Thursday, March 20, 2014

भाषाबारे ९ आधारभूत प्रश्न बहुभाषिक मुलुकमा नेपाल २० ओं स्थानमा रहेको छ ।

१. विश्वमा कहाँ कति भाषा होलान् ?

    भाषासम्वन्धी सम्पूर्ण जिज्ञासाको उत्तर भाषावैज्ञानिकहरूले खोजेका हुन्छन्। भाषाको अध्ययन अनुसन्धान गर्नेलाई भाषावैज्ञानिक भनिन्छ। उनीहरूका अनुसार हाल विश्वमा छदेखि सात हजार भाषा बोलिन्छन्। इथ्नोलग (२००५) नामक भाषा अध्ययन गर्ने संस्थाका अनुसार हाल विश्वभरिमा ६,९१२ भाषा बोलिन्छन्। यीमध्ये एशियामा ३२.८∞, अफ्रिकामा ३०.३∞, प्यासिफिकमा १९.०∞, अमेरिकी महादेशहरूमा १४.५∞ तथा युरोपका देशहरूमा ३.५∞ भाषाहरू बोलिन्छन् (हे. तालिका–१)। यस तथ्याङ्कबाट एशिया र अफ्रिकामा धेरै र युरोपमा थोरै भाषा बोलिदो रहेछ भन्ने जानकारी हुन्छ। 
तालिका १ ः भूक्षेत्रको आधारमा भाषाको वितरण
   देश      भाषाको    जम्मा
            संख्या     प्रतिशत
१. एशिया     २,२६९     ३२.८
२. अफ्रिका    २,०९२     ३०.२
३. प्यासिफिक           १,३१०    १९.०
४. अमेरिका   १,००२     १४.५
५. युरोप      २३९      ३.५
   जम्मा    ६,९१२     १००.०
२. नेपालमा कति भाषा बोलिन्छन्
   नेपाल बहुभाषिक मुलुक हो। नेपालको राष्ट्रिय जनगणना २०११ अनुसार नेपालमा १२३ भाषा बोलिन्छन्। भाषावैज्ञानिकहरुले नेपालमा १४० को वरिपरि भाषा बोलिन्छन् भन्ने अनुमान गरेका छन्। नेपाली, मैथिली, भोजपुरी, थारु र तामाङ भाषाहरू दशलाखभन्दा धेरैले बोल्दछन् भने ल्होमी, बेलहारे, ब्याँसी, सुरेल, बराम, काइके आदि भाषाहरू एक हजारभन्दा कम वक्ताले बोल्दछन्।
३. विश्वमा धेरै भाषा बोल्ने मुलुक कुन् हो ?
   विश्वमा एकसय भन्दा धेरै भाषा बोल्ने बहुभाषिक मुलुक २३ ओटा छ। नेपाल २०औं स्थानमा रहेको छ। विश्वमा सबैभन्दा धेरै भाषा बोलिने मुलुक पेसिफिक क्षेत्रको पपुवा न्युगिनी हो जहाँ ८२० भाषा बोलिन्छन्। यसपछि इन्डोनेसिया (७४३) र नाइजेरिया (५१६) को नाउँ आउँछ। १०० भन्दा धेरै भाषा बोलिने विश्वका बहुभाषिक मुलुकहरू (इथ्नोलग २००५ को आधारमा) 
    १. पपुवा न्युगिनी (८२०), २. इन्डोनेसिया (७४३), ३. नाइजेरिया (५१६), ४. भारत (४२७), ५. संयुक्त राज्य अमेरिका (३११) ६. म्याक्सिको (२९७), ७. क्यामरुन (२८०), ८. अष्ट्रेलिया (२७५), ९. चीन (२४१), १०. काङ्गो (२१६) ११. जायेर (२१०), १२. ब्राजिल (२००), १३. फिलिपिन्स (१८०), १४. मलेसिया (१४७), १५. (क्यानाडा १४५) १६. सुडान (१३४), १७. चाड (१३३), १८. रसिया (१२९), १९. तान्जानिया (१२८), २०. नेपाल (१२५), २१. भानुवाटु (११५), २२. म्यानमार (बर्मा) (११३) २३. भियतनाम (१०४) । यी २३ देशमा कुल ५,९८९ भाषा बोलिन्छन् ।)
४. भाषा र मातृभाषामा के फरक छ ?
   सामान्य रूपमा हेर्दा भाषा र मातृभाषा एउटै हो तर सुक्ष्म रूपमा हेर्दा केही फरक देखिन्छ–
(क) मातृभाषाको निश्चित थातथलो हुन्छ, निश्चित भूभागमा बोलिन्छन् तर भाषाले आफ्नो थाकथलो गुमाइसकेको हुन्छ अनि भाषिक क्षेत्र विस्तार भइसकेको हुन्छ।
(ख) मातृभाषामा स्थानीय ज्ञानविज्ञान र माटोको सुगन्ध पाइन्छ, यसले जातिको पहिचान बोकेको हुन्छ तर भाषाले स्थानीयता, मौलिकता, पहिचान र माटोको सुगन्ध सवै गुमाइसकेको हुन्छ।
(ग) मातृभाषा कुनै जाति वा समुदायमा सिमित हुन्छ तर भाषा एकभन्दा धेरै जातजाति र समुदायले बोल्ने गर्दछन्। भाषाका वक्ता कुनै एउटा जात÷जाति वा समुदाय मात्र हुँदैन। भाषा कुनै एक समुदायको मात्र मातृभाषा रहदैन।
तामाङ वा लिम्बू भाषा तामाङ र लिम्बू जातिको भाषा हो तर नेपाली वा हिन्दी भाषा कुनै जातजाति वा समुदायको मात्र भाषा होइन। तामाङ भाषाको थाकथलो छ तर नेपाली भाषाको थाकथलो देखाउन सकिन्न। यसले आफ्नो स्थानीयता गुमाइसकेको छ। सामान्य बोलचालीमा मातृभाषालाई पनि भाषा नै भन्ने चलन तर योजना बनाउने र कार्यान्वयनको बेलामा मात्र मातृभाषाको प्रशंग चल्छ। 
५. मातृभाषा भनेको के हो ?
   भाषावैज्ञानिकहरू बच्चाले बोल्न जानेका वा सिकेका पहिलो भाषालाई ‘मातृभाषा’ भन्दछन् अर्थात् बच्चाले बोल्न थालेको पहिलो भाषा नै मातृभाषा हो। तर भाषिक मानवअधिकारकर्मीहरू आफ्ना जाति वा समुदायको भाषा पनि मातृभाषा हो भन्छन्। अर्को एउटा मत पनि पाइन्छ। जुन भाषा राम्रोसँग जान्दछ र जुन भाषामा कार्यक्षमता सहज हुन्छ त्यो उसको मातृभाषा हो।     भाषा अधिकारकर्मी टोभे स्कुटनाब–काङ्गास र रोवर्ट फिलिप्सन्स (१९९५ः३६०) ले चारओटा आधारमा मातृभाषाको परिभाषा प्रस्तुत गरेका छन्।
   मातृभाषाको परिभाषा
१. उत्पत्ति(मूल)को आधारमा – सबैभन्दा पहिले सिकेको भाषा
२. पहिचानको आधारमा – (क) आन्तरिक (क) स्वयम्ले मेरो मातृभाषा हो भनेर पहिचान गरेको भाषा । (ख) वाह्य(ख) त्यो उसको मातभाषा हो भनेर अरूले पहिचान गरेको भाषा ।
३. सक्षमताको आधारमा – आफुले राम्रोसँग जानेका भाषा(हरू)
४. कार्यको आधारमा – आफुले धेरै प्रयोग गर्ने गरेका भाषा(हरू)
स्रोतः लिङ्ग्युस्टिक ह्युम्यान राइन्टस्ः ओभरकमिङ लिङ्ग्युस्टिक डिस्क्रिमिनेसन (१९९५ः३६०)
     माथिको परिभाषा अनुसार बच्चाले सबैभन्दा पहिले सिकेका भाषा नै मातृभाषा हो। यसका साथै वक्ता स्वयमले दावी गर्ने गरेको भाषा र अरूहरूले पहिचान गरिदिएको भाषा पनि मातृभाषा हो। उदाहरणको लागि तामाङहरूले आफुले बोल्ने भाषा तामाङ भाषा हो भने छिमेकीहरूले पनि उनीहरूले बोल्ने भाषालाई तामाङ भाषा नै भनेका हुन्छन्। अनि आफुले राम्रोसँग जानेको र प्रयोग गर्ने गरेको भाषा पनि मातृभाषा हुन् भनिएको छ। सामान्यतः मानिसले आफ्नो उत्पत्ति र पहिचानको आधारमा मातृभाषा किटान गरेको हुन्छ।
६. पहिलो भाषा र दोस्रो भाषा भनेको के हो नि ?
    बच्चाले सबैभन्दा पहिलो बोल्न सिकेका भाषालाई भाषावैज्ञानिकहरु ‘पहिलो भाषा’ भन्दछन् अर्थात् बच्चाले बोल्न थालेको भाषा नै पहिलो भाषा हो। बालकले क्रमशः आफ्नो परिवेशको भाषा पनि सिक्दछ। पछि सिकेका भाषालाई दोस्रो भाषा भनिन्छ। दोस्रो भाषा एक भन्दा धेरै हुन सक्दछ। उदाहरणको लागि मैले आफ्नो गाउँको विद्यालयमा गएपछि नेपाली भाषा जानेँ। भारतको पश्चिम बंगालको कोलकातामा अध्ययनको क्रममा दशवर्ष बस्दा कक्षाकोठामा हिन्दी भाषाको माध्यामबाट पढाइ हुन्थ्यो, बंगाली भाषा हाटबजार र स्थानीय भाषा थियो, त्यो पनि जानेँ। मेरा साथीहरु मैथिली, भोजपुरी, अवधी र उर्दू भाषी थिए। ती भाषा पनि संगतले जानेँ। यी सबै मेरा दोस्रो भाषा हुन्। दोस्रो भाषा क्रमशः बढदै पनि छन्। शिक्षा क्षेत्रमा पहिलो भाषा, दोस्रो भाषा र शास्त्रीय भाषाको चर्चा हुन्छ। संस्कृत, पाली, तिब्बती, ल्याटिन, अरेबिक आदि शास्त्रीय भाषा (Classical Language) हुन्।
७. प्रत्येक जातिको आआफ्नै मातृभाषा हुन्छ ?
   प्रत्येक जातिको आफ्नै मातृभाषा नहुन पनि सक्दछ। जाति र भाषाको अन्तरसम्वन्धबारे तीन ओटा सिद्धान्त देखिएको छ –
(१) एक जाति एक भाषा (उदा. तामाङ, लिम्बु आदि)
(२) एक जाति धेरै भाषा (उदा. मगर, यादव आदि) अनि
(३) धेरै जात÷जाति एक भाषा (नेवार, मैथिली, नेपाली आदि)।
    नेपालमा माथि उल्लेख गरिएका कुनै एउटा मात्र सिद्धान्त लागू हुन सक्दैन। तामाङ, गुरुङ, लिम्बु, धिमाल, शेर्पा, थामी, चेपाङ आदि भोट–बर्मेली परिवारका आदिवासी जनजातिका आआफ्नै बेग्लाबेग्लै मातृभाषा छन्। तामाङ भनेको जाति पनि हो र भाषा पनि हो। लिम्बु जाति पनि हो र भाषा पनि। यसबाट एक जाति एक भाषाको सिद्धान्त स्थापित हुन्छ।
यादवहरूको मातृभाषा एउटै छैन। जनकपुर क्षेत्रका यादवहरूको मातृभाषा मैथिली हो भने वीरगञ्ज क्षेत्रका यादवहरूको मातृभाषा भोजपुरी अनि कपिलवस्तु क्षेत्रका यादवहरूको मातृभाषा अवधी हो। कतिपय यावदहरूले बज्जिका भाषा पनि बोदछन्। यसबाट नेपालका यादवहरूका तीन भन्दा धेरै मातृभाषा रहेछन् भन्ने देखिन्छ। मगरहरू पनि ढुट, खाम (पाङ) र काइके गरी तीन ओटा मातृभाषा बोल्दछन्। यस तथ्यबाट एक जाति धेरै भाषाको सिद्धान्त प्रतिपादन हुन्छ।
नेपाली, मैथिली, भोजपुरी, अवधी आदि भारोपेली भाषा धेरै जात÷जाति र समुदायले बोल्दछन्। नेपाली भाषा बाहुन, क्षेत्री, दशनामी र दलित समुदायले बोल्दछन्। नेवार जाति होइन भाषिक समुदाय हो। नेवारभित्र धेरै जात÷जाति र धार्मिक समुदाय छन्। यसबाट एउटा भाषा धेरै समुदायले बोल्दछन् भन्ने सिद्धान्त प्रतिपादन हुन्छ।
८. मातृभाषा किन महत्वपूर्ण हुन्छ ?
   मातृभाषाले स्थानीय मौलिक संस्कृति र माटोको सुगन्ध बोकेको हुन्छ। स्थानीय ज्ञानविज्ञानका स्रोत पनि मातृभाषा नै हो। स्थानीय सामाजिक, सांस्कृतिक, भौगोलिक तथा वातावरणीय परिवेशको ज्ञानविज्ञान पनि मातृभाषामा अभिव्यक्त हुन्छ। आदिवासीका लागि मातृभाषा जातीय पहिचान र संस्कृतिका वाहक पनि हो। उदाहरणको लागि नेपालीमा ‘जुका’ र अङ्ग्रेजीमा ‘लिच’ (Leech) शब्दको लागि तामाङ भाषामा तीन शब्द छन्– ‘म्लित्’, ‘तिबात्’ र ‘ताङ्बात्’ (तिमाले भाषिकामा म्लि, तिबाइ र ताङबाइ भन्दछ)। ‘म्लित्’ शब्दले नाकमा पस्ने जुका जनाउँछ, ‘तिबत्’ले खुट्टामा टोक्ने जुका बुझाउँछ र र ‘ताङ्बात्’ले टाउकोतिर झर्ने ठुलो खाले जुका बुझाउँछ। यी शब्दले भूगोलको उचाइको पनि प्रतिनिधित्व गरेको छ। ‘म्लित्’ गर्मी भूक्षेत्रमा, ‘तिबत्’ जाडो हुने भूक्षेत्रमा र ‘ताङ्बात्’ हिउँ पर्ने लेकाली क्षेत्रमा पाइन्छन्। यस प्रकारका ज्ञान नेपाली शब्द जुका र अङ्ग्रेजी शब्द लिचले बोक्दैन।
   यसै गरी भोट–बर्मेली भाषाहरूमा दिशाबोध गराउने सर्वनाम पाइन्छ। नेपाली भाषाका ‘त्यो’ शब्दको लागि तामाङ भाषामा तोजा, माजा, केजा, होजा जस्ता सर्वनामको प्रयोग हुन्छ। यी शब्दहरूले स्थानका साथसाथै भौगोलिक क्षेत्र र इतिहास पनि सङ्केत गरेको हुन्छ। यस्तै कुलुङ भाषामा काटनु शब्दको १८ प्रकारका शब्दावली छन्। यो नै भाषामा निहित मौलिक ज्ञानविज्ञान हो।
   तामाङ लोकसाहित्यमा मातृभाषालाई निकै महत्व दिएको छ। तामाङ लोकसाहित्यमा मातृभाषाको महत्वलाई निम्न शब्दमा दर्साएका छन्–
चिनियाभोटेनेवारी,
तामाङखम्बुहोल्माली
बोल्छन् आफ्नै भाषाले
भाषा त पूर्खाको आशिर्वाद
भाषा त देशको गहना हो
आफ्नो भाषा न छोड्नोस्
हराउँछ ताम्बाफैलिन्छ पाप
सन्तानधर्म सब जान्छ
अरूले हामीलाई के भन्लान्
आफ्नो भाषालाई नछोडौँ
चिताएको पुग्नेछ ।
– सन्तवीर लामा, ताम्बा काइतेन व्हाइ रिमठिम (१९५७ः२६)
    तामाङहरू आफ्नो मातृभाषालाई पूर्खाको आशिर्वाद ठान्दछन्, देशकै गहना मान्दछन्। उनीहरूले मातृभाषा छोडेमा आफ्नो जातीय पहिचान गुम्ने र मातृभाषालाई बचाइ राखेमा चिताएको पुग्ने अवधारणालाई स्थापित गरेकाछन्। यसका साथै भाषामा संस्कृति, धर्म, सन्तानका साथै लोकलाज पनि जोडिएको हुन्छ भन्ने जीवनदर्शन पनि स्थापित गरिएको प्रस्टै देखिन्छ। यसबाट तामाङका पूर्खाले मातृभाषालाई निकै महत्वका साथ हेरेका रहेछन् भन्ने पुष्टि हुन्छ।
   यसै गरी अर्को एउटा लोककवितामा भाषालाई देश र समाजभित्र रहिरहने महत्वपूर्ण सम्पदाको रूपमा पनि हेरिएको छ –
आफ्नो धर्मआफ्नो ग्रन्थ
आफ्नो किपटसंस्कृति र भाषा
आफ्नै देशभित्र रहन्छ
आफ्नै समाजमा मिल्दछ ।
       – सन्तवीर लामाताम्बा काइतेन व्हाइ रिमठिम (१९५७ः३१)
    यसै गरी केन्या (अफ्रिका) का किप्लाङात चेरुइयोत (२००७) ले मातृभाषालाई संस्कृतिका वाहक मानेका छन्– ‘भाषा हराउनु भनेको संस्कृति हराउनु हो र संस्कृति हराउनु भनेको अमूल्य ज्ञान पनि लोप भएर जानु हो।’ उनले थपेका छन् – ‘मानिस र समुदायका पूर्खाले आर्जन गरेका ज्ञान, बुद्धि र परम्परागत स्थानीय नामलाई पुस्तान्तरण गरी निरन्तर बचाइ राख्ने सबैभन्दा शसक्त आधिकारिक माध्यम मातृभाषा नै हो।’ ग्लोभिया एन्जाल्डना (१९८७) ले जातीय पहिचान र भाषिक पहिचानलाई एउटै सिक्काका दुइ पाटा हुन् भनेकी छिन्।
   डा. हर्क गुरुङ (२००५ः१) ले ‘जनजातिको पहिचानको आधार आफ्नै मातृभाषा हो’ भनेका छन् अनि प्राज्ञ वैरागी काइँला (२०६२ः६)ले ‘जाति र भाषालाई अलग गरेर हेर्न सकिँदैन’ भनेका छन्।
यसै कारणले संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले मातृभाषा दिवस मनाउन थालेको छ। १९९९ मा सम्पन्न युनेस्कोको महासभाको ३० औं सत्रले प्रत्येक वर्षको फेब्रवरी २१ का दिन विश्वभरि नै मातृभाषा दिवस मनाउने निर्णय ग¥यो। यसै निर्णय अनुसार युनेस्कोले २००० इ. मा पहिलो पल्ट अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको थियो। यस संस्थाले मातृभाषाको संरक्षण र विकासमा जोड दिन्छ। वास्तवमा युनेस्कोले मातृभाषा दिवस मनाउन आव्हान गर्नथाले पछि नेपालमा पनि भाषिक चेतमा वृद्धि भएको छ।
९. मातृभाषालाई कसरी बचाउन सकिन्छ ?
   मातृभाषाको संरक्षण गरिएन भने भाषिक समुदायले लोकतन्त्रको उपभोग गर्न सक्दैनन्, सामाजिक न्याय पाउन सक्दैनन्। यस सम्वन्धमा डा. टोभे स्कुटनाब–काङगास् र डा. रोवट फिलिप्सन् (२०००) ले लेखेका छन्– भाषिक समुदायलाई भाषिक समानता दिइन भने उनीहरूको (१) राजनीतिक प्रतिनिधित्व उचितढंगले हुनसक्दैन, (२) उचित न्याय पाउने अवसर गुम्छ (३) शिक्षामा पहुँच हँुदैन (४) सूचनामा पहुँच हुदैन (५) लोकसेवामा पहुँच हुदैंन (६) वाक स्वतन्त्रता कुष्ठित हुन्छ (७) स्थानीय प्रशासनमा भाषाको प्रयोग हुदैन र (८) साँस्कृतिक सम्पदाको उचित संरक्षण हुन सक्दैन। यसरी कुनै मातृभाषाले सामाजिक न्याय नपाउँदा उसले सबै थोक गुमाउँछ।
   मेरो विचारमा मातृभाषालाई बचाउने प्रमुख आधार हो – पुस्तान्तरण। नयाँ पुस्तामा पुस्तान्तरण हुनसकेन भने मातृभाषा बाँच्न सक्दैन। यसर्थ सर्वप्रथम मातृभाषा भान्छाकोठामा बोलिनु पर्दछ, परिवारजन, आफ्न्तजन र नातागोतासँग प्रयोग गरिनु पर्दछ। धार्मिक तथा सांस्कृतिक सन्दर्भ र क्रियाकलापहरूमा प्रयोग गर्नु पर्दछ।
लोकसाहित्य सङ्कलनका साथै लेख्य साहित्यको सिर्जना गरिनु पर्दछ। हेक्का राख्नु पर्ने कुरा के हो भने भाषा प्रयोगमा बाँच्दछ। शब्दकोश र व्याकरण लेख्दैमा भाषा बाँच्दैन।
   यसका साथै मातृभाषालाई आमसञ्चारको माध्यम (रेडियो, एफएम, टिभी, छापा, एसएमएस, फेसबुक आदि) मा प्रयोग विस्तार गरिनु पर्दछ। बालबालिकालाई उनीहरूको मातृभाषाको माध्यमबाट शिक्षा दिइनु पर्दछ। सम्भव भएसम्म स्थानीय तहमा प्रशासनको भाषा बनाइनु पर्दछ। न्यायप्रणालीमा पनि मातृभाषाको प्रयोगलाई विस्तार गरिनु पर्दछ। अत्यन्तै लोपोन्मुख भाषालाई पुस्तान्तरण गर्नका साथै शब्दकोश, व्याकरण तयार गरिनुका साथै अडियो, अडियो–भिडियो आदिमा पनि डकुमेन्टेसन गरिनु पर्दछ।
   भाषा बचाउने अर्को दिगो उपाय हो– साहित्य सिर्जना। लेख्य साहित्य सिर्जनामा मूलतः युवा पुस्तकाहरू लाग्नु आवश्यक छ। लोकसाहित्यले लोकजीवनको अभिव्यक्ति र अनुभूति बोकेको हुन्छ। यसर्थ लोकसाहित्यको सङ्कलन र सम्पादन गरिनु पर्दछ। बालशिक्षा प्रारम्भ गर्न पनि साहित्य चाहिन्छ भने स्नातकोत्तर तहको अध्ययन अध्यापन गर्न पनि साहित्यले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यसर्थ मातृभाषीहरू आफ्नो भाषामा साहित्य सिर्जनातर्फ सक्रियताका साथ लाग्नु आवश्यक छ।
    मातृभाषीहरूले आफ्नो मातृभाषाप्रति सवैले गर्व गर्न जान्नु पर्दछ। जातीय पहिचान र सांस्कृतिक मूल्य–मान्यता बचाइ राख्ने हुनाले जीवनयापनको हरेक क्षेत्रमा घरभित्र र घरबाहिर जहाँ जहिले सम्भव छ सगर्व आफ्नो मातृभाषा प्रयोग गर्नु पर्दछ। अन्त्यमा अमेरिकी आदिवासी डारिल बेब विल्सनको विचार राख्न चाहन्छु–
    "We must know the white [man's] language to survive in this world. But we must know our language to survive forever." (यो संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (मान्छेको) भाषा जान्नु पर्दछ तर सर्धैसधैं बाँच्नका लागि आफ्नै भाषा जान्नु पर्दछ ।)
   यस भनाइलाई मनन गर्नु सक्नु भयो भने तपाई आफ्नो पहिचानसहित बाँच्न सक्नु हुन्छ। धन्यवाद।

