय निकायहरुलाइ बढी अधिकार दिने नाउंमा पंचायतकालमा "विकेन्द्रीकरण ऐन" र राजाको प्रत्यक्ष शासनकालमा "स्थानिय स्वयात्त ऐन" ल्याईए तापनि, त्यो लागु गरिएन ।

एउटा विद्यार्थीले आफनो नांउ सच्याउने देखि स्कुलको छाना हाल्ने, ठेकका पट्टाको लाईसेन्स लिने, कुलो पानी बनाउनृ, नाता प्रमाणित गर्ने जस्ता सामान्य कार्यको लागि नेपालीहरुले राजधानी काठमाण्डौ नआई / नधाई सु:ख पाउदैनन् । जनता मन्त्रि र शक्तिशाली पहुंच भएकाहरुको चाकडी र निगाहामा बांचेका छन् वा बांची रहेका छन् । जिल्ला आदिका प्रशासनिक निकायहरुका निजामति, प्रहरी वा सैनिकको तालुकदार र कर्मचारी सबै केन्द्र सरकार द्धारा नियुक्त गरी खर्टाईएको हुन्छ । जिल्लाका राजनैतिक निकायहरु केन्द्रीय सरकारको निति निर्देशन र आदेश पालना गर्ने एउटा तावेदार मात्र हुन । नेपालको हकमा राणाकालिन बडा हाकिम, पंचायतकालिन अंचलाधीश र हालको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु मात्र होईन प्रहरी, मालपोत, अदालत, सिंचाई, अर्थात सबै विभागका जिल्ला स्तरका कर्मचारी केन्द्र सरकार बाटै खटिन्छन । कर्मचारीले राम्रो काम गरेमा पुरस्कार र खराब काम गरेमा दण्ड गर्ने अधिकार जिल्लाका जनप्रतिनिधिहरुलाई हुंदैन र छैन । यसको सम्पूर्ण अधिकार केन्द्रीय सरकारलाइ हुन्छ वा छ ।

स्थानिय जनप्रतिनिधिहरुलाई कर्मचारीहरुलाई पुरुस्कार र दण्ड गर्ने कानुनी शक्ति र अधिकार नभएकै कारण कर्मचारीहरुले केन्द्रमा बसेको आफनो हाकिमलाई मात्र चित्त बुझ्ने र रिझाउने गरी जिल्लामा काम गर्छन, अर्थात गर्दै छन । जिल्लाको प्रशासन जिल्लाका जनताको आवस्यकता र चाहना अनुसार नभई केन्द्र (राजधानी) मा बसेका सत्ताधारी मन्त्रि वा नेताहरुको चाहाना अनुसार गर्ने भएकोले जनताले न्याय नपाउने मात्र होईन विकास र निर्माण पनि चित्त बुझदो हुंदैन । नेपालको वर्तमान प्रजातान्त्रिक व्यवस्थामा जनताले रित्तो मुख खेलाउन पाउने बाहेक केही पाएको छैन । वर्तमान सरकारको राज्य प्रणाली पनि पृथ्वी नारायण शाह देखी आज सम्म एक रत्ति फरक छैन । यसरी राज्य संचालनको सम्पूर्ण अधिकार एउटै केन्द्रमा सिमित रहने केन्द्रकृत व्यवस्थालाई राजनीतिक शास्त्रको दृष्टिकोणमा पछौटेपनको द्यौतक, जनविरोधी र मध्ययुगिन शासन प्रणाली भनिन्छ ।

यस प्रकारको जनविरोधी राज्यको शासन प्रणाली युरोप, अमेरिका र विश्वका विकसित धेरै मुलुकहरुबाट हटी सकेपनि नेपाल लगायत मध्य पूर्ब, अफ्रिका, लेटिन अमेरिका र एशिया महाद्धिपहरुका पछौटे मुलुकहरुमा यस प्रकार को केन्द्रकृत राज्य प्रणाली छ । जहाँ बढी शक्ति हुन्छ, त्यहाँ नै बढी भ्रष्टाचार हुने भएकोले, आज संसारमा यस्ता केन्द्रकृत शासन प्रणाली भएका मुलुकहरु नै सबैभन्दा बढी भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन् ।

