- अजितमान तामाङ
ल्होछार या लोसार नाग्ची तथा ज्युङचीको काल गणनालाई आधार मानि वर्ष या साल या विभिन्न १२ जीवहरुको नाममा आधारित तत्वीय वर्षचक्र (Elemental year cycle) ल्होखोर या ल्होकोर अनुसार प्रत्येक १२ महिना या ३६५ (एक वर्ष) दिन पूर्णभएपछि फर्किने, फेरिँदा मनाउने उत्सव हो। यही वर्षलाई आदिवासी तामाङ, थकाली, गुरुङ, दुरा, हुम्लीतामाङ लगायतको भाषामा ल्हो शब्दले वर्ष र छार शब्दले नयाँ भन्ने बुझाउछ । त्यसैगरी तिब्बती या नेपालमा दोल्बु, मुगाली, मुस्ताङ्गी, योल्मो, सिङसावा, लोमी, थुदाम, उक्याब, शेर्पा, आदि हिमाली तिब्बती सिमा निकटका आदिवासीहरूको भाषामा लो शब्दले वर्ष र सार शब्दले नयाँ भन्ने बुझाउँछ। तसर्थ ल्हो वा लो भन्नाले वर्ष र छार वा सार भन्ने अर्थमा प्रयोग भएको पाईन्छ र समग्र अर्थमा यी शब्दहरूको संयोजनले नयाँ वर्ष भन्ने बुझाउँछ।
यो ल्होछार वा लोसार अर्थात् नयाँवर्षको दिन चन्द्रपात्रोको पहिलो महिनाको, पहिलो दिन ल्हो (वर्ष) फेरिने दिन अन्तराष्ट्रिय स्तरमा नै चीन, कोरिया, मंगोलिया, सिंगापुर, मलाय, भुटान नेपाल, भारत, कम्बोडिया, भियतनाम आदि मुलुकहरुमा सैद्धान्तिक दृष्टिले वर्ष, महीना, दिन आदि समय जनाउन प्रयोग हुने तत्वहरू (Elements) १२ जीव जन्तुको ल्होकोर (वर्ष चक्र), यीङ र याङ (स्त्री र पुरूष) युक्त पाँच खाम (तत्व), अष्टकोणीय पार्ख र एक देखि नौ अंङ्कीय वर्गाकार मेवागुमा आधारित तत्वीय खगोल तथा ज्योतिषशास्त्रीय (Elemental Astronomy and Astrology) परम्परा हो।
नेपालमा मुस्ताङी, डोल्पाली, मुगालीको रुङ र तामाङ, ह्योल्मोको सोनाम ल्होछार (लोसार) तथा चीनीया परम्परागत तत्वीय गणना तथा खगोलसास्त्रका आधारमा मनाउने स्प्रीङफेस्टीभल, सिननीयन पर्व या चन्द्र नयाँवर्ष उत्सव यसपाली माघ शुक्ल पक्ष प्रतिपदा परेवाका दिन तदनुसार सन २०१४ को जनवरी ३१ मा परेको छ भने तिब्बतीहरू तथा नेपालमा शेर्पा समुदायले मनाउने यही पर्व एक महिना पछाडी २ मार्च (१८ फागुन) मा परेको छ। यसैगरी चिनको तिब्बतमा यही लोसारले तिब्बती राजाको सम्बत् बोअीक्यालो यस पाली २१४१ फेरिने दिन र तत्वीय वर्ष चक्रको लो फेरिने दिन पनि यसै दिन मनाउने गर्दछ र यसलाई नै तिब्बती लोसार या ग्याल्बो (राजाको) लोसार भनेर भन्ने गरेको पाइन्छ। नेपालमा गुरूङ जातिले भने २०४९ साल पछि यहि उत्सव सूर्य पात्रोको सौरमास पौषादी १५ गतेका दिनलाई तमु ल्होछार मानि आएको छ। यो तोला भनिएको पौष शुक्लपक्ष प्रतिपदाका दिनमा पर्ने ल्होछारको वरिपरि पर्दछ।