अमृत योन्जन–तामाङ
पुरानो वानेश्वरहाइट, काठमाडौं
जेठ २०७०

Saturday, March 15, 2014

ताम्सालिङ पहिचान हो

पहिचान भनेको भाषा धर्म सस्क्रिती भेष भुषा मात्र होइन भुगोल पनि हो । बिभिन्न ठाउँको नाम आदिबासीहरुको आफ्नै भाषामा हुनुले त्यो भुगोल सँग त्यो समुदायको एेतिहासिक सम्बन्ध जोडीएको हुन्छ । जस्तै प्राय सबैले सुनेकै हुनुपर्छ तेमालको नाम जुन तामाङ भाषाको नामबाट बनेको एउटा ठाउँको नाम हो यो ठाउँको नाम तामाङ भाषाबाट हुनुले त्यहा तामाङहरु आदिकाल देखी बस्दै आइरहेको त्यहाको आदिबासी समुदाय हो भन्ने एेतिहासिक प्रमाण देखाइरहेको हुन्छ ।

काठमान्डौ उपत्यकाको नामहरु पनि तामाङ भाषाबाट रहेको थियो जस्तै काठमाण्डौलाई याम्बु, भक्तपुरलाई खोपाङ र ललितपुरलाई हेराङ भनिन्छ तामाङहरुले अहिले सम्म पनि भनिरहेका छन । तर पछी खस आर्य ब्राम्हणहरु उपत्यकामा भित्रे पछी ति ठाउँहरुको नाम मेटाएर काठमाण्डौ, भक्तपुर, ललितपुर नामाकरण गरिदिए । जब यि ठाउँहरुको नाम खस भाषिक करण गरे तब यि ठाउँहरुबाट अर्थात यि उपत्यकाको भुगोलबाट तामाङ जातिको एेतिहासिक बसोबासको सम्बन्ध टुट्न पुगे । उपत्यकाको नामहरु तामाङ भाषाबाट रहनुले तामाङहरु उपत्यकाको आदिबासी समुदाय हो भन्ने प्रमाणित गरिरहेको हुन्छ जब ति नामहरु मेटाएर पछी प्रबेश गरेका खस आर्यहरुले आफ्नै भाषामा नामाकरण गरे उपत्यकाको नामहरु खस आर्यहरुको भाषामा भए पछी उपत्यकाको रैथाने आदिबासी समुदाय खस आर्यहरु चाही हो भन्ने देखिन पुग्छ र देखियो पनि ।

यसरी आदिबासीहरु बस्ने एेतिहासिक भुगोलको नामहरु आदिबासीहरुको आफ्नो भाषामा नभए पछी त्यो भुगोल सँग आदिबासी समुदायको एेतिहासिक सम्बन्ध अलग हुन पुग्छ अर्थात पहिचान बिहिन बन्न पुग्छ । यसकारण आदिबासी समुदायको भाषामा रहेको त्यो एेतिहासिक पुरानो ठाउँको नामहरु पुन प्रयोगमा ल्याउनु जरुरी छ र समग्रमा तामाङहरु एेतिहासिक काल देखी बस्दै आएको भुगोलको नाम ताम्सालिङ नै हो ताम्सालिङ पहिचान हो, लिम्बुवान पहिचान हो, खम्बुवान तमुवान पहिचान हो, नेवा मगरात थरुहट खसान पहिचान हो ।

Thursday, March 13, 2014

ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ: समाजशास्त्री डोरबहादुर विष्ट

डोरबहादुरको त्यो अन्तर्वार्ता

गुणराज लुइँटेल |

चर्चित समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा अन्तर्वार्ता लिने अवसर मिलेको थियो। मुलुकमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएयता जातीय चिनारीको राजनीतिले पनि विस्तारै गति लिन थालेको थियो।