राजनैतिक शक्ति एउटै व्यक्ति वा केही व्यक्तिहरुको समुहमा सिमित हुने भएकोले, जनप्रतिनिधि (प्रजातान्त्रिक) सरकार भएतापनि यो तानाशाही प्रवृतिका सरकार हुन्छ, र यस प्रकारको सरकारहरुले आफुलाई बढी प्रजातान्त्रिक देखाउन । राज्य संचालनका अंगहरु अर्थात कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिच नियन्त्रण र सन्तुलन (check and balance) को सिद्धान्त अपनाएको हुन्छ । तर विविध धार्मिक, जातिय र संस्कृतिक समुदायहरुले यसबाट केही पनि फाईदा पाउदैनन् । किनकि यस प्रकारको सरकारमा गरिने निर्वाचन सबै किसिमको शक्ति र पैसाको आधारमा हुने भएकोले यो सर्ब-साधरणको लागी दिवा स्वप्न मात्र हो ।
यस प्रकारको केन्द्रकृत राज्य व्यवस्थामा जनतालाई वाक तथा प्रकाशन एवं दलिय राजनीतिको स्वतन्त्रता प्रदान गरिए तापनि यस्ता केन्द्रकृत राज्य व्यवस्थालाई राजनीतिक शास्त्रमा जनताबाट निर्वाचित बहुदलिय तानाशाही सरकार भनिन्छ ।

संघिय (confederate) सरकार भनेको के हो ? :- यो दुई किसिमको हुन्छ ।
(०१) - सार्बभौम सम्पन्न स्वतन्त्र राज्यहरुको संघलाई संघिय (confederation) सरकार भनिन्छ । यसमा सार्बभौम राज्यहरुले आफनो अधिकांश सार्बभौम अधिकार परित्याग गरी संघलाई हस्तान्त्रण गरेको हुन्छ । सन् १९१७ मा रुसका जनताले जारको सत्ता समाप्त पारेपछि जनताको आत्म निर्णयको अधिकारको सिद्धान्त अनुसार विभिन्न जातिहरुलाई सार्बभौम राज्य दिईयो । यो १७ वटा थियो । सबै जातिहरु मिलेर जारलाई फालेको कारण र साना एवं विभाजित अवस्थामा विकास सम्भव नहुने देखेर जारको शासन विरुद्ध संगै लडेका सबै सार्बभौम राज्यहरु मिलेर एउटै संघ राज्यको निर्माण गरी यसको नांउ "सोवियत समाजवादी गणराज्य संघ" (Union of Soviet Socialist Republic) राखियो ।

यस संघका सदस्य राष्ट्रहरु सार्बभौम भए तापनि दोस्रो युद्धको तत्काल देखिएको खतरालाई दृष्टिगत गरी, स्वतन्त्र राज्यहरको संघ सोभियत संघलाई बढी अधिकार प्रदान गरियो, र दोस्रो युद्ध पछि त्यस बेलाको युरोप अमेरिकासंग शीतयुद्ध चर्किएकोले सोभियत संघको अधिकारलाई यथावत राखियो । संयुक्त राष्ट्र संघमा सोभियत संघका सदस्य राज्य युक्रेन र अजरबैजान पनि सदस्य थिए, भने सोभियत संघ पनि सदस्य थियो । सोभियत संघका सदस्य राज्यहरुको भन्दा सोभियत संघको अधिकार अत्यधिक बढी भएकोले यस प्रकारको सरकारलाई पनि केन्द्रकृत सरकार भनिएको हो । कालान्तरमा र्सार्वभौम गणराज्यहरु सोभियत संघको सदस्यता परित्याग गरी स्वतन्त्र भई बसेकाले सोभियत संघ विघटन भएको हो ।