१२ जीवहरुको नाममा आधारित वर्षचक्र ल्होखोर या ल्होकोर अर्थात् यो तत्वीय वर्ष चक्रको ल्होकोरका वर्षहरु जीवहरु एउटै भए तापनि गुरुङ, तामाङ, योल्मोको सोनाम ल्होछार तथा शेर्पा या तिब्बतीको ग्याल्पो लोसार भनेर किन यसरी भिन्न समयमा यो पर्व मनाउछन् त ? भन्दा मुख्यतया तिब्बतमा सन् १०२७ तदनुसार अग्नी खारायो वर्ष पछि व्यवहारमा आएको भारतीय कालचक्र तन्त्रमा आधारित कार्ची अनुसार तिब्बती चन्द्र पात्रोमा ३६० दिनको एक वर्ष मानिन्छ। यहि कुरा अन्य प्रचलित भारतीय तथा पाश्चात्य ग्रेगोरियन पात्रो परम्परामा भने ३५४ दिनको हुन्छ र सौर (सूर्य) वर्षको ३६५ दिन वर्ष हुन्छ। चन्द्र वर्षको सौरवर्षको वरावर ३६५ दिन पुग्न प्रत्येक वर्ष ११ दिन अपुग हुन्छ र यो अपुग दिन जोड्दै लाँदा प्रत्येक अढाइ या तीन वर्षमा पुग्दा जोडेर हुने कूल दिनहरुको योगलाई एक महिना वरावरको दिनहरुलाई एक चन्द्रमास वरावर मानि चन्द्र पात्रोमा थपिने या जोडीने प्रचलन भएकाले त्यो वर्षको चन्द्रपात्रोमा १३ चन्द्र महिनाको एक चन्द्र वर्ष हुन जान्छ। यस्तो चन्द्रपात्रोमा यसरी एक महिना थपिन जाने वर्षलाई हामी अधिकमास वा मलमास वर्ष भनिन्छ अंग्रेजीमा लुनार लिप इयर भनिन्छ।
तिब्बतीहरुमा सन १०२७ पछिको कार्ची लोथो या दाथो प्रचलनमा आएपछिको चन्द्रपात्रोको चन्द्रवर्षमा ३५४ दिनको चन्द्रवर्षमा अधिकमास वा मलमास जोड्दा ३६० दिनको एक वर्ष मानिएको हुन्छ भने तिब्बती लोथो या दाथो बाहेकमा चन्द्र अधिकमास वर्षमा ३६५ पुर्याईएको हुन्छ । यसरी तिब्बतीहरूको दाथोमा (पात्रोको) प्रचलनमा रहेको चन्द्र अधिकमास वर्ष र चीनीया, तामाङ, भारतीय, पाश्चत्य ग्रेगोरियन आदि पात्रोहरुमा प्रचलन रहेको भन्दा अलि प्राविधिक भिन्नता अर्थात् तिब्बतीहरूको दाथोमा एक वर्ष ढिलो पछिमात्र जोडिने भएकाले चन्द्र अधिमास वर्ष पात्रोमा जोड्दा हुने यो अन्तरले गर्दा यसपाली तिब्बती ल्होछार र चीनीया लगायत तामाङ, योल्मो, थकाली आदि समुदायहरुले मनाउने तिथिका दिनमा भन्दा ठ्याक्कै एक महिना पछि पर्न गएको हो।
तसर्थ हामीले ग्याल्बो र सोनाम नाम दिएर फरक रुपमा मनाउन थालेका सोनाम र ग्याल्बो ल्होछार या लोसार उत्पत्ति सिद्धान्त र मनाउने मुल्य र मान्यताको मुल आधारको ज्युङचीको तत्वीय १२ वर्षेचक्र ल्होकोर चक्रमा आधारित नाग्चीका आधार एउटै हो भिन्न होइन। तसर्थ यही प्राविधिक गडबडीले भएको चन्द्रअधिकमास वर्षको अन्तर वा भिन्ताले गर्दा तिब्बती चन्द्र पात्रोको तीथीमा औंसी र पूर्णीमा वाहेक अरुदिनमा पनि तिथी क्षेय तथा खप्टिएर पर्ने दिनहरू एकै साथपरेका हुन्छन् भने कुनै दिनहरु अन्य पात्रोसग पण्डित अनुसार भिन्न हुन्छ।