प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको हाम्रो समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए।
मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन। जनआस्था साप्ताहिकका निम्ति यो पंक्तिकारले उनको अन्तर्वार्ता लिने मौका पाएको थियो। साथमा थिए, फोटोपत्रकार सन्तोष पोख्रेल।
अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भन्ने तर्क पनि अघि सारे। अखबारले यही भनाइलाई शीर्षक बनाएर छाप्यो। चर्चा झन् चुलियो। प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो।
अहिले फर्केर हेर्दा त्यो अन्तर्वार्तामा उनले व्यक्त गरेका धारणा आफैंमा विस्फोटक छन्। उनले आफ्नो अध्ययनबाट देखेका विषयलाई प्रस्ट शब्दमा राखे। उनले आफ्ना धारणामात्र राखेका होइनन्, कर्णालीको बाह्रबीसमा कर्णाली इन्स्टिच्युट खोलेर बसेको तीन वर्ष पुगिसकेको थियो। उनी उताबाट काठमाडौं आएको मौका पारेर हामी अन्तर्वार्ताका निम्ति उनलाई भेट्न गएका थियौं।
यो पंक्तिकारको सम्झनामा अहिले पनि उनी झल्झली छन्। आजभन्दा १८ वर्षअघि उनले त्यो अन्तर्वार्ता दिएको केही दिनमै बेपत्ता भए वा पारिए। त्यसयता उनको खोजी भइरहेको छ। हामीले उनको घरबाहिरै बसेर लामो कुराकानी गरेका थियौं। हाम्रानिम्ति उनका धारणा अगम्यजस्ता थिए। फेरि उनीसँग बसेर उनलाई सुन्ने हाम्रो अग्रिम वाचाबन्धन पनि थियो। तर, त्यो कहिल्यै पूरा भएन। प्रस्तुत अन्तर्वार्ता सामान्य भाषिक सम्पादनसहित जनआस्था साप्ताहिकबाट साभार गरिएको हो।
नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ। यसको कारण के होला?
अहिले मानिसहरूले जातीय कुरा गर्नु अति स्वाभाविक हो। नेपालका दुई जाति खस र किराँतमध्ये खस बढी बसाई सरेको जाति हो। खस-आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन्। उनीहरूले छिटो हिँड्ने जनावरहरू गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावरहरू लिएर हिँड्दा घाँसेमैदानमा धेरै चाँडो हिँडे।
किराँत जातिहरू चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो। त्यही भएर उनीहरूले भैंसी, सुंगुरजस्ता छिटो नहिँड्ने जनावर पाले। किराँत वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ। खस पूर्वतिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग पर्‍यो।
किराँत भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ। त्यसले गर्दा खस-आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइएपछि नाक चुच्चे-सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो।
तपाईंले भन्ने गरेको ‘बाहुनवाद’ कतिजनाले बुझे त?
धेरै नै युवा बाहुनहरूले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु। मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्‍यो भन्ने अर्थ लगाए। अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो।
तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्‍यो। नेपाली मान्छे भएपछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस्, मन लागेका ठाँटको घर बनाउनोस्, मन लागेको पार्टनर छानेर विवाह गर्नोस् र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस्, कसले के भनेको छ र?
यथार्थमा ‘बाहुनवाद’ भनेको के हो?
ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ। अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन।
सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं। पौरख नगर्ने हामी कहिले खुसी हौंला त?
अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो।
हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो। त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ। ‘बाहुनवाद’ नफालेसम्म देशले पौरख गर्दैन। पौरख गर्ने जनता नहुँञ्जेल देशले उन्नति गर्दैन।
तपाईं त संस्कृत राम्रोसँग बुझ्ने र पढ्ने मान्छे हुनुहुन्छ। एमाले सरकारको पालामा रेडियोबाट संस्कृतमा समाचार आउँदा त निकै राम्रो लाग्यो होला?
संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन। गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो। केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले। संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन।

कसैकसैले त्यसलाई ‘मृत: भाषा’ पनि भन्छन् किनभने संस्कृत भाषामा बोल्ने चलन कहीँ पनि छैन। यसभित्र अनन्त ग्रन्थ छन्, आवश्यकता ती ग्रन्थहरू पढ्नु र त्यसबाट शिक्षा लिनुमात्र हो। संस्कृत भाषाकै विकास गर्नु होइन। चेपाङ भाषामा खबर दिएको भए दुइटा चेपाङले त देशको कार्यक्रम बुझ्थे। अब यो संस्कृत समाचार दिएर कसलाई शिक्षित बनाउन खोजिएको हो?
तपाईं ‘खस’ हरूलाई पनि जनजातिको दर्जा दिन थाल्नुभएको छ। यसको कारण चाहिँ के हो?
खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन। खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो। आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन। त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने?
अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो। अहिले पूर्वतिर धमाधम जनै लगाएर किराँतीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ। जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो। तर मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुँदेका छन्। आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होला?
पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौं भन्दै जनै लगाइदिँदा तिनै खस बडा सम्मानित भए। पछि बाँकी खसलाई शुद्र हौं भनिरहे। जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो। पुर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ।
तपाईं आफ्नो पुस्तक ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ को प्रयोग गर्नै भनेर जुम्लाको चौधबीसमा काम गरिरहनुभएको छ। अहिले प्रयोग कति सार्थक हुँदैछ?
बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन्। सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे। बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थें। भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं। बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो। त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन।
त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो पर्‍यो। ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें। तर पूर्वतिर एउटा सकसकी आइसकेको छ, किराँत वर्गमा। त्यसैले म खसान क्षेत्रतिर गएँ। योगी नरहरिनाथ पनि खस हुन्। उनी आफू बाहुन भएर हिँड्छन्। तर मैले खसको जुन कुरा गरेको छु उनले त्यो कुरा गरेका छैनन्। योगी नरहरिनाथमा पनि हिन्दू धर्मको वर्णाश्रम व्यवस्थालाई हेर्ने कमजोरी छ।
खसमा किन अवन्नति आयो भन्ने कुरालाई योगीले राजनीतिक ढंगले मात्र हेरेका छन्, ऐतिहासिक ढंगले हेरेका छैनन् । तर मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु। जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन। बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ। मेरो उद्देश्य साम्प्रदायिक होइन। खसहरूलाई जनजाति बनाउनु हो।
अहिले नेपालमा ‘गाईखाने’ कुराको विवाद निकै चर्केको छ। यो विवाद तपाईंलाई कस्तो लाग्यो?
यो कुनै मुद्दा होइन। पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवैपटक राजनीतिक बोली बोलेका हुन्। यथार्थ कुरा के हो भने नेपाल आदिकालदेखि गाईखाने देश पनि हो। अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन्। नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन। नेपाल हिन्दू-अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्‍यो।
राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो। यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो।
यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन्। स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन्। यो झगडा गर्ने एउटा निहुँमात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ।
योगी नरहरिनाथले गाई काट्ने कुरालाई बहुतै उचाल्नुभएको छ। तपाईं योगीजीको गतिविधिलाई कुन रूपमा हेर्नुहुन्छ?
म भए त्यसरी उछाल्ने थिइनँ। जेसुकै कुरालाई पनि बढी उछाल्नुको अर्थ हो- बढी दंगा मच्चाउनु। दंगा भोलि हिंस्रक पनि हुन सक्छ। व्यक्तिले दीर्घकालीन कुरा गर्नुपर्छ। एकै छिनलाई पनि नहुने कुरा गर्न हुँदैन।
तपाईं बाहुन युवाहरूलाई के सल्लाह दिनुहुन्छ?
पुरोहितका छोराहरूलाई भन्ने गरेको छु- तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन। त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक। पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्रर उडेर स्वर्ग जान्छौं’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ।
नेपालका शाह राजाहरूलाई मगरका सन्तान भन्दै आउनुभएको छ। यसलाई प्रमाणित गर्ने कुरा के हुन्?
नेपालका एकीकरण गर्ने राजा क्षेत्रीय नै हुनुपर्छ भन्ने व्याख्या पढाइ नभएका बाहुनहरूले गरे। राजालाई राज्य जोगाउनुछ, जे नाउँ राखे पनि पुगिहाल्यो। म विकासको इतिहास हेर्छु राजसत्ता र सत्ता परिवर्तनको इतिहाससँग मलाई चासो छैन। हाम्रो राजाका पुर्खामा मिचा, खान्चा भन्ने थिए। नाम देख्नेबित्तिकै यहाँ मुस्लिम भने।
तर मगर भाषामा ‘मिचा’ ‘खान्चा’ को अर्थ ‘जेठा’, ‘कान्छा’ हो। पछि मुस्लिम प्रभाव परेपछि सिंह, खाँ, आदि राखे। चितौनगढबाट भागेर आएका हुन् भनेर हिन्दुस्थानका राजपुतले किन आफ्नो छोरालाई जेठा (मिन्चा), कान्छा (खन्चा) भन्नुपर्थ्यो? पृथ्वीनारायण शाहका मावली दिग्वन्धन सेन मगर हुन्। उनकी आमा पनि मगर हुन्।
नेपालमा तीन देवीका मन्दिर छन्- पाल्पाको लसर्गादेवी, गोरखाको गोरखकाली र मनकामना। त्यहाँका पुजारी मगरमात्र छन्, अरूले प्रवेश गर्न पाउँदैनन्। त्यहाँ अझ पाल्पाको लसगीदेवीमा सुँगुर काट्नुपर्छ र जाँडरक्सी पनि जान्छ। अहिले सुँगुरको साटो बनेल जान्छ।
यहाँ आएर राजा भएको भनेर लंगडो तर्क दिइएका छन्। राजपाठ छोडेर भागेर आएको कुनै व्यक्तिलाई आउनासाथ यहाँ कसले ‘ओ हो ! तँ आइछस्, राजा हो’ भन्छ ? न त यहाँ आएर नेपालको राजालाई परास्त गरेको छ। यसकारण नै मैले अहिलेका राजाका पुर्खा मगर हुन् भनेको हुँ। मैले कुनै नयाँ कुरा गरेको होइन।

Wednesday, March 12, 2014

संघात्मक राज्य प्रणाली र क्षेत्रिय तथा जातिय प्रश्न

नेपाल सरकारले मुलुक संघिय व्यवस्थामा जाने निर्णय गरी सकेको छ । तर कस्तो किसिमको संघिय प्रणालीमा जाने हो, अझै सम्म सरकार मात्र होईन, धेरै बुद्धिजीवी र राजनितिक कर्मीहरु पनि यसमा अलमलिएको देखिन्छ । त्यसैले संसदबाट मुलुक संघिय व्यवस्थामा जाने भनिए तापनि संघिय शासन प्रणाली बारे सरकार अलमलिएको छ ।


प्रचिन समय देखि नै संसार भरी विभिन्न किसिमको शासन व्यवस्था चल्दै आएको छ । यस मध्ये राजतन्त्रात्मक सरकार (monarchy), सैनिक तानाशाह सरकार (military dictatorship), अल्प-संख्यकहरुको सरकार (oligarchy), बौद्धिक वर्गको सरकार (meritocracy), जन-प्रतिनिधिहरुको सरकार (democracy), निर्वाचित तानाशाही सरकार (Autocracy), धार्मिक गुरुहरुको सरकार (Papacy) र धनाध्यहरुको सरकार (Aristocracy) आदि आदि ।

तर मुलुकको शासन सत्तामा रही शासन गर्ने राजनैतिक पार्टी, व्यक्ति वा समुहहरुको जे जस्तो दर्शन, सिद्धान्त र नीति भएता पनि सरकारले शासन गर्ने राज्य प्रणाली संसारभर नै जम्मा दुइ किसिमको हुन्छ ।

(०१) - केन्द्रकृत राज्य प्रणाली (Centralized Government):- यस प्रणालीलाई मध्य युगिन सरकार पनि भनिन्छ । यस एकिकृत राज्य प्रणालीमा संघिय सरकार (confederate) को स्वरुप पनि हुन सक्तछ । यो सार्बभौम सरकारहरुको संघ हो, र यस प्रकारको सरकारमा संवैधानिक अधिकार बाँड फाँड नगरिने भएकोले हुकुमी प्रवृतिको हुन्छ ।
(०२) - विकेन्द्रकृत सरकार (De-Centralized Government):- यस प्रकारको राज्य प्रणालीलाई आधुनिक प्रणाली पनि भनिन्छ । यस अर्न्तर्गत संघात्मक राज्य प्रणालीको स्वरुप हुन्छ । यस प्रणालीमा केन्द्र सरकार र स्थानिय सरकारहरुको बिच संवैधानिकरुपमा अधिकारहरुको स्पस्ट बांडफांड भएको हुन्छ ।

केन्द्रकृत सरकार भनेको के हो ? :- जुन मुलकमा सरकारको दैनिक प्रशासनिक कामकाज केन्द्रको अर्थात राजधानीको निर्देशनानुसार वा आदेश बमोजिम संचालन हुन्छ, त्यस प्रकारको शासन प्रणालीलाई केन्द्रकृत सरकार भनिन्छ । यसमा निर्वाचित जनप्रतिनिधिहरुको सरकार होस, राजाको एकलौटि हुकुमी शासन होस, कम्युनिष्ट सरकार होस, सैनिक शासन होस वा कुनै पनि निर्वाचित वा स्वघोषित सरकार वा व्यक्तिको सरकार होस, यदि एउटै केन्द्रको निर्देशसानुसार वा आदेशानुसार मुलुकको प्रशासन चल्छ, भने त्यो केन्द्रकृत सरकार नै हो ।

नेपालमा राणा शासन र त्यसको अघि पछि, पंचायती सरकार र हाल सम्मको जनप्रतिनिधिहरुको सरकार (democracy) हरुको नीति र स्वरुपमा जे जस्तो फरक भए तापनि सबैले एउटै केन्द्र - (राजधानी काठमाण्डौ) बाटै नीति निर्देशन र आदेश दिई मुलुकमा शासन चलाए वा चलाउदै छ । त्यसैले आज सम्मको नेपालको शासन व्यवस्था र सरकार केन्द्रकृत नै हो । स्थानिय निकायहरुलाइ बढी अधिकार दिने नाउंमा पंचायतकालमा "विकेन्द्रीकरण ऐन" र राजाको प्रत्यक्ष शासनकालमा "स्थानिय स्वयात्त ऐन" ल्याईए तापनि, त्यो लागु गरिएन ।