(०२) - मुलुकको मुल कानुन संविधानबाट विकास, निर्माण र प्रशासनमा पूर्णत अधिकार प्राप्त स्थानिय स्वायात्त सरकारहरु मिलेर बनेको सरकारलाई पनि संघिय (Confederate) सरकार भनिनछ । र यसमा स्वायात्त प्राप्त   सरकार र्सार्वभौम हुंदैन । यसमा केन्द्रीय सरकार र स्थानिय स्वायत्त सरकारहरुको बिचमा संवैधानिकरुपमा नै शक्तिको विभाजन गरिएको हुन्छ । वास्तवमा यो संघात्मक राज्य प्रणाली नै हो । तर यस प्रकारको सरकारलाई अंग्रेजी शब्द Federation प्रयोग नगरी Confederation शब्द प्रयोग गरिएकोले मात्र यहां उल्लेख गर्नु परेको हो ।

वास्तवमा सार्बभौम बाहेक अन्य सम्पूर्ण अधिकार स्थानिय स्वायत्त सरकारहरुलाई संवैधानिकरुपमा नै केन्द्र सरकारले हस्तान्त्रण गरेको हुँदा यसलाई Confederation भनिएको हो ।
जस्तै:- स्वीस महासंघ (Swiss confederation)। वास्तवमा, स्वीस महासंघ Federation नै हो, तर संघिय केन्द्र सरकार भन्दा स्वायत्त क्षेत्र (केन्टोन) हरु बढी शक्तिशाली छ भनी देखाउनको लागी Confederation शब्द प्रयोग गरिएको हो । यो जन-पक्षिय सरकार हो ।

आत्म निर्णयको अधिकार भनेको के हो ? :- आजकल आत्म निर्णयको अधिकार बारे निकै चर्चा परिचर्चा चलि रहेको छ । यो चर्चा विशेष गरी कम्युनिष्टहरुबाट चलेको पाईन्छ । मार्क्सवादी दर्शन अनुसार, आत्म निर्णयको अधिकार भनेको साबिकको र्सार्वभौम राज्यबाट अलग्गिएर छुट्टा छुट्टै जातिहरुले छुट्टा छुट्टै सार्बभौम सम्पन्न राज्य प्राप्त गर्न पाउने अधिकार हो ।
वास्तवमा यो विचारधारा रुसी कम्युनिष्ट विचारधाराको नक्कल मात्र हो । तत्कालिन रुसमा रुसका विभिन्न जातिहरु मिश्रित रुपमा वसोवास नगरी छुट्टा छुट्टै जातिहरु बेग्ला बेग्लै ठांउँमा ठीक ठीक बसोवास गरेकाले, जार शासन माथि विजय प्राप्त गरे पछि, ती जातिहरुलाई स्वतन्त्र र्सार्वभौम राज्य दिलाउने शर्तमा रुसी कम्युनिष्ट पार्टी विभिन्न जातिहरुको सहयोगमा जारको विरोधमा लडेका थिए । जार शासनको अधिनमा रुसमा कज्जाक, युक्रेन, उज्बेक, ताजिक, जर्जियाई र रुसी जस्ता कैयौ जातिहरु थिए । यसमा प्रमुख शासक जाति रुसी जाति नै थिए ।

जारको सत्ता पतन पछि पनि फेरी रुसी जाती कै अधिनमा हामीहरु बस्ने हो भने जारको विरुद्द हामी किन लडने ? ति जातिहरुले रुसी कम्युनिष्ट पार्टीलाई प्रश्न गरेका थिए । ति जातिहरुको सहयोग बिना जारमाथि विजय प्राप्त गर्न सम्भव थिएन । त्यसैले ति जातिहरुलाई जारको विरुद्ध लर्डाईमा सहभागी बनाउन, र खुशी पार्न रुसी कम्युनिष्ट पार्टिका विभिन्न जातिहरुलाई आत्म निर्णयको अधिकार दिन बाध्यतावस सहमति भएका थिए ।