किन भने एक चन्द्रमासमा २९।५ दिनको एक महिना हुन्छ। यसरी गणना गर्दा चन्द्रपात्रोमा एक वर्षमा ३५४ दिनमात्र पुग्छ। तिब्बती पात्रो अनुसार ३६० दिनको एक वर्ष पुग्न ६ दिन अपुग हुन्छ भने अरुकोमा ३६५ पुग्न ११ दिन अपुग हुन्छ। तसर्थ तिब्बती पात्रोमा चन्द्र अधिकमास वर्ष का निम्ति तीन वर्षको एक पटक ६ दिन ४ वर्ष पुगेपछि २४ दिनको सरदरले अधिकमास एक पटक जोडिन्छ भने तिब्बती वाहेकको ११ दिन हरेक २।७ वर्षपुग्दा २९।७ दिनको सरदरले चन्द्रअधिकमास एक पटक जोडिन्छ। यसरी अधिकमास जोडिएर हुने वर्ष चन्द्रपात्रोमा एक महिना बढि १३ महिनाको वर्ष हुन्छ। यसरी चधिकमास परेको वर्षलाई चन्द्र अधिकमास वर्ष मलमास परेको वर्ष Lunar Leap year भनिन्छ।
तसर्थ चन्द्र अधिकमास वर्ष प्रत्येक अढाइ या तीन वर्षमा जोडिदा भारतीय पात्रोमा ३३ दिनको अधिकमास पुग्न जान्छ तर तिब्बती चन्द्र पात्रोमा एक अधिकमास महीना ४ वर्षमा पनि २४ दिनको मात्र हुन जान्छ। किन भने तिब्बतीहरुको ३६० दिनको एक वर्षमा प्रत्येक वर्ष अपुग ६ दिन तीन वर्षमा मात्र १८ दिनको हुन्छ त्यसकारण तिब्बती चन्द्र अधिक्रमास वर्ष भारतीय या अरुको पात्रोमा भन्दा एक वर्ष पछाडी पुग्न जान्छ।
चीनीया, तामाङ तथा भारतीय कार्ची पात्रोमा मलमास गतवर्ष ड्राइगन वर्षको पात्रो मलमास या अधिकमास जोडिएर पात्रो प्रकाशित भएको छ। तिब्बती पात्रोमा यो कुरा सन १०२७ देखि प्रचलनमा आएको कार्चीका आधार प्रचलनमा आएको दाथो या लोथो पात्रो अनुसार सर्प वर्षमा अधिकमास या मलमास जोडिएकाले सर्पवर्षमा तिब्बती पात्रोमा १३ चन्द्र महिनाको वर्ष अधिकमास या मलमास वर्ष परेको छ। जसले गर्दा घोडावर्ष आउँदा एक महिना ढीला हुन गइ तिब्बती ग्याल्पो ल्होछार एक महिना पछाडी फागुन १८ गते धकेलिन गएको छ।
गत सर्प वर्षकै चन्द्रपात्रोमा नेपाल, भारत, चीन लगायतको चन्द्रपात्रोमा अधिकमास वर्ष जोडीएकोले गतवर्षको चन्द्रवर्षमा नै १३ चन्द्र महिना युक्त अधिकमास वर्ष चन्द्रपात्रोमा थपिएको छ। तर त्यो बर्ष तिब्बती चन्द्रपात्रोमा अधिकमास जोडिएको थिएन अर्थात् त्यो वर्ष तिब्बतमा अधिकमास वर्ष थिएन। त्यसैले गर्दा तिब्बती चन्द्रपात्रोमा चन्द्रमहिना १२ नै थियो र त्यो वर्ष तिब्बती वाहेकको चन्द्रपात्रोमा (भारतीय तथा तामाङ ह्योल्मो तथा चीनियाहरुको पात्रोमा) १३ चन्द्र महिना भएकै चन्द्रवर्ष थियो।
यसो हुँदा गत सर्प वर्षमा १३ औं चन्द्र महीना तुरेको दिन प्रथम चन्द्र महीनाको प्रथम दिनको आरम्भ हुने दिनमा नै तिब्बती चन्द्रपात्रोको प्रथम चन्द्र महीनाको प्रथम दिन एकै दिनमा सगै परेको थियो र त्यो वर्ष सोनाम या ग्याल्बो भनिएका ल्होछार या लोसार दुवै ल्होछार वा लोसार एकै दिनमा परेको थियो ।