एउटा विद्यार्थीले आफनो नांउ सच्याउने देखि स्कुलको छाना हाल्ने, ठेकका पट्टाको लाईसेन्स लिने, कुलो पानी बनाउनृ, नाता प्रमाणित गर्ने जस्ता सामान्य कार्यको लागि नेपालीहरुले राजधानी काठमाण्डौ नआई / नधाई सु:ख पाउदैनन् । जनता मन्त्रि र शक्तिशाली पहुंच भएकाहरुको चाकडी र निगाहामा बांचेका छन् वा बांची रहेका छन् । जिल्ला आदिका प्रशासनिक निकायहरुका निजामति, प्रहरी वा सैनिकको तालुकदार र कर्मचारी सबै केन्द्र सरकार द्धारा नियुक्त गरी खर्टाईएको हुन्छ । जिल्लाका राजनैतिक निकायहरु केन्द्रीय सरकारको निति निर्देशन र आदेश पालना गर्ने एउटा तावेदार मात्र हुन । नेपालको हकमा राणाकालिन बडा हाकिम, पंचायतकालिन अंचलाधीश र हालको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु मात्र होईन प्रहरी, मालपोत, अदालत, सिंचाई, अर्थात सबै विभागका जिल्ला स्तरका कर्मचारी केन्द्र सरकार बाटै खटिन्छन । कर्मचारीले राम्रो काम गरेमा पुरस्कार र खराब काम गरेमा दण्ड गर्ने अधिकार जिल्लाका जनप्रतिनिधिहरुलाई हुंदैन र छैन । यसको सम्पूर्ण अधिकार केन्द्रीय सरकारलाइ हुन्छ वा छ ।

स्थानिय जनप्रतिनिधिहरुलाई कर्मचारीहरुलाई पुरुस्कार र दण्ड गर्ने कानुनी शक्ति र अधिकार नभएकै कारण कर्मचारीहरुले केन्द्रमा बसेको आफनो हाकिमलाई मात्र चित्त बुझ्ने र रिझाउने गरी जिल्लामा काम गर्छन, अर्थात गर्दै छन । जिल्लाको प्रशासन जिल्लाका जनताको आवस्यकता र चाहना अनुसार नभई केन्द्र (राजधानी) मा बसेका सत्ताधारी मन्त्रि वा नेताहरुको चाहाना अनुसार गर्ने भएकोले जनताले न्याय नपाउने मात्र होईन विकास र निर्माण पनि चित्त बुझदो हुंदैन । नेपालको वर्तमान प्रजातान्त्रिक व्यवस्थामा जनताले रित्तो मुख खेलाउन पाउने बाहेक केही पाएको छैन । वर्तमान सरकारको राज्य प्रणाली पनि पृथ्वी नारायण शाह देखी आज सम्म एक रत्ति फरक छैन । यसरी राज्य संचालनको सम्पूर्ण अधिकार एउटै केन्द्रमा सिमित रहने केन्द्रकृत व्यवस्थालाई राजनीतिक शास्त्रको दृष्टिकोणमा पछौटेपनको द्यौतक, जनविरोधी र मध्ययुगिन शासन प्रणाली भनिन्छ ।

यस प्रकारको जनविरोधी राज्यको शासन प्रणाली युरोप, अमेरिका र विश्वका विकसित धेरै मुलुकहरुबाट हटी सकेपनि नेपाल लगायत मध्य पूर्ब, अफ्रिका, लेटिन अमेरिका र एशिया महाद्धिपहरुका पछौटे मुलुकहरुमा यस प्रकार को केन्द्रकृत राज्य प्रणाली छ । जहाँ बढी शक्ति हुन्छ, त्यहाँ नै बढी भ्रष्टाचार हुने भएकोले, आज संसारमा यस्ता केन्द्रकृत शासन प्रणाली भएका मुलुकहरु नै सबैभन्दा बढी भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन् ।

राजनैतिक शक्ति एउटै व्यक्ति वा केही व्यक्तिहरुको समुहमा सिमित हुने भएकोले, जनप्रतिनिधि (प्रजातान्त्रिक) सरकार भएतापनि यो तानाशाही प्रवृतिका सरकार हुन्छ, र यस प्रकारको सरकारहरुले आफुलाई बढी प्रजातान्त्रिक देखाउन । राज्य संचालनका अंगहरु अर्थात कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिच नियन्त्रण र सन्तुलन (check and balance) को सिद्धान्त अपनाएको हुन्छ । तर विविध धार्मिक, जातिय र संस्कृतिक समुदायहरुले यसबाट केही पनि फाईदा पाउदैनन् । किनकि यस प्रकारको सरकारमा गरिने निर्वाचन सबै किसिमको शक्ति र पैसाको आधारमा हुने भएकोले यो सर्ब-साधरणको लागी दिवा स्वप्न मात्र हो ।
यस प्रकारको केन्द्रकृत राज्य व्यवस्थामा जनतालाई वाक तथा प्रकाशन एवं दलिय राजनीतिको स्वतन्त्रता प्रदान गरिए तापनि यस्ता केन्द्रकृत राज्य व्यवस्थालाई राजनीतिक शास्त्रमा जनताबाट निर्वाचित बहुदलिय तानाशाही सरकार भनिन्छ ।

संघिय (confederate) सरकार भनेको के हो ? :- यो दुई किसिमको हुन्छ ।
(०१) - सार्बभौम सम्पन्न स्वतन्त्र राज्यहरुको संघलाई संघिय (confederation) सरकार भनिन्छ । यसमा सार्बभौम राज्यहरुले आफनो अधिकांश सार्बभौम अधिकार परित्याग गरी संघलाई हस्तान्त्रण गरेको हुन्छ । सन् १९१७ मा रुसका जनताले जारको सत्ता समाप्त पारेपछि जनताको आत्म निर्णयको अधिकारको सिद्धान्त अनुसार विभिन्न जातिहरुलाई सार्बभौम राज्य दिईयो । यो १७ वटा थियो । सबै जातिहरु मिलेर जारलाई फालेको कारण र साना एवं विभाजित अवस्थामा विकास सम्भव नहुने देखेर जारको शासन विरुद्ध संगै लडेका सबै सार्बभौम राज्यहरु मिलेर एउटै संघ राज्यको निर्माण गरी यसको नांउ "सोवियत समाजवादी गणराज्य संघ" (Union of Soviet Socialist Republic) राखियो ।

यस संघका सदस्य राष्ट्रहरु सार्बभौम भए तापनि दोस्रो युद्धको तत्काल देखिएको खतरालाई दृष्टिगत गरी, स्वतन्त्र राज्यहरको संघ सोभियत संघलाई बढी अधिकार प्रदान गरियो, र दोस्रो युद्ध पछि त्यस बेलाको युरोप अमेरिकासंग शीतयुद्ध चर्किएकोले सोभियत संघको अधिकारलाई यथावत राखियो । संयुक्त राष्ट्र संघमा सोभियत संघका सदस्य राज्य युक्रेन र अजरबैजान पनि सदस्य थिए, भने सोभियत संघ पनि सदस्य थियो । सोभियत संघका सदस्य राज्यहरुको भन्दा सोभियत संघको अधिकार अत्यधिक बढी भएकोले यस प्रकारको सरकारलाई पनि केन्द्रकृत सरकार भनिएको हो । कालान्तरमा र्सार्वभौम गणराज्यहरु सोभियत संघको सदस्यता परित्याग गरी स्वतन्त्र भई बसेकाले सोभियत संघ विघटन भएको हो ।

(०२) - मुलुकको मुल कानुन संविधानबाट विकास, निर्माण र प्रशासनमा पूर्णत अधिकार प्राप्त स्थानिय स्वायात्त सरकारहरु मिलेर बनेको सरकारलाई पनि संघिय (Confederate) सरकार भनिनछ । र यसमा स्वायात्त प्राप्त   सरकार र्सार्वभौम हुंदैन । यसमा केन्द्रीय सरकार र स्थानिय स्वायत्त सरकारहरुको बिचमा संवैधानिकरुपमा नै शक्तिको विभाजन गरिएको हुन्छ । वास्तवमा यो संघात्मक राज्य प्रणाली नै हो । तर यस प्रकारको सरकारलाई अंग्रेजी शब्द Federation प्रयोग नगरी Confederation शब्द प्रयोग गरिएकोले मात्र यहां उल्लेख गर्नु परेको हो ।

वास्तवमा सार्बभौम बाहेक अन्य सम्पूर्ण अधिकार स्थानिय स्वायत्त सरकारहरुलाई संवैधानिकरुपमा नै केन्द्र सरकारले हस्तान्त्रण गरेको हुँदा यसलाई Confederation भनिएको हो ।
जस्तै:- स्वीस महासंघ (Swiss confederation)। वास्तवमा, स्वीस महासंघ Federation नै हो, तर संघिय केन्द्र सरकार भन्दा स्वायत्त क्षेत्र (केन्टोन) हरु बढी शक्तिशाली छ भनी देखाउनको लागी Confederation शब्द प्रयोग गरिएको हो । यो जन-पक्षिय सरकार हो ।

आत्म निर्णयको अधिकार भनेको के हो ? :- आजकल आत्म निर्णयको अधिकार बारे निकै चर्चा परिचर्चा चलि रहेको छ । यो चर्चा विशेष गरी कम्युनिष्टहरुबाट चलेको पाईन्छ । मार्क्सवादी दर्शन अनुसार, आत्म निर्णयको अधिकार भनेको साबिकको र्सार्वभौम राज्यबाट अलग्गिएर छुट्टा छुट्टै जातिहरुले छुट्टा छुट्टै सार्बभौम सम्पन्न राज्य प्राप्त गर्न पाउने अधिकार हो ।
वास्तवमा यो विचारधारा रुसी कम्युनिष्ट विचारधाराको नक्कल मात्र हो । तत्कालिन रुसमा रुसका विभिन्न जातिहरु मिश्रित रुपमा वसोवास नगरी छुट्टा छुट्टै जातिहरु बेग्ला बेग्लै ठांउँमा ठीक ठीक बसोवास गरेकाले, जार शासन माथि विजय प्राप्त गरे पछि, ती जातिहरुलाई स्वतन्त्र र्सार्वभौम राज्य दिलाउने शर्तमा रुसी कम्युनिष्ट पार्टी विभिन्न जातिहरुको सहयोगमा जारको विरोधमा लडेका थिए । जार शासनको अधिनमा रुसमा कज्जाक, युक्रेन, उज्बेक, ताजिक, जर्जियाई र रुसी जस्ता कैयौ जातिहरु थिए । यसमा प्रमुख शासक जाति रुसी जाति नै थिए ।

जारको सत्ता पतन पछि पनि फेरी रुसी जाती कै अधिनमा हामीहरु बस्ने हो भने जारको विरुद्द हामी किन लडने ? ति जातिहरुले रुसी कम्युनिष्ट पार्टीलाई प्रश्न गरेका थिए । ति जातिहरुको सहयोग बिना जारमाथि विजय प्राप्त गर्न सम्भव थिएन । त्यसैले ति जातिहरुलाई जारको विरुद्ध लर्डाईमा सहभागी बनाउन, र खुशी पार्न रुसी कम्युनिष्ट पार्टिका विभिन्न जातिहरुलाई आत्म निर्णयको अधिकार दिन बाध्यतावस सहमति भएका थिए ।

वास्तवमा यो सहमति जारको विरुद्ध लडनको लागी, रुसी कम्युनिष्टहरुको सशक्त रणनीति थियो । यसै सहमतिको आधारमा विविध जातिहरुलाई जातिय आधारमा र्सार्वभौम राज्य दिनु पर्छ, भनि र्सव-प्रथम सन १९१२ मा स्टालिनले Maxism and Nationalilites (मार्क्सवाद र जातिहरु) नामक पूस्तक लेखेका थिए । यसै पुस्तकलाई समर्थन गर्दै लेनिनले सन १९१३ मा Right of nations to self Determination - (जातिहरुको आत्म निर्णयको अधिकार) लेख लेखी रुसी कम्युनिष्ट पार्टी बाट अनुमोदन गरेका थिए ।

जार शासनको पतनपछि यसै सिद्धान्तको आधारमा रुसका छुट्टा छुट्टै जातिहरुलाई जातियताको आधारमा बेग्ला बेग्लै र्सार्वभौम स्वतन्त्र राज्य प्राप्त गरेका थिए, र यी राज्यहरु अहिले सम्म कायमै छ । तर मार्क्सवादलाई नै मुल सिद्धान्तको रुपमा स्वीकार गर्ने चिनिया कम्युनिष्ट पार्टी, रुसको जातिहरुको आत्म निर्णयको अधिकारलाई स्वीकार गरेनन् । यद्धपि चिनमा ९५ प्रतिशत भन्दा बढी हान जाति नै छन, तापनि चिनिया कम्युनिष्ट पार्टी अन्य जातिहरुलाई आत्म निर्णयको अधिकार होईन, स्वायात्यता (Autonomous) प्रदान गरे ।

जस्तै:- Inner Mongolia, Autonomous Region, Guanxi Zhuang Autonomous regin, Tibetautonomous Region, Ningxia Hui Autonomous region आदि । यी बाहेक अति अल्प संख्यकहरुको Preferecture (स्वशासित क्षेत्र) हरु पनि छन । यी स्वायत्त क्षेत्रहरु एक जाति विशेषको बहुमतको आधारमा बनेका छन । तर कम्युनिष्ट मुलुक भियतनाम, उत्तरी कोरिया, र क्युबाले त्यहाँका जनतालाई आत्म निर्णयको अधिकार वा स्वात्यायता केही पनि दिएको छैन । किन कि त्यहाँ लगभग एउटै जाति वा धर्मका मानिस रहेकाले तत्कालिन सत्ताको विरुद्धमा लडन त्यहाँका कम्युनिष्ट पार्टी अन्य जातिहरु सँग शर्त बन्द गठबन्धन Bargaining गर्न परेको थिएन । तर विविध जातिहरु भएको कम्युनिष्ट मुलुक कम्बोडियामा आत्म निर्णयको अधिकार वा स्वायत्तता नदिंदा, खमेर जातिले हतियार उठाई बिद्रोह गर्दा कम्बोडियामा ठुलो नर-संहार हुन गयो । भूतपूर्ब कम्युनिष्ट राज्य युगोस्लाविया र अल्बानियामा जाति वा धर्मको आधारमा स्वात्यता नदिंदा आज जाति र धर्मको नांउमा ती मुलुकहरु टुक्रियाका छन् ।