वास्तवमा यो सहमति जारको विरुद्ध लडनको लागी, रुसी कम्युनिष्टहरुको सशक्त रणनीति थियो । यसै सहमतिको आधारमा विविध जातिहरुलाई जातिय आधारमा र्सार्वभौम राज्य दिनु पर्छ, भनि र्सव-प्रथम सन १९१२ मा स्टालिनले Maxism and Nationalilites (मार्क्सवाद र जातिहरु) नामक पूस्तक लेखेका थिए । यसै पुस्तकलाई समर्थन गर्दै लेनिनले सन १९१३ मा Right of nations to self Determination - (जातिहरुको आत्म निर्णयको अधिकार) लेख लेखी रुसी कम्युनिष्ट पार्टी बाट अनुमोदन गरेका थिए ।

जार शासनको पतनपछि यसै सिद्धान्तको आधारमा रुसका छुट्टा छुट्टै जातिहरुलाई जातियताको आधारमा बेग्ला बेग्लै र्सार्वभौम स्वतन्त्र राज्य प्राप्त गरेका थिए, र यी राज्यहरु अहिले सम्म कायमै छ । तर मार्क्सवादलाई नै मुल सिद्धान्तको रुपमा स्वीकार गर्ने चिनिया कम्युनिष्ट पार्टी, रुसको जातिहरुको आत्म निर्णयको अधिकारलाई स्वीकार गरेनन् । यद्धपि चिनमा ९५ प्रतिशत भन्दा बढी हान जाति नै छन, तापनि चिनिया कम्युनिष्ट पार्टी अन्य जातिहरुलाई आत्म निर्णयको अधिकार होईन, स्वायात्यता (Autonomous) प्रदान गरे ।

जस्तै:- Inner Mongolia, Autonomous Region, Guanxi Zhuang Autonomous regin, Tibetautonomous Region, Ningxia Hui Autonomous region आदि । यी बाहेक अति अल्प संख्यकहरुको Preferecture (स्वशासित क्षेत्र) हरु पनि छन । यी स्वायत्त क्षेत्रहरु एक जाति विशेषको बहुमतको आधारमा बनेका छन । तर कम्युनिष्ट मुलुक भियतनाम, उत्तरी कोरिया, र क्युबाले त्यहाँका जनतालाई आत्म निर्णयको अधिकार वा स्वात्यायता केही पनि दिएको छैन । किन कि त्यहाँ लगभग एउटै जाति वा धर्मका मानिस रहेकाले तत्कालिन सत्ताको विरुद्धमा लडन त्यहाँका कम्युनिष्ट पार्टी अन्य जातिहरु सँग शर्त बन्द गठबन्धन Bargaining गर्न परेको थिएन । तर विविध जातिहरु भएको कम्युनिष्ट मुलुक कम्बोडियामा आत्म निर्णयको अधिकार वा स्वायत्तता नदिंदा, खमेर जातिले हतियार उठाई बिद्रोह गर्दा कम्बोडियामा ठुलो नर-संहार हुन गयो । भूतपूर्ब कम्युनिष्ट राज्य युगोस्लाविया र अल्बानियामा जाति वा धर्मको आधारमा स्वात्यता नदिंदा आज जाति र धर्मको नांउमा ती मुलुकहरु टुक्रियाका छन् ।