यही कारणले गर्दा सरदर प्रत्येक २।७० वर्षमा एक पटक तिब्बती र नेपालमा तामाङ, ह्योल्मो समुदाय तथा चिनीया नयावर्ष र वसन्त उत्सव एकै दिनमा एउटै तिथीमा अर्थात् माघसुक्लपक्ष प्रतिपदा परेवाको दिनमा पर्दछ भने बाँकी वर्षहरूमा तिब्बती लोसार फाल्गुन सुक्लपक्ष परेवाका दिन पर्ने गर्दछ।
तिब्बती दाथो या लोथो पात्रोको यहि प्राविधिक भिन्नता लोसार पर्व मात्र होइन यही कारणले तिब्बती पात्रोमा सागादावा अर्थात् बैशाख पूर्णिमा (बुद्ध जयन्ती) पनि जेठ पूर्णिमाका दिन पर्दछ। यहा तिब्बती भाषामा सागादावा भन्नाले बुद्ध पूर्णिमा युक्त महिना हो। सागा शब्द विशाखा नक्षेत्रकै आधारबाट निर्माण भएको वैशाख महिनाको नाम हो। तर पात्रोमा अधिकमास (मलमास) संयोजनमा हुने माथि उल्लेखित भिन्नताको कारण तिब्बती बुद्ध पूर्णिमा सागादावा महीना विशाखा बैशाख कै पूर्णिमा (हेर्नुहोस्सरत चन्द्रदासको तिब्बती शब्दकोष) भएपनि भारतीय पात्रोको जेठपूर्णीमा पुगेको छ। ता पनि पात्रोको मूल आसय चाही बैशाख पूर्णिमा भन्ने नै हुन्छ। त्यसकारण तिब्बती लोसार पर्व या सागादावा (बुद्ध पूर्णिमा) सबै समुदायको एउटै दिनमा मनाइने पर्व हुदा हुदै पनि फरकफरक दिनमा अर्थात् एक महीना अघि पछि पर्न गएको हो। यसका लागि सन २०१२ र २०१३ तिब्बती तथा भारतीय र अन्य चन्द्रपात्रोलाई तुलना गरेर हेरेमा पात्रोमा भएको प्राविधिक भिन्नताको सत्य र तथ्य भेटिनेछ। त्यो वर्ष सोनाम भनिने तामाङ, ह्योल्मो समुदायले मनाउने ल्होछार(लोसार), मुस्ताङी, मुगाली, डोल्पालीको रुङ तथा चीनीयाहरुले मनाउने नयावर्ष स्प्रीङफेस्टीभल र तिब्बतीहरुले मनाउने गरेको ग्याल्बो लोसार एकैदिनमा परेको छ। यसपाली सन २०१४ को घोडा वर्षमा तीब्बतीहरुको ग्याल्बो ल्होछार २ मार्च मा परेको छ भने तामाङ लगायत चिनियाहरुको सोनाम ल्होछार जनवरी ३१ मा परेको छ।
त्यसकारण उत्पतिको आधारभूत सिद्धान्त तथा मुल्य र मान्यताका आधारमा सोनाम भनिएका र ग्याल्बु भनिने ल्होछार या लोसार एउटै हो मात्र पात्रो परम्परामा तिब्बतीहरुको ३६० दिनको र अरुले ३५४ दिनको एक चन्द्रवर्षलाई आधार मानेर गरिने वर्ष गणनामा भएको प्राविधिक गडबढीको कारणले मात्र यी ल्होछारहरू फरक पर्न गएको हो। यो उत्सव मनाउने विधि विधान स्थान विशेष अनुसार अलिअलि फरक परे पनि सार सबैको एउटै हो ।
-अजितमान तामाङ, ताम्सालीङ, नेपाल
तापाला, सापुख्री ल्हो (११ जनवरी २०१४)
No comments:
Post a Comment