नेपाल बहु-जातिय, बहु-धार्मिक र बहु-भाषिक मुलुक भए तापनि केही सामान्य अपवाद बाहेक एउटै जाति, धर्म वा भाषाका मानिसहरु रुस वा चीनमा जस्तो एकै ठांउमा ठीक ठीक बसेका छैनन । विभिन्न क्षेत्र वा जिल्लाहरुमा एउटा जाति विशेषको बहुमत कायम भए तापनि मिश्रित बसोवास छ । मिश्रित जातिहरुको बसोवास भएको नेपालको सामाजिक बनौटमा, नेपालका कम्युनिष्टहरुले पटक पटक उठाउँदै आएको विभिन्न जातिहरुले पाउनु पर्ने भनिएको आत्म निर्णयको अधिकार, वा जातिको नाउँमा स्वायत्तता हुनु मुलुकको हितमा छैन । जातिय स्वात्यताले सामाजिक र साम्प्रदायिक सदभावमा खलल पुग्ने मात्र होईन, कि कालान्तरमा मुलुकको सार्बभौम  अखण्डतामा समेत आँच आउन सक्तछ ।

संघात्मक सरकार (Federal Government) :- वर्तमान विश्वको प्रजातान्त्रिक समाजमा शासन गर्ने तरिका संघात्मक प्रणाली नै हुन । यो प्रणाली शक्ति विकेन्द्रीकरण सिद्धान्त (Theory of decentralization of power) मा आधारित छ । अर्थात स्थानिय जनतालाई अधिकार दिनु पर्छ (Power to the local people) भन्ने यसको मुल मन्त्र हो ।

संघात्मक सरकारमा, केन्द्रीय सरकार र स्थानिय सरकारको बिचमा संवैधानिक रुपमा अधिकारको बाँडफाँड गरिएको हुन्छ । यसमा स्थानिय सरकार सार्बभौम नभई केन्द्रीय सरकार सावैभौम हुन्छ । तापनि मुलुकको संविधान द्धारा केन्द्रीय सरकारले गर्ने काम र स्थानिय सरकारले गर्ने काम, संविधान बाटै व्याख्या गरिएको हुन्छ । संघात्मक सरकारको राम्रो उदाहरणमा स्वीटजरलेण्डलाई लिईन्छ । त्यहाँ प्रत्येक केन्टोन स्वतन्त्र छ, र्सार्वभौम होईन । एउटा केन्टोनले अर्को केन्टोनसँग समझौता गर्न सक्तछ । बहु-जाति, बहु-धार्मिक र बहु-भाषिक स्वीटजरल्याण्डमा राष्ट्रिय शिक्षा, राष्ट्रिय भाषा र राष्ट्रिय धर्म छैन । यी सबै आ-आफना केन्टोनका हुन्छन । नियमित सैनिक नभएतापनि १६ वर्ष पुगेका प्रत्येक सक्षम नागरिकले सै्निक तालिम लिन अनिवार्य छ । स्वीटजरल्याण्ड कुनै पनि सैनिक गुटमा नभएको मात्र होईन, कि यो आज सम्म संयुक्त राष्ट्र संघ को सदस्य पनि छैन । नेपालमा हाल उठी रहेको जातिय, भाषिक वा धार्मिक विवादहरुलाई छिट्टै समाधान नगरिएमा यसले कालान्तरमा मुलुकमा गम्भिर समस्या उत्पन्न गर्न सक्तछ ।

सरकार संघिय प्रणालीमा जाने भनिए तापनि कस्तो किसिमको संघिय प्रणालीमा जाने हो, यसमा स्वयम सरकार अलमलिएको छ, र बुद्धिजीवीहरुमा पनि खुलेर प्रष्ट बहस चलेको देखिएको छैन । हालको ७५ जिल्लाहरुलाई नै संघिय केन्द्र सरकारको इकाई मान्ने हो भने, यो राजनैतिक बेईमानी हो । स्वायत्त क्षेत्रहरुको अभावमा संघिय सरकारको कुरो गर्नु रानीतिक चिन्तनको दर्रि्रता हो । समस्या सबैले देखाएका छन, तर राष्ट्रिय हितमा समाधानको बाटो स्पष्ट गर्न सकिएको छैन । तर्सथ हाल उठेको जातिय, भाषिक, धार्मिक र क्षेत्रिय समस्यहरुको समाधान अरु मुलुकहरुको नक्कलमा होईन, नेपालको आफ्नै मौलिक विशिष्टताको आधारमा गरिनु पर्छ । हाल मुलुकमा उठेको समस्याहरुको समाधान निम्न राज्य प्रणाली व्यवस्था द्धारा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ ।

संघिय राज्यको संरचना :- (०१) - स्थानिय/क्षेत्रिय स्वात्यायता सम्भव भए सम्म एक जाति विशेषको बहुमत कायम हुने गरी भौगोलिक क्षेत्रको आधारमा स्वायत्त क्षेत्र छुट्याईनु पर्छ । जाति, क्षेत्र वा संस्कृतिक समुहको आधारमा यी स्वायत्त क्षेत्रहरु ठुला वा साना हुन सक्तछ । मुद्रा, सेना, विदेश नीति, युद्ध र शान्तिको घोषणा, हुलाक र संचार, सामरिक महत्वका उद्यौग र ठुला ठुला उद्यौगहरु (Heavy Industries) संघिय केन्द्र सरकारमा राखी बांकी विकास, निर्माण र प्रशासनको सम्पूर्ण अधिकार स्थानिय/क्षेत्रिय स्वायत्त सरकारहरुलाई दिनु पर्छ । भाषा, जाति, धर्म आदिर् इत्यादि सम्बन्धमा निर्णयक व्यवस्थापनको जिम्मा यिनै स्वायत्त  सरकारहरुलाई दिनु पर्छ । संघिय केन्द्र सरकारले विदेशी अनुदान वा सहयोग यी स्वायत्त क्षेत्रहरुमा समानुपातिक आधारमा वितरण गरिनु पर्छ ।

संघिय सरकारको संरचन (०२) - जातिय जन-संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व स्वायत्त क्षेत्रहरुमा बसोवास गर्ने सबै जातिहरुलाई उनिहरुको जन-संख्याको आधारमा समानुपातिक रुपमा प्रतनिधित्व गराईनु पर्छ । यसरी जातिय जन-संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व नगराई प्रतिस्पर्धाको निर्वाचन गराएमा कमजोर जाति वा पक्षहरुको मतलाई शक्तिशालीहरुले मिच्ने निर्विवाद छ । यस्तो अवस्थामा कमजोर वा पछि पारिएका जातिहरुको सरकारी नीति निर्माणमा सहभागिता कल्पना मात्र हुनेछ । अति अल्प-संख्यक जातिहरु मध्ये दलित र गैर-दलित जातिहरुको अलग अलग समुह बनाई उनिहरुको जातिय जन-संख्याको आधारमा समानुपातिक सक्रमणिय चक्र प्रणली द्धारा सरकारको नीति निर्माणमा सहभागी गराउन सकिन्छ ।

नेपालमा पृथ्वी नारायण शाहको पाला देखी आज सम्म चली आएको परम्परागत मध्ययुगीन केन्द्रकृत शासन प्रणालीलाई त्यागी शक्ति विकेन्द्रीकृत सिद्धान्तको आधारमा उपरोक्त उल्लेखित आधुनिक संघिय राज्य र संरचना सहितको संघात्मक सरकार (Federal government) गठन गरिनु पर्छ । यसलाई गम्भिरता पूर्बक लिनु पर्छ, र समय मै यसको समाधान नगरिएमा कालान्तरमा मुलुक अकल्पनिय दर्घटनामा पर्न सक्तछ ।

एम.एस. थापाको प्रस्तुत कार्यपत्र ।

(इन्टर नेशनल प्रेसर इन्स्टीच्युट, काठमाण्डौमा ०६३ चैत्र २ गते । 
 मिति ०६३ फागुन २८ गते ।

Monday, March 10, 2014

'आमा' शब्दको भाषावैज्ञानिक विश्लेष्ण

अमृत योन्जन 

आमा’ शब्द तामाङ भाषा र परम्पराको सम्पदा हो।

 छ/सात वर्ष अगाडि अर्थात् २०४३-४४ सालतिरको कुरा हो। साथीहरुबीच भाषा विषयको कुरा चलिरहेको थियो। कुराकै शिलशिलामा एउटा नेपाली भाषी मित्रले सोध्यो– ’तामाङ भाषामा ’आमा’लाई के भन्छ?’ मैले ’आमा’ भनेर सहज उत्तर दिएँ। मित्रले प्रष्ट पार्यो– ’त्यो त नेपाली भाषाको शब्द हो।’ साँच्चै, तामाङ भाषामा आमाको समानार्थी के होला? त्यसै दिनदेखि यस शब्दबारे सोच्न थालेँ। धेरै तामाङ भाषीहरुसँग सम्पर्क गरेँ। उत्तर उही आउन्थ्यो। यसैबीचमा मैले आमाको बेग्दै शब्द (Word coined) बनाउन नखोजेको पनि होइन।
   केही कालपछि तामाङ भाषा र भाषाविज्ञानको अध्ययनतिर मेरो चासो बढदै गयो। अध्ययनको क्रममा मैले ’आमा’ शब्दको दसी फाटफुट पाउन थालेँ। यसपछि म मेरा मित्रलाई जवाफ दिन सक्ने भएँ। हालै मित्र रविन्द्रसिंह लामाले यसै बारेमा ल्हासो पत्रिकामा लेख्न अनुरोध गरे पछि म लेख्न तयार भए।
   भाषाको परिवार हुन्छ। नेपालमा चार परिवारका लगभग १४३ भाषा बोलिन्छन्। नेपाली भाषा भारोपेली भाषा परिवारभित्र पर्दछ। नेपाली भाषाबाहेक यस परिवारका अन्य भाषीले आमाका लागि ’आमा’ शब्द प्रयोग गर्दैनन्, जस्तै संस्कृतमा ’माता’ (जननी, प्रसु पनि), हिन्दी, गुजराती र बङ्गालीमा ’मा’, भोजपुरीमा ’माइ’, मैथिलीमा ’माय’, अङग्रजीमा ’मदर’, ल्याटिनमा ’मतेर’ हुन्छ। नेपाली भाषाकै पश्चिमेली भाषिकाका वक्ताले ’इजा’, केन्द्रिय भाषिकाका वक्ताले ’जिमा’ भन्दछन्।
   यी भारोपेली परिवारका भाषाहरुमा ’आमा’ शब्द पाइँदैन। नातागोताका शब्दहरु ’आ’ बाट सुरु हुँदैनन्। यसबाट ’आमा’ शब्द भारोपेली भाषा परिवारको सम्पदा होइन भन्ने प्रष्ट हुन्छ। नेपाली भाषा पनि यसै परिवारको सदस्य भएको नाताले यो शब्द नेपाली भाषाको पनि बपौति वा सम्पदा होइन रहेछ भनेर निष्कर्ष निकाल्न सकिन्छ।
   नेपालमा बोलिने अर्को महत्वपूर्ण परिवार भोट–बर्मेली भाषा परिवार हो। यस परिवारका भाषाहरु– तामाङ, गुरुङ, चेपाङ, दनुवार, जिरेल, थकाली, खाम, छन्त्याल, तिब्बती आदिमा ’आमा’ शब्द नै प्रयोग हुन्छ (लेप्चामा ’आमु’, सुनुवारमा ’अमा’ र शेर्पामा ’ममा’ हुन्छ)। यी माथिका उदाहरणबाट ’आमा’ शब्द भोट–बर्मेली परिवारको सम्पत्ति रहेछ भन्ने देखिन्छ।
   यो शब्द मूलतः भोट–बर्मेली परिवारका हिमाली शाखाका भाषाहरुमा व्यापक प्रयोग हुन्छ। अब यो शब्द कुन भाषा विशेषको होला भन्ने प्रश्न उठन सक्दछ। यसबारे पनि निक्र्यौल हुन आवश्यक ठान्दछु। ’आमा’ शब्द भोट–बर्मेली भाषा परिवारका साझा सम्पत्ति देखिएता पनि हालको प्रयोगलाई हेर्दा यो तामाङ भाषाको शब्द हुन सक्ने मेरो ठहर छ। भोट–बर्मेली भाषा परिवारमा तामाङ भाषाको विशेष महत्व छ र एक प्रचलित धारणा अनुसार तामाङ भाषा तिब्बती भाषाको पनि प्राक् रुप (Proto-form)  हो भन्ने अडकल गरिएको छ।
   सामाजिक सन्दर्भमा आफुलाई जन्मदिने नारीलाई ’आमा’ भनिन्छ। यो शब्द तामाङ भाषाको सम्पत्ति हो भनेर दावी गर्नुभन्दा अगाडि तामाङ साइनो शब्दहरुलाई केलाउन आवश्यक छ। यस भाषामा साइनो शब्द प्रायः ’आ’बाट सुरु हुन्छ, जस्तै –

    आखे (बाजे), आपा (बुबा), आमा (आमा), आपाग्रेन/आपेन (ठूलाबा), आमाग्रेन/आमेन (ठूला आमा), आगु(काका),    आरु/आसु (काकी, सानीआमा, सौतेती आमा), आस्याङ (मामा), आङि (फुपु, माइज्यु), आज्यो/ज्योज्यो (दाज्यु), आना/नाना (दिदी), आले (भाइ) र आङा (बहिनी)।