नेपाल बहु-जातिय, बहु-धार्मिक र बहु-भाषिक मुलुक भए तापनि केही सामान्य अपवाद बाहेक एउटै जाति, धर्म वा भाषाका मानिसहरु रुस वा चीनमा जस्तो एकै ठांउमा ठीक ठीक बसेका छैनन । विभिन्न क्षेत्र वा जिल्लाहरुमा एउटा जाति विशेषको बहुमत कायम भए तापनि मिश्रित बसोवास छ । मिश्रित जातिहरुको बसोवास भएको नेपालको सामाजिक बनौटमा, नेपालका कम्युनिष्टहरुले पटक पटक उठाउँदै आएको विभिन्न जातिहरुले पाउनु पर्ने भनिएको आत्म निर्णयको अधिकार, वा जातिको नाउँमा स्वायत्तता हुनु मुलुकको हितमा छैन । जातिय स्वात्यताले सामाजिक र साम्प्रदायिक सदभावमा खलल पुग्ने मात्र होईन, कि कालान्तरमा मुलुकको सार्बभौम  अखण्डतामा समेत आँच आउन सक्तछ ।

संघात्मक सरकार (Federal Government) :- वर्तमान विश्वको प्रजातान्त्रिक समाजमा शासन गर्ने तरिका संघात्मक प्रणाली नै हुन । यो प्रणाली शक्ति विकेन्द्रीकरण सिद्धान्त (Theory of decentralization of power) मा आधारित छ । अर्थात स्थानिय जनतालाई अधिकार दिनु पर्छ (Power to the local people) भन्ने यसको मुल मन्त्र हो ।

संघात्मक सरकारमा, केन्द्रीय सरकार र स्थानिय सरकारको बिचमा संवैधानिक रुपमा अधिकारको बाँडफाँड गरिएको हुन्छ । यसमा स्थानिय सरकार सार्बभौम नभई केन्द्रीय सरकार सावैभौम हुन्छ । तापनि मुलुकको संविधान द्धारा केन्द्रीय सरकारले गर्ने काम र स्थानिय सरकारले गर्ने काम, संविधान बाटै व्याख्या गरिएको हुन्छ । संघात्मक सरकारको राम्रो उदाहरणमा स्वीटजरलेण्डलाई लिईन्छ । त्यहाँ प्रत्येक केन्टोन स्वतन्त्र छ, र्सार्वभौम होईन । एउटा केन्टोनले अर्को केन्टोनसँग समझौता गर्न सक्तछ । बहु-जाति, बहु-धार्मिक र बहु-भाषिक स्वीटजरल्याण्डमा राष्ट्रिय शिक्षा, राष्ट्रिय भाषा र राष्ट्रिय धर्म छैन । यी सबै आ-आफना केन्टोनका हुन्छन । नियमित सैनिक नभएतापनि १६ वर्ष पुगेका प्रत्येक सक्षम नागरिकले सै्निक तालिम लिन अनिवार्य छ । स्वीटजरल्याण्ड कुनै पनि सैनिक गुटमा नभएको मात्र होईन, कि यो आज सम्म संयुक्त राष्ट्र संघ को सदस्य पनि छैन । नेपालमा हाल उठी रहेको जातिय, भाषिक वा धार्मिक विवादहरुलाई छिट्टै समाधान नगरिएमा यसले कालान्तरमा मुलुकमा गम्भिर समस्या उत्पन्न गर्न सक्तछ ।

सरकार संघिय प्रणालीमा जाने भनिए तापनि कस्तो किसिमको संघिय प्रणालीमा जाने हो, यसमा स्वयम सरकार अलमलिएको छ, र बुद्धिजीवीहरुमा पनि खुलेर प्रष्ट बहस चलेको देखिएको छैन । हालको ७५ जिल्लाहरुलाई नै संघिय केन्द्र सरकारको इकाई मान्ने हो भने, यो राजनैतिक बेईमानी हो । स्वायत्त क्षेत्रहरुको अभावमा संघिय सरकारको कुरो गर्नु रानीतिक चिन्तनको दर्रि्रता हो । समस्या सबैले देखाएका छन, तर राष्ट्रिय हितमा समाधानको बाटो स्पष्ट गर्न सकिएको छैन । तर्सथ हाल उठेको जातिय, भाषिक, धार्मिक र क्षेत्रिय समस्यहरुको समाधान अरु मुलुकहरुको नक्कलमा होईन, नेपालको आफ्नै मौलिक विशिष्टताको आधारमा गरिनु पर्छ । हाल मुलुकमा उठेको समस्याहरुको समाधान निम्न राज्य प्रणाली व्यवस्था द्धारा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ ।