   ’आ’बाट सुरु भएको यत्ति धेरै साइनो शब्द अन्य कुनै भाषामा सायदै पाइदो हो। संस्कृत भाषामा आबाट सुरु भएको नातासम्वन्धी शब्द जम्मा तीनओटा मात्र रहेछ– आबुत (भिनाज्यु), आम्बा (माता) र आबुक (पिता) नेपालीमा ’आ’ बाट सुरु हुने नाता शब्द आमा र आमाज्यु मात्र हुन्। यी पनि तामाङ भाषा परम्पराको देन हो भन्ने कुरा यो लेख टुङ्गिदासम्ममा प्रष्ट हुनेछ। तिब्बती र अन्य हिमाली भाषामा पनि नजिकको नाता बुझाउने ’आ’ अक्षरबाट सुरु हुने यत्ति धेरै शब्द छैनन्।
   अझ गहरिएर हेर्दा ’आमा’ शब्दको पहिलो अक्षर (Syllable) ’आ’ले तामाङ समाजमा निकट रक्तसम्वन्धको सङ्केत गर्दछ। निकट रक्तसम्वन्ध (Closed blood relation) नहुने तामाङ साइनो शब्दहरु ’म्हा’ (भेना÷जुवाइ), ’चाङ’ (भाउज्यु÷बुहारी) शब्दमा ’आ’ अक्षरको अनुपस्थतिले यसको पुष्टी गर्दछ।
   माथि भनिसकेको छ– तामाङ भाषा भोटबर्मेली परिवारको भाषा हो। यस परिवारको भाषा एक अक्षरीय (Mono-Syllabic) हुन्छ अर्थात् प्रत्येक अक्षरले अर्थ बोकेको हुन्छ। यसर्थ ’आमा’ शब्दमा रहेको दोस्रो वा अन्तिम अक्षर ’मा’ले दिने अर्थलाई पनि यहाँ विश्लेष्ण गर्न आवश्यक छ।

   माम (बज्यै), आमा (आमा), माःमा (माउ), योमा (पोथी), स्युमि (सासु), निमु (नन्द), जामे (छोरी), छामे(युवती), कोन्मे (भान्जी), दामो (नानी), ज्योमो (सुन्दरी, देवी), ल्हामो (देवी), माइ (नानी) र म्रिङ (स्वास्नी)।

   माथि प्रस्तुत शब्दहरुको अन्तमा 'म्मामिमुमेमोआएको छ। यी अक्षरले नारी जातिको सङ्केत गरेको छ अर्थात् यी स्त्रीलिङ्गी सर्ग हुन्। ’माइ’ र ’म्रिङ’ शब्दमा उपस्थित ’म’ अक्षरले पनि नारीलाई नै सङ्केत गरेको छ।
   माथिका विश्लेषणबाट ’आमा’ शब्दमा उपस्थित पहिलो अक्षर ले अति नजिकको नाताको बोध गराउँछ भने अन्तिम अक्षर माले नारी जनाउँदछ। यसर्थ ’आमा’ शब्दको अर्थ ’अति नजिकको नाताकी नारी’’ भन्ने हुन्छ। सामाजिक रुपमा आमा प्रत्येक व्यक्तिको अति नजिकको वा पहिलो नाता पनि हो अर्थात् आमा पहिलो यर्थाथ हो। यसरी भाषावैज्ञानिक दृष्टिकोणबाट ’आमा’ शब्दले रक्तसम्वन्ध देखाउँछ भने तामाङ समाजमा आमाको पारिवारिक, सामाजिक तथा सांस्कृतिक महत्व पनि अद्वितीय छ। ’आमाइले होइ आमाइले’ जस्ता आमा वन्दनाबाट तामाङ सांस्कृतिक गीतहरु सुरु गरिने परम्पराको बारेमा सन्तवीर लामाले ताम्बा काइतेन व्हाइ रिमठिम (१९५७) मा लेखिसकेका छन् र यो परम्परा अझै जीवितै छ। तामाङ समाजमा नारीले ओगटेको स्थान र सम्मान अति विशिष्ठ रहेको तथ्य सर्वविविदै छ।
   यसर्थ नेपाली समाजमा प्रयोग गरिने ’आमा’ शब्द भोट–बर्मेली परिवार अनि तामाङ भाषा र परम्पराको सम्पदा हो भनेर ठोकुवा गर्न सकिन्छ। यदि कसैले संस्कृत भाषाको ’अम्बा’ वा ’माता’ शब्दबाट आमा शब्दको विकास भएको भन्दछन् भने उसको बौद्धिकता टाट पल्टिन लागेछ भनेर बुझ्नु पनि पर्दछ।
   तामाङ शब्दबाट ’आमा’ शब्द मात्र होइन, सम्मान देखाउन नेपाली समाजमा ’मुमा’ शब्द तामाङ भाषाको ’माम’बाट बनेको हो। यस्तै ’ज्योज्यो’ बाट ’दाज्यु’ र ’ज्यु’ शब्द विकास भएको अडकल राधावल्लभ उपाध्याय (२०४३)ले गरेका छन्। यसरी नेपाली भाषाका थुप्रै साइनो शब्दहरु तामाङ भाषाबाट नेपालीले लिएका छन्। तर नेपाली विद्वानहरुमा जहिले पनि दक्षिणतिर मात्र फर्केर हेर्ने संस्कारले गर्दा नेपालको इतिहास, भाषाविज्ञान वा समाजशास्त्र सबै दिग्भ्रमित भएका छन् भन्नेहरु पनि छन्। आफ्नै देशको हावापानीमा जन्मिएका वा मौलिएका नेपाली इतिहास तथा सांस्कृतिक परम्पराहरुलाई आफ्नै नेपाली आँखाबाट हेर्न सके यसको सङ्लो रुप देख्न सकिन्छ जस्तो मलाई लागेको छ। यसतर्फ ध्यान दिनहुन सवै विद्वान वर्गमा हार्दिक अनुरोध गर्न चाहन्छु।
सन्दर्भग्रन्थ  
लामा, सन्तवीर (इ. १९५७) ताम्बा काइतेन व्हाइ रिमठिम, काठमाडौंः रत्न पुस्तक भण्डार (२०६१ पन्घ्रौ संस्करण) ।
उपाध्याय, राधाबल्लभ (२०४३) समाज भाषाविज्ञान, पोखराः अम्बिका सापकोटा । 

Thursday, February 27, 2014

स्वस्थानी कथाको रहस्य





Kabitra ram shrestha- डा. कविताराम श्रेष्ठ 
माघ महिनाभरी स्वस्थानी कथा बडो भक्ति र उत्साहकासाथ नेपालमा पढिइन्छ । यसको महात्म्यको गुण गाइन्छ । सजधजकासाथ यसको ब्रत हुन्छ । त्यस्तैगरी सांग्य विधि अपनाइन्छ । यिनका धार्मिक पक्षको महत्ता आफ्नै ठाउँमा छ । म त्यो कुरो गर्न गइरहेको छैन । यसका कथाले संस्कृतिक इतिहासका दुइवटा महत्वपूर्ण कुरा संकेत गरिरहेको छ- यहाँ म त्यो कुरा गर्न गइरहेको छु ।
Shiva 1
पहिलो कुरो : स्वस्थानी कथामा शीवजीको कथा प्रथम नायकको रुपमा प्रस्तुत भएको छ । उनी नन्दी, भृंगी, भूतप्रेत, पिसाचका मालिकका रुपमा प्रस्तुत छन् । उनी नांगा जंगली असभ्य देखिइन्छन् र आर्य समाजमा यति तिरस्कृत देखिन्छन कि कन्यासम्म नपाउने स्थितिमा हुन्छन् । उनी असुर अर्थात् अनार्यहरूबाट त पूजिइन्छन् तर सूर अर्थात आर्यहरुबाट पूर्णत: अस्वीकृत र बहिष्कृत छन् । अन्तत: उनलाई ठूलै संघर्षपश्चात उद्भव भएको समावेशी धर्महरू (वैष्णव, शैव र शाक्त धर्म) समेतको हिन्दुधर्मका देवकोटीमा ल्याइन्छन् । यस कथाले प्रकारान्तमा हिमवतखण्डमा पश्चिमतिरबाट प्रवेश गरेका यज्ञसंस्कृतिका अनुयायी आर्य र यतैका स्थानीय आदिबासी हरू (नाग, सर्प, किन्नर, निषाद, व्याधा, ब्रात, किराँत, कुलाल) बीचको युगौंको सांस्कृतिक संघर्षको ऐतिहासिकतालाई पुष्टि गर्दछ । युगौंको संघर्षबाट शिवधर्मको उत्कर्ष कसरी भयो र पुरातन यज्ञसंस्कृति कसरी क्रमश: अनार्यहरूका मूल्य र मान्यतासाथ मिश्रित भई समावेशी हिन्दुधर्ममा परिणत भयो त्यो तथ्यलाई स्पष्ट गर्दछ ।
Shiva 2
दोश्रो कुरो : स्वस्थानी माताको प्रसंग र शक्तिपीठको स्थापना । भनिएको छ- दक्षका छोरी सतिले आनार्य शिवलाई वरण गर्दा उनीहरूको ठूलै अवहेलना हुन्छ । दक्षले एक यज्ञमा शिव र सतिलाई नबोलाई ठूलो यज्ञको योजना गर्दछन र असन्तुष्ट सति त्यहाँ पुग्दा पिता दक्षले शिवलाई असभ्य, असंस्कृत, कुजात जंगली देवको रूपमा निन्दा गर्छन् । सो निन्दा सहन नसकी सतिले त्यसै यज्ञकुण्डमा हामफालेर आत्महत्या गर्दछिन् । फलस्वरूप महादेवका गणले त्यस यज्ञ र यज्ञमा सहभागी सबैको पूरै संहार गर्दछन् । आर्यहरूले त्राहिमाम भएर महादेवलाई त्रीदेवको दर्जामा स्विकार्छन् । तर, महादेव भने पत्नीवियोगमा पागलसरी मृत शरीर बोकेर यत्रतत्र हिँडन लाग्दछन् । सतिको शरीर कुह्येर ठाउँठाउँमा झर्दछन् । जहाँजहाँ ती झरे ती-ती ठाउँमा महादेव र उनका शक्तिस्वरूपा देवीको उत्पति हुन्छन् र ती सबै ठाउँमा शक्तिपीठको स्थापना गरिन्छ । यो कथाले स्पष्ट यज्ञ संस्कृतिका आर्यहरूमाथि आदिबासी अनार्यहरूको अन्तिम विजयलाई संकेत गर्दछ । साथै, यस संघर्षमा सहादत हुन पुगेका सतिको अंगहरूकै नाममा हिमवतखण्डभरी शक्तिपीठ स्थापना गरी यिनले बाँधेका क्षत्रमा आफ्नो वर्चस्वको झण्डा फहराएको संकेत मिल्दछ । उल्लेख्य यो छ कि स्वस्थानी मातालाई शिवशक्तिको रूपमा चित्रित गरिएको छ र यी त्रिदेवभन्दा उच्च र शक्तिशाली देखिन्छन् । यसबाट स्पष्ट हुन्छ आर्य र अनार्य संस्कृतिको संघर्षको परिणामस्वरूप स्थापना हुन पुगेको समावेशी हिन्दुधर्ममा अनार्यहरूको मत्रिसतात्मक मूल्य पूर्णरुपेण हाबी भएको छ । साथै ती देवीलाई “स्वस्थानी” अर्थात् स्थानीय देवी भन्नमा पनि स्थानीय आदिबासीहरूकै स्थानीय देवीलाई शिवशक्ति स्वरूपमा तादात्म गरिएको स्पष्ट हुन्छ ।
Shiva 4 Shiva 3
उपरोक्त मेरा दुइ भनाइहरूका अधार हो- शिवजी एक अनार्य देव थिए र पछि समावेशी हिन्दुधर्मको उत्कर्ष हुँदा महादेव अर्थात देवहरूको पनि देव महादेवको रूपमा स्थापित हुन पुगे । यसैको सन्दर्भमा निम्नानुसार प्रमाणहरुसमेत विवेचना गर्न चाहन्छु । सारमा मेरो लेखको आशय यही रहेको छ कि, शिवजी आर्य र अनार्य सभ्यताका मिश्रणका प्रतीकात्मक विन्दु हुन् ।
शास्त्रहरूका आधारमा बिबेचना :
वैदिककालको अन्त्यसम्म शैवधर्म भन्ने कुनै धर्म थिएन । शैव सम्प्रदायको केही झलकसम्मको संकेत भने वेदहरुमा पाइन्छन् । शैव धर्म वैदिक धर्मको एउटा शाखाको रुपमा प्रतिपादित भएर आएको छ र यसको कुनै व्यक्ति प्रतिपादकको रुपमा छैन । यस मतका प्रमुख देवता शिव हुन् । र, शिवकै नामबाट यसको नाम शैवधर्म भएको हो । अतः शैव धर्मको उद्गम खोज्न शिवकै पछाडि लाग्न पर्ने हुन्छ ।
पौराणिक युगमा हामी जुन शिवलाई पाउँछौं उनको प्राचीनतम रुप त्यो बेखिन्न । अर्थात् पुराणहरुका शिव अति नै मान्य प्रभावशाली र उच्चकोटीका देवता देखिन्छन् भने वेदहरुमा त्यो स्थान उनका लागि किन्चित देखिँदैन । ऐतिहासिक क्रमलाई हेर्दा उनको यो उत्कर्ष वेदहरुभन्दा पछि उपनिषददेखि शुरु भएको देखिन्छ ।
सवैभन्दा प्राचीन ग्रन्थ ऋगवेदमा आदिदेखि अन्तसम्म शिवभन्ने देवताको उल्लेख नै छैन । ऋगवेदका मध्यम श्रेणीका देवता “रुद्र” नै कालान्तरमा “शिव” हुँदै गएको विभिन्न ग्रन्थहरुले प्रमाणित गर्दछ । त्यसैले शिवको उत्पति खोज्दा हामीले रुद्रको नै प्रथमतः अध्ययन गर्न जरुरी छ ।
Shiva 5
सम्पूर्ण ऋगवेदमा रुद्रका लागि तीनवटा मात्र पूर्ण सूक्तहरु उपलव्ध छन् । (राहुल सांकृत्यायन- रिगवैदिक आर्य, १४।६ १५।७ १५।५८) यसदेखि बाहेक केही सूक्तहरुमा रुद्रलाई अरु देवताहरुका साथमा स्तुति गरिएको छ । यसरी उनका नाम प्रायः ७५ पल्ट आउँछ । (पिए मेकडानलाल्ड- वेदिक मिथोलोजी) । यी सूक्तहरुमा रुद्रलाई मरुतहरुसँगै भएको वर्णन गरिएको छ । उनका उज्ज्वल वाणहरुद्वारा दोपाया तथा चौपायालाई भेदन नगरियोस् भनेर प्रर्थना गरिएको छ । यी सूक्तहरुले रुद्रलाई आकाशमा गर्जदै र चिच्याउँदै उडी हिंड्ने देवताको रुपमा वर्णन गरेका छन् । यिनै सूक्तहरुका आधारमा विभिन्न विद्वानहरुले रुद्रका उत्पति बारेमा एकै किसिमका मतहरु पेश गरेका छन्, जसलाई तल विश्लेषण गरिएको छ ।
ऋगवैदिक आर्यहरु इन्द्र, अग्नि, सूर्य, बरुण, उषा, आदि प्रकृतिपूजक थिए । प्राकृतिक तत्वहरुलाई मानवीकरण गरेर उनीहरुले वेदका रचना गरेका थिए । ती सूक्तहरु अति नै भावुक थिए । भावुक ऋषिहरुले विहानको रमाइलो सुखमय वातावरणमा सुन्दरी रमणी देवी “उषा”को कल्पना गरेका थिए भने प्रकृतिका अति भयानक र ध्वंसात्मक पक्षहरुमा डरलाग्दो र क्रूर “रुद्र”को कल्पना गरेका थिए । (विजि भण्डारकर- वैष्णविज्म शैविज्म एण्ड अदर माइनर रिलिजन्स) ।
आर्यहरु उत्तरका ठण्डी प्रदेशबाट मनसूनी क्षत्रमा आएका थिए र अनुकूल वातावरणको निमित्त प्रथमतः उनीहरु हिमालय प्रदेशतिर नै बसे । त्यता डरलाग्दो मनसूनी आँधीबेरी, हिमपात, वर्षात र बज्रपातको सामना उनिहरुले गर्न पर्यो । यही उत्पातहरुमा उनीहरुले रुद्रको कल्पना गरेको स्पष्ट हुन्छ । ऋगवेदका केही सूक्तहरुमा रुद्रलाई “मरुत” अर्थात् “वायुदेव”सँगै स्तुति गरिएको छ । मरुतहरुकै कारणबाट भयानक आँधीव्यारी हिमपात, घोर वर्षा र बज्रपात हुने प्रकृतिलाई हेरेर रुद्रलाई बायुदेवसँग कल्पेको हुन सक्छ । रुद्रका वाणलाई उज्ज्वल भनी वर्णन गरिएको छ । यसको संकेत बज्रपात हुँदा चम्कने बिजुलीतर्फ हो भन्ने बुझिन्छ ।
ऋगवेदमा रुद्रलाई “गिरित्र” अर्थात पहाडमा वस्ने र “गिरीश” अर्थात पहाडका मालिक भनिएको छ । यो पहाडी आदिबासीजातीको इष्टदेव हुनुको संकेत त हुँदै हो, साथै प्रतिकात्मक रुपमा यसको संकेत बादलतर्फ छ भन्न सजिलो पनि छ । किनकि बादल प्रायः पहाडमा नै बसेको प्रतीत हुन्छ र बादलबाट नै बज्र हानेको प्रतीत हुन्छ, जुन कुरो ऋगवेदका सूक्तहरुमा बारम्बार आउने रुद्रका उज्वल वाणको प्रतीक हुन सक्छ ।
रुद्रलाई “कृष्ण वस्त्रधारी” अर्थात कालो लुगा लगाउने, “कपर्दिन” अर्थात जटाधारी, “कल्पलिकिन” अर्थात धपधप बल्ने, “दिवो वराह” अर्थात “आकाशका बनेल” आदि नामले पनि स्तुति गरिएको छ । यी सवै नामको संकेत बादलतिर नै हुन सक्छ । बादलको कालो रंगलाई रुद्रका कालो लुगाको कल्पना गरिएको हुनसक्छ । छरिएका कालाकाला बादललाई हावामा उडिरहेका रुद्रका जटा मानेका हुन सक्छन् । काला काला बादलबाट बिजुली निस्कने हुनाले नै उनलाई “कल्पलिकिन” (धपधपी बल्ने) भनेका हुनसक्छन् । साथै, आकाशमा गर्जदै उडी हिंड्ने खैरो कालो रंगको बादलको गर्जना भनेर तीनै बादलका कारणबाट उव्जने चट्याङ्गका गर्जनालाइ तादात्म गराएका हुन सक्छन् । (डा. यदूशंकर- शैविज्म) यी सबका अतिरिक्त “रुद्र” शब्द नै बादलको गर्जनाको अर्थबाट सिर्जिएको हुन सक्छ किनकि रुद्र “रु” धातुबाट बनिएको छ र जसको अर्थ “गर्जनु” हुन्छ । (पिए मेकडानलाल्ड- वेदिक मिथोलोजी) । साथसाथै त्यसै ठाउँमा र केही अरु अथर्ववेद, तैतरीय संहिता र सतपथजस्ता ग्रन्थहरुमा पनि रुद्रलाई अग्निसँग तादात्म्य गराइएको छ । (म्याक्समुलर सेरिज, द स्याक्रेट बुक अफ द इस्ट) । अर्थात् अग्निलाई नै रुद्रको रुप पनि भनिएको छ । आकाशबाट खसेको बज्र-बिजुलीले पृथ्वीमा आगो लगाउँदछ । अर्थात आगोको रुप लिन्छ । त्यसैले अग्निसँगको तादात्म्यलाई हेर्दा त्यो संकेतले चट्यांगलाई नै रुद्र भन्न सजिलो पर्छ । (पिए मेकडानलाल्ड- वेदिक मिथोलोजी) ।
आर्यहरु पश्चिमबाट आएर सिन्धुघाँटी तथा गंगाको मैदानको मनसुनी क्षेत्रमा बस्दथे र खेतीपाती र पशुपालन गर्दथे । पहाडको टुप्पाको नजीक चम्कँदै गर्जेर उडी हिंड्ने बादलले वर्षा हिमपात र बज्रपातका साथै डरलाग्दो आँधीव्यारी भेल र पैरो पनि चलाएको उनिहरुले देखे । यही ध्वंसात्मक प्रकृतिमा उनीहरुले भयानक र क्रूर रुद्रलाई देखे र पहाडका फेदीमा बस्ने दोपाया र चौपायाको कल्याणको निमित्त उनीहरु रुद्रको स्तुति गर्दथे । (विजि भण्डारकर- वैष्णविज्म शैविज्म एण्ड अदर माइनर रिलिजन्स) । रुद्रलाई ती सूक्तकर्ताहरुले बादल बिजुली आँधीव्यारी र हिमपातको रुपमा विध्वंसक मात्र नभई कल्याणकारीका रुपमा पनि हेरेका छन् । (राम दास गौड – हिन्दूत्व) ।
यसमा शंका छैन बादल बिजुली आँधीव्यारी र हिमपातको रुपमा रुद्र वर्षा सम्बन्धी देवता देखिन आउँदछन् । त्यसमा पनि रुद्रको एउटा नाम “वृष” पनि छ । वृष नाम विद्वानहरुका बीचमा निकै ठूलो विवादको विषय भएको छ । किनकि यही “वृष” अर्थात “गोरु” पुराणहरुमा आएर रुद्र शिवको बाहनको रुपमा देखिन्छन् । वृष शब्दको शाब्दिक अर्थ “वर्षयिता” पनि हुन्छ भनेर केही विद्वानहरुले भनेका छन् । साथै यसको अर्थ “गोरु” पनि हुन्छ । (डा. यदूशंकर- शैविज्म) ।
Shiva 6
रुद्रलाई प्रथमतः “वृष” भन्नुको तात्पर्य “वर्षयिता” नै थियो भन्नमा अत्युक्ति हुँदैन । अन्यथा वृषलाई प्रजनन् शक्तिको प्रतीकको रुपमा लियौं भने पनि यो समस्याको सजिलै हल हुन सक्छ । रुद्र वर्षयिता हुन् । वर्षाले झारपात जडिबुटी घाँस फलफूल उमार्दछ र वर्षायाममै प्राणीहरुको प्रजनन् शक्ति बढ्दछ । त्यसैले धेरै ठाउँमा आफ्ना र पशुहरुका सन्तान वृद्धिका लागि रुद्रलाई प्रार्थना गरिएका छन् । उनको नाम “पशुपति” अर्थात पशुहरुका मालिक प्राणी मात्रका पालनकर्ता पनि भनिएको छ । उनी जडिबुटी उब्जाई दिन्छन् र स्वच्छ स्वस्थ र शीतल हावा बहाई दिन्छन् । त्यसैले उनलाई “महाभीषक” अर्थात “महान वैद्य” पनि भनिएका छन् । पशुपति र महाभिषक दुवै नाम प्रजननसँग सम्बन्धित छन् । त्यसैले उनी “वृष” हुन् ।
गोरुले खेत जोत्छ, यस अर्थमा गोरुको कृषि कार्यमा ठूलो भूमिका छ । गोरुले वस्तुको संख्या पनि बढाउँछ । दुवै अर्थमा गोरुलाई प्रजननको प्रतीकको रुपमा लिन सकिन्छ । गोरुको पुंसकत्व र बलवीर्यका आर्यहरुमा राम्रै परिचय भएको थियो । अतः पौराणिक आर्यहरुले पुंसकत्वको प्रतीक गोरुलाई शिवका वाहन बनाई दिए (डा. यदूशंकर- शैविज्म) … अर्थात् रुद्रका कल्याणकारी व्यक्तित्व वृषमाथि सवार भएर कार्यरत छन् ।
यही व्यक्तित्व िलंगपूजामा विकसित भएको पनि बुझिन्छ । प्रजननका कारण मुख्यतः लिङ्ग हो त्यसैले संसारका प्रजननकर्ता शिवलाई लिङ्गरुपमा पूजा गरिनु स्वाभाविक भयो । यसरी हामी ऋगवैदिक कालका आकाशका वर्षासम्बन्धी भयंकर अति क्रूर विध्वंसक रुद्रबाट अति कल्याणकारी प्राणीहरुका पालनकर्ता पौराणिक शिवसम्म आइपुगेका छौं ।