संघिय राज्यको संरचना :- (०१) - स्थानिय/क्षेत्रिय स्वात्यायता सम्भव भए सम्म एक जाति विशेषको बहुमत कायम हुने गरी भौगोलिक क्षेत्रको आधारमा स्वायत्त क्षेत्र छुट्याईनु पर्छ । जाति, क्षेत्र वा संस्कृतिक समुहको आधारमा यी स्वायत्त क्षेत्रहरु ठुला वा साना हुन सक्तछ । मुद्रा, सेना, विदेश नीति, युद्ध र शान्तिको घोषणा, हुलाक र संचार, सामरिक महत्वका उद्यौग र ठुला ठुला उद्यौगहरु (Heavy Industries) संघिय केन्द्र सरकारमा राखी बांकी विकास, निर्माण र प्रशासनको सम्पूर्ण अधिकार स्थानिय/क्षेत्रिय स्वायत्त सरकारहरुलाई दिनु पर्छ । भाषा, जाति, धर्म आदिर् इत्यादि सम्बन्धमा निर्णयक व्यवस्थापनको जिम्मा यिनै स्वायत्त  सरकारहरुलाई दिनु पर्छ । संघिय केन्द्र सरकारले विदेशी अनुदान वा सहयोग यी स्वायत्त क्षेत्रहरुमा समानुपातिक आधारमा वितरण गरिनु पर्छ ।

संघिय सरकारको संरचन (०२) - जातिय जन-संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व स्वायत्त क्षेत्रहरुमा बसोवास गर्ने सबै जातिहरुलाई उनिहरुको जन-संख्याको आधारमा समानुपातिक रुपमा प्रतनिधित्व गराईनु पर्छ । यसरी जातिय जन-संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व नगराई प्रतिस्पर्धाको निर्वाचन गराएमा कमजोर जाति वा पक्षहरुको मतलाई शक्तिशालीहरुले मिच्ने निर्विवाद छ । यस्तो अवस्थामा कमजोर वा पछि पारिएका जातिहरुको सरकारी नीति निर्माणमा सहभागिता कल्पना मात्र हुनेछ । अति अल्प-संख्यक जातिहरु मध्ये दलित र गैर-दलित जातिहरुको अलग अलग समुह बनाई उनिहरुको जातिय जन-संख्याको आधारमा समानुपातिक सक्रमणिय चक्र प्रणली द्धारा सरकारको नीति निर्माणमा सहभागी गराउन सकिन्छ ।

नेपालमा पृथ्वी नारायण शाहको पाला देखी आज सम्म चली आएको परम्परागत मध्ययुगीन केन्द्रकृत शासन प्रणालीलाई त्यागी शक्ति विकेन्द्रीकृत सिद्धान्तको आधारमा उपरोक्त उल्लेखित आधुनिक संघिय राज्य र संरचना सहितको संघात्मक सरकार (Federal government) गठन गरिनु पर्छ । यसलाई गम्भिरता पूर्बक लिनु पर्छ, र समय मै यसको समाधान नगरिएमा कालान्तरमा मुलुक अकल्पनिय दर्घटनामा पर्न सक्तछ ।

एम.एस. थापाको प्रस्तुत कार्यपत्र ।

(इन्टर नेशनल प्रेसर इन्स्टीच्युट, काठमाण्डौमा ०६३ चैत्र २ गते । 
 मिति ०६३ फागुन २८ गते ।