रुद्रका कल्याणकारी पक्षको संकेत ऋगवेददेखि नै भइआएको बुझिन्छ तापनि रुद्रका लागि “शिव” नाम उपनिषदमा आएर मात्र उजागर हुनेगरी प्रयोग भएको देखिन्छ । यद्यपि उपनिषद् भन्दा अगाडि पनि “शिव” भन्ने शब्द रुद्रका लागि पहिलोपल्ट युजर्वेदको शतरुद्रीयमा उल्लिखित नभएको चाहिं होइन । उल्लेखनीय यो छ कि त्यो नामको रुपमा नभई विशेषणको रुपमा प्रयोग गरिएको छ । त्यस युगमा दिइएको विशेषण उपनिषद्कालमा आएर मुख्य नामकै रुपमा प्रयोग भएर उनका वैदिक नाम “रुद्र” उपनामको रुपमा परिणत भयो । यसै कालमा रुद्रलाई सृष्टि, पालन र संहार तीनै कार्यका कर्ता महान् देवता “महादेव”का रुपमा पूजा गरिन लाग्यो । अर्थात् ऋगवैदिक मध्यमश्रेणीका देवता रुद्रले यस कालमा “ब्रह्म”को स्थान पाए । (डा. यदूशंकर- शैविज्म) । रुद्रको यो उत्कर्ष सजिलैसँग भएको छैन । बेलाबेला ठूलाठूला संघर्षहरु भएका कुराहरु इतिहास शिलालेख र ग्रन्थहरु प्रमाण दिन्छन् । यी संघर्षहरु शिव स्वयंका नभई उनका भक्तहरुका थिए । स्वस्थानी ब्रतकथाका सम्पूर्ण कथा यसैमा केन्द्रित छ ।
Shiva 7
ऋगवेदमा रुद्रको उल्लेख भएतापनि यीनलाई आर्यहरुले “विजातीय देव” अर्थात “आर्येतर देव” मानेका थिए । उत्तर पश्चिमबाट आएका आर्यहरु जब हिमालय प्रदेशमा बस्न आए त्यस कछाडमा उनीहरुले मनसूनी जलवायुका कारण ठूलाठूला आँधिव्यारी हिमपात, वर्षा, भेल, पहिरो, चट्यांग, आदिको सामना गर्न पर्यो । यस प्राकृतिक क्रूरताका पछाडि स्थानीय देवको कोपको कल्पना उनीहरुले गरे । उनीहरु अरुका भूमीमा आएका थिए । त्यस भूमीमा बस्नकोलागि राजनीतिक र सांस्कृतिक सम्झौता त गर्नै पर्थ्यो । यसर्थ उनीहरुले आफ्ना देवहरुका मध्येमा ती स्थानीय देवलाई राखी प्रार्थना गर्न लागे । आर्यहरुले यस स्थानका वासिन्दाहरु माथि राजनीतिक विजय प्राप्त गरेथे । अतः यताका आदिबासीहरुलाई आफूभन्दा नीच जाति सम्झन्थे । ती जातिका देशमा रहेका देवतालाई उनीहरुले करबलले मध्म श्रेणीमा राखे ।
ब्राह्मणकालको सूत्रपात भएपछि आर्यहरुको प्रमुख देव “इन्द्र” को ठाउँमा “विष्णु” आइपुगेका थिए । यस कालमा यज्ञ “कर्मकाण्ड”को ठूलो महत्ता थियो । ब्राह्मण धर्मग्रन्थहरुमा रुद्रलाई कुनै सम्मान दिइएको छैन । अथर्ववेदको १५ औं अध्यायमा उनलाई “ब्रात्यदेव” अर्थात् “नीच जातिको देव” अर्थात “अनार्य देव” भनिएको छ । (म्याक्समुलर- सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट) ।
महेन्जोदडोको उत्खननबाट प्राप्त भएका सामग्रीहरुबाट स्पष्ट हुन्छ आर्येतर जातिमा भारतमा “लिङ्ग” र “पशुपति” रुप शिवको पूजा हुन्थ्यो । यस उत्खननबाट प्राप्त भएको एउटा तीनमुखे शीरवाला पुरुष भएको बीचको शीरबाट एउटा फूल विरुवा लत्रिएको देखिन्छ । यो उब्जनी वा प्रजननसँग सम्बन्धित देव प्रतीत हुन्छ । (आरसी मजुम्दार- वेदिक एज) ।
यस्तै यहींबाट लिङ्ग स्वरुप चुच्चा चिल्ला चिल्ला धेरै ढुंगाहरु पाइएका छन् जुन प्रजननदेवको अर्का प्रतीक रुप हुनसक्छ । रिगवेदमा दुई पल्ट “शिश्नदेवा” भन्ने वहुवचनसूचक शब्दको प्रयोग भएको पाइन्छ । (राहुल सांकृत्यायन – रिगवैदिक आर्य, १४।६ १५।७ १५।५८) । यसमा शिश्नोपासकहरुलाई टाढै राख भनी ती उपासकहरुलाई वहिष्कार गरिएको छ । यसको तात्पर्य यही हुन्छ कि त्यहाँका आदिवासीहरुमा शिश्न (लिङ्ग) को उपासना चल्दथ्यो ।
महेन्जोदडोमा धेरै किसिमका पुरुष मूर्ति अंकित छाप वा मोहरहरु प्राप्त छन् । यी छापमा प्रायः तीनमुखा सिङ्गसमेतका पहिरनका र योगासनमा रहेका पशुपतिरुप तथा उब्जनी अर्थात प्रजनन् देवको अंकन स्पष्ट हुन्छ । अनार्यका ती शिश्नदेव संभवतः उही उब्जनी देव थिए र रिगवेदका ऋषिहरुले यिनलाई रुद्रका “वृष” रुपसँग तादात्म्य गराए । त्यसैले रुद्र शिवलाई “लिङ्ग” रुपमा पनि लिन थालियो ।
आर्यहरु जब भारतमा आए उनीहरुले स्थानीय आदिवासी अनार्यहरुका संस्कृति बीच अति नै भयंकर स्वरुपको नांगो, तीनआँखे, हात्तिको छाला ओढने, बाघको छाला लपेट्ने, मूण्डमाला धारण गर्ने, सर्पको गहना लाउने, जटाधारी, कालो, पाँचमूखे, स्थनीय देवताका अस्तित्व पाए । उनीहरुले भारतमा आएर भोगेका प्राकृतिक प्रकोपको कारण जुन रुद्रका कल्पना गर्दथे सोही रुद्रलाई उनीहरुले त्यस भयानक देवका मूर्तिमा देखे । ती दुवैलाई तादात्म्य गराएर आर्यहरुले पहिलोपल्ट आफ्नो वेदका “रुद्र”लाई “ब्रात्यदेव”का रुपमा लिन थाले ।
पुराणहरु उल्लेख गर्दछन्- विष्णु असुरहरुका शत्रु र शिवजी प्रायः असुरहरुलाई संरक्षक हुन् । विष्णु सुरहरुका तरफदारी गर्दछन् र शीव असुरका । रिगवेदले एक ठाउँमा रुद्रलाई नै “आकाशका असुर” भनेका छन् / असुर भन्नाले जो सुर अर्थात देव थिएनन् भन्ने बुझिन्छ । (इ डव्लू हप्किन्स- द रिलिजन अफ इण्डिया) । अर्थात् इन्द्रदेवका अनुयायी नरहेका तथा वैदिक तथा ब्राह्मण धर्म अनुरुप आचरण नगर्नेहरुलाई “असुर” भनिन्थ्यो । अतः यस जातिमा दैत्य, राक्षस, नाग, सर्प, किन्नर, निषाद, व्याधा, ब्रात, किराँत, कुलाल, आदि जातिहरु मान्दथे । यी सवै हीमवतखण्ड र भारतवर्षका पूर्ववैदिक आदिजातिहरु हुन् ।
असुरहरुलाई अति नै कुरुप भनी वर्णन गरिएको छ । शिवजीका गण पनि अति नै कुरुप भनी वर्णन गरिएको छ । उनका छोरा हात्तीमुखे थिए, शिवजी स्वयं नै नांगो, तीनआँखे, हात्तिको छाला ओढने, बाघको छाला लपेट्ने, मूण्डमाला धारण गर्ने, सर्पको गहना लाउने, जटाधारी, कालो, पाँचमूखे कुरुप देवता मानिएका थिए । दक्ष प्रजापतिले आफ्ना यज्ञमा शिवका कुरुपता असभ्यता र जंगलीपनको घोर निन्दा गरेका छन् । स्वस्थानी कथामा वर्णित उनका गणहरुमा भूत, प्रेत, पिसाच, गन्दर्भ, किन्नर, आदि कुरुप र नंगा गण थिए । यसको संकेत निषाद, व्याधा, कुलाल, आदि द्रविड जातिहरुप्रति प्रतीत हुन्छ । किनभने शतरुद्रीयमा निषाद, व्याधा, कुलाल, ब्रात, कर्माचार, आदि द्रविडहरुलाई “रुद्र” भनी वर्णन गरिएको छ । (म्याक्समुलर- सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट) । अतः यो स्पष्ट हुन्छ कि असुर नै रुद्रगण थिए र जो तत्कालीन ब्राह्मण धर्मका कट्टर शत्रु थिए ।
देवताहरुद्वारा दुराचारी घोषित गरिएका यी असुर तथा रुद्रगणलाई शिव वरदान दिन्थे शक्ति दिन्थे र उनका तरफदारी भएर पनि लडथे । अतः शतरुद्रीयको सोही स्थान रुद्रलाई “स्तेनानाम् पति” अर्थात “चोरहरुका मालिक”, “स्तायुनाम् पति” अर्थात “ठगहरुका मालिक”, “तस्करणाम् पति” अर्थात डाकुहरुका मालिक, आदि भनिएको छ । यो त स्पष्टै छ आर्यहरु अनार्यहरुलाई कहिल्यै सभ्य र सदाचारीको रुपमा लिन तयार थिएनन् । ती शब्दहरु हेय दृष्टिमा प्रयोग भएपनि र नभएपनि यो कुरा स्पष्ट हुन्छ कि रुद्र अनार्य देव थिए । (रामधारी सिंह दिनकर – संस्कृतिका चार अध्याय) ।
आर्यहरुलाई अनार्यहरुका स्थानमा आई बसोबास गर्दा रुद्रको भयानक स्वरुपको भावनात्मक डर मात्र नभई अनार्यहरुको सहयोग र उनीहरुका समुचित व्यवहार पाउन पनि रुद्रलाई उनीहरुका देवमध्ये स्थान दिन राजनीतिक आवश्यकता थियो । रुद्रलाई स्थान ता दिइयो तर उनीहरुका समाजमा ती आर्येत्तर जातिको जुन स्थान थियो सोही स्थान रुद्रलाई आर्यदेवहरुका बीचमा दिए । अर्थात् उनी “अछूत” थिए । यज्ञमा उनलाई बोलाइन्न थियो (स्वस्थानी व्रतकथा, स्कन्द पुराण) । यज्ञ भाग नै चौबाटोमा छाडिन्थ्यॊ (म्याक्समुलर- सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट) ।
Shiva 8
ऋगवेदका क्रूर र भयानक देव “रुद्र” ब्राह्मण कालमा अछूत र अति घृणित देखिए । यसको कारण आर्यहरुमा रक्तशुद्धी सदाचार र राजनीतिक विजयको घमण्ड थियो । अर्कोतिर असुर तथा रुद्रगणको बढ्दो विद्रोहको गतिविधि थियो । तर कर्मकाण्डको यान्त्रिक विधि र अनार्यहरुका बीचमा प्रचलित योगाभ्यासका चमत्कारपूर्ण कार्यकलापले सर्वसाधारण आर्यहरुको आस्था स्वभावतः ब्राह्मण धर्मबाट हट्दै जाँदै थियो र नयाँ मुक्ति मार्गका लागि तिर्खाउँदै थिए । अनार्यहरुका बीच प्रशस्त योगाभ्यासको चलन लियो । योगीहरु आफ्ना अभ्यासद्वारा अनेकौं चमत्कारपूर्ण कार्यहरु गर्थे । यी योगीहरुका बीच कुनै कर्मकाण्ड थिएन । कर्मकाण्ड अति नै कठिन र खर्चालु थियो जसमा ब्राह्मणहरुका अनुचित प्रभुत्व र शोषण थियो । कर्मकाण्डबाट वाक्क भएर उनीहरु योगाभ्यासतिर ढल्कन लागे । (हप्किन्स- द रिलिजनस अफ इण्डिया) ।
अर्थात् नयाँ मुक्ति मार्गको खोजीमा उनीहरु योगाभ्यासको शरणमा आए । यसको फलस्वरुव कर्मकाण्ड र ब्राह्मणहरुको धार्मिक विधि माथिको आधिपत्यमा ह्रास हुन लाग्यो । यो एउटा धार्मिक विद्रोह नै थियो जसमा प्रगतिशील ब्राह्मणहरुको पनि साथ थियो । यी ब्राह्मणहरुले आदिबासी क्षत्रियहरूको साथमा नै औपनिषदिक युगको श्रीगणेश गराए जसमा रुद्र महान आराध्यदेव शिवको रुपमा प्रतिष्ठापित भए ।
शिवको लोकप्रिय पदोत्कर्षको इतिहासमा अर्को एउटा यस्तो पुस्ताको पनि ठूलो हात छ जो “ब्रात्यआर्य” अर्थात “ठीम्सो आर्य” थिए । त्यो पुस्ता आर्य पिता र अनार्य माताका रावणहरु जस्ता सन्तान थिए । आर्यहरु अनार्य स्त्रीहरुलाई पत्निका रुपमा घरमा राख्दथे । उनीहरुबाट सन्तानोत्पत्ति पनि गर्दथे । ती सन्तान वस्तुतः आर्यहरुभन्दा मुनि र अछूतभन्दा माथिका ब्रात्य ठेम्सा भनिन्थे ।
पुराणमा ऋषिपत्नीहरुले नांगो शिवका लिङ्गदेखि कामोत्तेजित भएर महादेवका पछि लागेको र ऋषिहरुले आफ्ना पतिता स्त्री र महादेव दुवैलाई श्राप दिएको वर्णन पाइन्छ । यसवाट स्पष्ट हुन्छ कि ऋषिपत्नीहरुको स्वाभाविक आस्था शिवभक्तिप्रति थियो र आफ्ना आराध्यदेव शिवोपासनामा उनीहरु पागल थिए । (रामधारी सिंह दिनकर- संस्कृतिके चार अध्याय) । ऋषिहरुको लागि यो असह्य थियो । यीनै आर्य पिता र अनार्य माताका सन्तानहरु विष्णोपाषक र शिवोपासकका मध्यस्थ भए जसको फलस्वरुप कट्टर ब्राह्मणहरुले आफ्नो दृढतामा केही खुकुलोपन ल्याए र शिवलाई “ब्रात्यस्तोम”को विधिबाट चोख्याई पहिलोपल्ट आफ्ना देवहरुको बीचमा विष्णुभन्दा मुनी मान्यता दिंदै कर्मकाण्डका कट्टरतामा केही खुकुलोपन ल्याए । (राधाकृष्ण चौधर- व्रात्यज अफ एिन्सएन्ट इण्डिया) ।
यसरी “ब्राह्मण धर्म”ले काँचुली फेरी “वैष्णव धर्म”को रुपमा औपनिषदिक युगमा पाइला चाल्यो । कर्मकाण्डकॊ लोकप्रियता कम भएर जानु र औपनिषदिक युगको सूत्रपात हुनु ब्राह्मणहरुका कट्टरता र अनार्यहरुका उदारताकै प्रतिफल थियो । ब्राह्मणहरु आफ्ना आराध्यदेवलाई अरु बिजातीबाट चोखै राख्न चाहन्थे । तर अनार्यहरुमा यसको कुनै अर्थ थिएन । उनीहरुका आराध्यदेव शिव सांसारिक सुख र सभ्यताका प्रतीक यज्ञादि कर्मकाण्डबाट टाढा निर्जन श्मशान हिमालय तथा जंगलमा कहिले भांगधतुरोमा लठ्ठ भएर कहिले योगरत भएर कहिले शिकार खेलेर आफ्ना गणका साथमा रहन्थे । उनका कुनै गोत्र थिएन, जात थिएन, जातीय भाव थिएन र कुनै यान्त्रिक नियमका आदर्श थिएन । वास्तवमा अनार्यहरुका कुनै धार्मिक सन्देश नै थिएन कुनै धार्मिक ग्रन्थ नै थिएन र कुनै धर्म पनि थिएन ।
त्यस कालसम्ममा शिवमाथिको जुन धारणा आर्यहरुले जन्माए थे जुन स्वरुप उनलाई दिएथे त्यसै स्वरुपलाई स्वीकारेर अर्थात् जंगली असभ्य नांगो शिवलाई यथारुप दिएर “सौम्य शिव” को स्थापना गरी प्रगतिशील ब्राह्मणहरु र क्षत्रिय ऋषिहरुले उपनिषद्हरु लेखे र यी उपनिषद्हरुले नयाँ धर्म दर्शनको सूत्रपात गरे । त्यहाँदेखि नै “शैवमत” अब “शैवधर्म”को रुपमा स्पष्ट हुन आयो । यसपछि पुराण तथा महाकाव्यहरुमा नाग, गन्धर्व तथा यक्षलाई देवत्व प्रदान र शूद्र तथा असुरहरुलाई पनि ठाउँठाउँमा सदाचारी र ज्ञानी अध्यात्मवादीको रुपमा लिइन लाग्यो । यसरी मानव, दानव, सुर, असुर सवै जातिबाट पुजिने एक मात्र देवता शिव अब “महादेव” का रुपमा पुजिन लागे र कालान्तरमा महादेव उनका मुख्य नाम नै भएर प्रतिष्ठापित भयो । यसो भन्न सकिन्छ महादेव आर्य र अनार्यहरुका मिश्रित संस्कृतिका केन्द्रविन्दु हुन् । जुन विन्दुमा आएर युगौंदेखिका राजनीतिक संघर्ष र आध्यात्मिक मान्यताको संघर्षको इति हुन्छ । आर्य अनार्यका संयुक्त मान्यतामा एउटा धर्म शैवधर्मको शुरु हुन्छ । स्वस्थानीको कथाको सम्पूर्ण संदेश यही जगमा आधारित छ । इति !!